त्रिदेशीय शृंखला : नेपालको लगातार दोस्रो हार

पहिलो खेलमा नामिबियाविरुद्ध २० रनले स्तब्ध, नेपाल रोमाञ्चक बनेको दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित

बिहिबार, १७ फागुन, २०८०
डिजिटल संस्करण
त्रिदेशीय शृंखला : नेपालको लगातार दोस्रो हार

नेदरल्यान्डस्विरुद्ध ब्याटिङ गर्दै नेपालका करण केसी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नामिबिया, नेदरल्यान्ड्स र नेपाल सम्मिलित त्रिदेशीय शृंखलाको दोस्रो खेलमा पनि घरेलु टोली नेपाल पराजित भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको रोमाञ्चक खेलमा नेपाल दुई रनले पराजित भएको हो । टस हारेर सुरुवाती ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाउँदा मात्र एक सय ८२ रन बनाउन सक्यो । दीपेन्द्रसिंह ऐरी र करण केसीले १८ र १९औँ ओभरमा नेपाललाई जितनजिक पुर्‍याएका थिए । 

१८औँ ओभरमा दीपेन्द्र र करणले १८ रन तथा १९औँ ओभरमा पनि दुई खेलाडीले १५ रन जोडेपछि नेपाल खेलमा फर्किएको थियो । तर, अन्तिम ओभरमा करण र दीपेन्द्र नै आउट भएपछि नेपाल हार्न पुग्यो । अन्तिम ओभरमा पनि दीपेन्द्रले चौका र छक्का प्रहार गरेका थिए । तर, उनी फिनिसिङ भूमिकामा लामो सट खेल्ने क्रममा भान डी मेर्वेबाट बोल्ड हुन पुगे । यसपछि क्रिजमा आएका प्रतिश जिसीले दुवै बलमा लामो सट खेल्न नसकेपछि नेपाल पराजित हुन पुगेको हो । नेपालका प्रशिक्षक मोन्टी देसाईले जितनजिक पुगेर पनि दुर्भाग्यवश हार्न पुगेको प्रतिक्रिया दिए । उनले भने, ‘जितनजिक पुगेर पनि हारेका छौँ । हामीले पछिल्ला दुवै खेल राम्रो गरेका हौँ । तर, दुवै हार्‍यौँ,’ देसाईले भने, ‘राम्रो टोलीविरुद्ध खेलिरहँदा यस्ता नतिजा आउँछन् । यस्तो अवस्थामा ड्रेसिङ रुम बलियो बनाउनुपर्छ ।’

शृंखलाको पहिलो खेलमा नेपाल नामिबियाविरुद्ध २० रनले पराजित भएको थियो । यही शृंखलामा लगातार दोस्रो हार व्यहोरेको नेपालको समग्रमा यो चौथो हार हो । यसअघि आइसिसी क्रिकेट विश्वकप लिग–२ का पछिल्ला दुई खेलमा नेपाल नेदरल्यान्ड र नामिबियासँगै पराजित भएको थियो । लगातार दोस्रो हारसँगै नेपालको त्रिदेशीय शृंखलाको फाइनल पुग्ने सम्भावना कठिन बनेको छ । फाइनल खेल्न नेपालले बाँकी दुई खेलमा दुवै टोलीलाई हराउनुपर्नेछ । प्रशिक्षक मोन्टीले विश्वकपअघि राम्रो तयारी भइरहेको बताए । उनले भने, ‘विश्वकप खेल्ने टोलीविरुद्ध जसरी खेलेका छौँ, यसले राम्रो गर्छ । विश्वकपका लागि यो राम्रो तयारी भएको छ ।’

