काठमाडौंको आकाशमा तुवाँलो, प्रदूषण हट्न ठूलो पानी पर्नुपर्ने

बुधबार, १४ चैत, २०८०
डिजिटल संस्करण

नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहे पनि काठमाडौं उपत्यकामा ठूलो पानी पर्न नसक्दा आकाश तुवाँलोले ढाकेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार उपत्यकामा फाटफुट पानी परिरहे पनि ठूलो पानी पर्न सकेको छैन, जसकारण आकाश तुवाँलोले ढाकेको छ।

‘तुवाँलो हटेर आकाश सफा हुन कि ठूलो पानी पर्नुपर्छ वा हावाहुरी चल्नुपर्ने हुन्छ,’ मौसमविद् झाले भने, ‘तत्काल यी दुवै सम्भावना छैन। काठमाडौंको माथिल्लो वायुमण्डलमा जलवाष्पयुक्त हावा पर्याप्त भएमा ठूलो पानी पर्न सक्छ।’

काठमाडौंमा मंगलबार राति हल्का पानी परेको थियो। बुधबार उपत्यकाको उत्तर र पूर्वी क्षेत्रमा हल्का वर्षा भएको छ।
पछिल्ला दिनमा काठमाडौंको आकाश दिनभर धुम्म हुँदा दिनभर घाम लाग्न सकेको छैन।

त्यही भएर प्रदूषणको मात्रा पनि बढ्दै गएको वातावरण विभागले जनाएको छ। विभागका प्रदूषण मापन केन्द्रमा पनि वायुको गुणस्तर मानव स्वास्थ्यका लागि  हानिकारक तहसम्म पुगेको छ।

बुधबार अपराह्नको तथ्यांक हेर्दा काठमाडौं उपत्यकाका रत्नपार्क, खुमलटार, भक्तपुर, कीर्तिपुर, भैँसेपाटी र शंखपार्कमा वायु प्रदूषणको मात्रा बढेको छ। सबैभन्दा बढी रत्नपार्क क्षेत्रको हावामा पिएम–२.५ प्रतिघनमिटर १५७ माइक्रोग्राम पुगेको छ। पिएम २.५ मा आँखाले देख्न सकिनेभन्दा चार गुणा साना कण हुन्छन्।

वातावरणविद्का अनुसार पिएम २.५ मा कम आकारका धुलोका कण, कार्बनमोनोअक्साइड र नाइट्रोेजनअक्साइड हुन्छ।

सुझावित समाचार