प्रहरीले सिराहा जिल्ला अदालतबाट कैद तथा जरिवाना फैसला सुनाएका विभिन्न सात मुद्दाका २२ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सार्वजनिक अपराध, किर्ते जालसाजी, कुटपिट, बैंकिङ कसुर, भ्रष्टाचार, सवारी ज्यान तथा अन्य गरी सात मुद्दाका २२ फरार प्रतिवादीलाई १६ देखि २२ जेठसम्म जिल्ला प्रहरी र मातहतका प्रहरी युनिटमार्फत खोजतलासको क्रममा पक्राउ गरी अदालतमा बुझाइएको हो ।
कुटपिट मुद्दामा सिराहा जिल्ला अदालतबाट फैसला भई पाँच सय रुपैयाँ जरिवाना तोकिएकी लहान नगरपालिका– १८ की ५५ वर्षीया विमला कोइरिन, एक हजार रुपैयाँ जरिवाना तोकिएका लहान– १५ का ५२ वर्षीय रामसेवक यादव, दुई सय ९० र एक सय ५० रुपैयाँ जरिवाना तोकिएका क्रमशः लहान– १८ का ५८ वर्षीय भोलाप्रसाद साह तेली र ४५ वर्षीया सकिना खातुनलाई पक्राउ गरी अदालतमा बुझाइएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
उनका अनुसार सोही मुद्दामा जनही ८० रुपैयाँको दरले जरिवाना तोकिएका लहान– १८ का ५५ वर्षीय जमुन मियाँ, ५४ वर्षीया समिरुन खातुन, ६३ वर्षीया मेहरुन खातुन, २८ वर्षीय सदाम मियाँ र ५३ वर्षीया जरिना खातुनलाई पक्राउ गरी अदालतमा बुझाइएको हो । त्यस्तै, प्रहरीले किर्ते जालसाजी मुद्दाअन्तर्गत एक हजार रुपैयाँ जरिवाना तोकिएकी लहान– १८ की ३८ वर्षीया ललितादेवी साह, सोही ठाउँका ५१ वर्षीय वर्षीय धर्मदेव साह, एक हजार रुपैयाँ जरिवाना तोकिएकी लहान– ५ की ५५ वर्षीया रत्नकुमारी मालीलाई पक्राउ गरी अदालतमा दाखिल गरिएको छ ।
प्रहरीले सोही मुद्दामा चार सय १५ रुपैयाँ जरिवाना तोकिएका लहान– १५ का ७५ वर्षीय सूर्यनारायण यादव, जनही एक सय ४८ रुपैयाँ ३३ पैसा जरिवानाको फैसला सुनाइएका ७८ वर्षीय सुदिलाल यादव र ५८ वर्षीय रामबालक यादव, ३४ वर्षीय धीरन्द्र यादव, बरियारपट्टि गाउँपालिका– ३ का बिन्दी यादवलाई पक्राउ गरी अदालत बुझाइएको जनाइएको छ । सवारी ज्यान मुद्दाअन्तर्गत सप्तरीको खडक नगरपालिका– २ का ३३ वर्षीय प्रकाश चौधरी, भ्रष्टाचार मुद्दामा १० हजार रुपैयाँ जरिवानासहित ६ महिना कैद सजाय तोकिएका सिराहा नगरपालिका– १७ का ५८ वर्षीय सिकेन्द्र ढिन्दवारलाई खोततलासको क्रममा पक्राउ गरी अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बैंकिङ कसुर मुद्दामा गोलबजार नगरपालिका– ४ निपाने टोलका ३५ वर्षीय सञ्जीवकुमार महरा, अन्य मुद्दामा पाँच हजार रुपैयाँ जरिवाना तोकिएका सिराहा– १ का ३८ वर्षीय दशैया पासवान, सार्वजनिक अपराध मुद्दामा दुई हजार रुपैयाँ जरिवाना तोकिएका अर्नमा गाउँपालिका– १ महनौरका ३० वर्षीय अजय चौधरीलाई समेत पक्राउ गरी अदालतमा बुझाइएको हो ।