सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

शुक्रबार, २१ बैशाख, २०८१
डिजिटल संस्करण

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको छ। हालसम्म पुरानो नक्सा प्रयोग गरिँदै आएकामा नयाँ नक्सा राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको ५ जेठ ०७७ मा बसेको मन्त्रिपरिषद् बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको क्षेत्रलाई समेटेर तयार गरिएको नेपालको नयाँ नक्सा स्वीकृत गर्ने निर्णय गरेको थियो।

यससँगै संविधानसमेत संशोधन गरेर उक्त नक्सालाई नेपालको निसान छापमा समेत राखिएको थियो। तर, सयको नोटमा भने पुरानै नक्सा थियो। मन्त्रिपरिषद्को यो निर्णयसँगै सयको नोटमा रहेको नेपालको पुरानो नक्सा फेरिएर नयाँ नक्सा रहने भएको छ। 

मन्त्रिपरिषद् बैठकले ‘नेपालमा हाल चलनचल्तीमा रहेको रुपैयाँ सय दरको बैंक नोटको अग्र भागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रुपैयाँ १०० दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने’ निर्णय गरेको हो।

त्यस्तै, समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमणकुमार गौतमलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश, २०५८ खारेजीको निर्णय पनि सरकारले गरेको छ।

विश्व बैंकबाट उपलब्ध हुने करिब १३ अर्ब ३३ करोड रुपैयाँ (सय मिलियन अमेरिकी डलर)बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्नेलगायतका निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। 

सुझावित समाचार