इरानमा हेलिकाेप्टर दुर्घटनामा परी मृत्यु भएका इब्राहिम राइसीको स्थानमा अर्को महिना हुने राष्ट्रपति पदको निर्वाचनका लागि बिहीबारदेखि उम्मेदवारको औपचारिक दर्ता सुरु भएको छ।
‘राष्ट्रपति निर्वाचनका लागि स्थानीय समयअनुसार बिहान ८ बजेदेखि गृह मन्त्रालयमा उम्मेदवारी दर्ता सुरु भएको छ। राष्ट्रपति पदका आकांक्षीलाई दर्ता गर्न पाँच दिनको समय दिइनेछ,’ इरानी समाचार संस्था आइआरएनएले जनाएकाे छ।
सन् २०२५ का लागि चुनाव हुने पूर्वनिर्धारित कार्यक्रम भएपनि मे १९ मा राइसीको अप्रत्याशित निधनपछि निर्वाचन अघि सारिएको हो।
उत्तरी इरानको कुहिरोले ढाकेको पहाडमा विमान दुर्घटनाग्रस्त हुँदा दिवंगत राष्ट्रपति राइसी र विदेशमन्त्री हुसेन अमिर अब्दोल्लाहियानसहित टोलीका सात सदस्यको मृत्यु भएको थियो।
इस्लामी गणतन्त्रका सर्वोच्च नेता अयातुल्लाह अली खाेमेनीले संविधानअनुसार ६८ वर्षीय उपराष्ट्रपति मोहम्मद मोख्तरलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका छन्।
इरानको निर्वाचन कानुनअनुसार राष्ट्रपतिको उम्मेदवार हुनका लागि ४० देखि ७५ वर्ष उमेर समूहको कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको उम्मेदवार हुनुपर्नेछ।
विगतका चुनावी चक्रहरूमा जस्तै इरानको प्रमुख राजनीतिक समूहहरूको प्रतिनिधित्व गर्ने मुख्य उम्मेदवारले दर्ता प्रक्रियाको अन्त्यनजिक आफ्नो आवेदन पेस गर्ने अपेक्षा गरिएको छ।
इरानी सर्वोच्च नेताद्वारा नियुक्त वा अनुमोदन गरेको १२ सदस्यीय न्यायविद्हरूको निकाय ‘गार्जियन काउन्सिल’ले जुन ११ मा उम्मेदवारहरूको अन्तिम सूची घोषणा गर्नेछ।
इरानको कट्टर प्रतिद्वन्द्वी इजरायल र तेहरान समर्थित प्यालेस्टाइनी लडाकु समूह हमासबीच गाजा युद्ध चर्किरहेका वेला र इरानको आणविक कार्यक्रमलाई लिएर निरन्तर कूटनीतिक तनावबीच जुन महिनामा मतदान हुन लागेको छ।