रोहित र दीपेन्द्रको अर्धशतक
नेपालको इनिङ्समा कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रले अर्धशतकीय इनिङ्स खेलेका थिए । तेस्रो नम्बरमा क्रिजमा आएका रोहितले ३५ बलमा ६ चौका र दुई छक्कासहित ५० रन बनाए । यो उनको छैटौँ अर्धशतक हो । रोहित अर्धशतक बनाउनेबित्तिकै आउट भए । उनी आउट हुँदा नेपालले ११.५ ओभरमा एक सय रन बनाएको थियो । पाँचाँै नम्बरमा क्रिजमा आएका दीपेन्द्रले ३४ बलमा ६ चौका र तीन छक्कासहित सर्वाधिक ६३ रन बनाएका हुन् । उनी चौका हान्ने क्रममा बोल्ड हुँदा कीर्तिपुर मैदान सुनसान बनेको थियो । नेपालको इनिङ्समा रोहित र आसिफले दोस्रो विकेटका लागि ४५ बलमा ६५ रनको सर्वाधिक साझेदारी गरे । सातौँ विकेटका लागि करण र दीपेन्द्रबीच २४ बलमा ५५ रनको साझेदारी भएको थियो । 

यसअघि ओपनर कुशल भुर्तेल चार बल खेलेर डक आउट भए । यसपछि कप्तान रोहित र आसिफ शेखले नेपालको इनिङ्स उकासेका थिए । आसिफ ३४ बलमा चार चौका र एक छक्कासहित ३४ रन बनाएर पेभिलियन फर्किएका थिए । कुशल मल्ल ११ र सन्दीप जोरा आठ रनमा आउट भए । अलराउन्डर सोमपाल कामी गोल्डेन डक आउट भए । नेदरल्यान्ड्सका सेब्रान्ड र रोइलोप भान डेरले समान दुई विकेट लिए ।

लेभिटको डेब्यु अर्धशतक
डेब्यु गरिरहेका ओपनर माइकल लेभिटको अर्धशतकको मद्दतमा नेदरल्यान्ड्सले सम्मानजनक स्कोर खडा गरेको थियो । टी–२० मा डेब्यु गरेका लेभिटले ३६ बलमा पाँच चौका र तीन छक्कासहित ५४ रन बनाए । उनी कुलश मल्लको बलमा आउट भएका थिए । डेब्यु गरिरहेका अर्का खेलाडी सेब्रान्ड इन्गेलब्रचटले ३८ बलमा चार चौका र एक छक्कासहित ४९ रन बनाएका थिए । कप्तान स्कट एडवार्डले १६ बलमा ३३ रन बनाए । उनले पाँच चौका प्रहार गरेका थिए । तेजा निदामानुराले २४ बलमा तीन चौकासहित ३१ रनको योगदान गरे ।

दोस्रो विकेटका लागि लेभिट र सेब्रान्डले ६२ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सलाई सानदार सुरुवात गराएका थिए । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका थिए । नेपालका लागि करण केसी र कुशल मल्लले मात्रै समान एक विकेट हात पारे । प्रशिक्षक मोन्टी देसाईले पहिलो खेलमा नामिबियाविरुद्ध खेलेका अभिनाश बोहरा र विवेक यादव बाहिर राख्दा प्रतिश जिसी र ललितनारायण राजवंशीलाई अवसर दिएका छन् । 

जितनजिक पुगेर पनि हार्‍यौँ 
मोन्टी देसाई, प्रशिक्षक, नेपाल

जितनजिक पुगेर पनि हारेका छौँ । हामीले पछिल्ला दुवै खेल राम्रो गरेका हौँ । तर, दुवै हारेका छौँ । राम्रो टोलीविरुद्ध खेलिरहँदा यस्ता नतिजा आउँछन् । यस्तो अवस्थामा ड्रेसिङ रुम बलियो बनाउनुपर्छ । दीपेन्द्रले बाँकी दुई बल राम्रो गर्न सक्थे । विश्वकप खेल्ने टोलीविरुद्ध जसरी खेलेका छौँ, यसले राम्रो गर्छ । विश्वकपका लागि यो राम्रो तयारी भएको छ । हामीले कुशल (भुर्तेल)को प्रदर्शनमा धेरै केन्द्रित हुनुहुँदैन । विश्वस्तरीय खेलाडीको पनि यस्तो अवस्था आउँछ । पछिल्ला खेलमा उनले राम्रो गरेको हामीले बिर्सिनुहुँदैन । 

सुझावित समाचार