पोलियो खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले खोप कार्यक्रम सुरु गर्ने भएको छ । १ वैशाख ०७३ देखि ३० असोज ०७५ सम्ममा पोलियो खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरी १३ देखि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
०७३–०७५ मा विश्वमै पोलियो खोप अभाव भएपछि नेपालमा पनि यसको असर परेको थियो । १ वैशाख ०७३ देखि ३० असोज ०७५ सम्म जन्मिएका कतिपय बालबालिकाले पोलियो खोप लगाउन पाएका थिएनन् । तिनै बालबालिकालाई लक्षित गरेर खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले जानकारी दिए । उनका अनुसार ललितपुरका २५ हजार चार सय ३९ बालबालिका उक्त खोप लगाउन छुटका थिए । ती बालबालिका अहिले पाँचदेखि आठ वर्ष हाराहारीका भएका छन् ।
सरकारले त्यतिवेला खोप लगाउन छुटेकाको रेकर्ड राख्दै आएको थियो । सोही आधारमा देशभरि पोलियो खोप छुटाएका बालबालिकालाई खोप लगाउने योजना केन्द्र सरकारले अघि सारेको हो । सोही कार्यक्रमअनुसार जनस्वास्थ्य कार्यालय ललितपुरले सोमबार जिल्लाका स्थानीय तह, स्वास्थ्य संस्था, प्रशासनिक निकाय, नागरिक समाज, सञ्चारकर्मीलगायतसँग खोप कार्यक्रम सञ्चालनबारे छलफलसमेत गरेको छ । ६ वटा स्थानीय तह रहेको ललितपुरमा १३ जेठदेखि चार सय ६५ वटा खोप केन्द्रबाट खोप कार्यक्रम सञ्चालन गरिनेछ ।
त्यसका लागि चार सय ६५ जना खोप कार्यकर्ता परिचालन हुनेछन् भने नौ सय ३० जना स्वास्थ्य स्वयंसेविकालगायतको टिम परिचालन हुनेछ । ‘यो खोप छुटेकाले सरकारले छुट्टै योजना बनाएर खोप कार्यक्रम सञ्चालन गर्न लागेको छ, त्यसै सन्दर्भमा हामीले ललितपुरमा खोप कार्यक्रम सञ्चालन गर्दै छौँ,’ जनस्वास्थ्य कार्यालय प्रमुख डा. पौडेलले भने, ‘पोलियो खोप नलगाएकालाई यो अभियान हो, यसमा अभिभावकले विशेष ध्यान दिन जरुरी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालीन समयमा खोप छुटेका बालबालिकालाई लक्षित गरी चरण–चरणमा देशभरि नै खोप कार्यक्रम सञ्चालन गर्दै छ ।