मुगुमा एकै परिवारका चारजनाको सामूहिक हत्या : अनुसन्धान गर्न कुकुरसहित प्रहरीको टोली घटनास्थलमा

शनिबार, ११ कार्तिक, २०८०
डिजिटल संस्करण
मुगुमा एकै परिवारका चारजनाको सामूहिक हत्या : अनुसन्धान गर्न कुकुरसहित प्रहरीको टोली घटनास्थलमा

मृतक २६ वर्षीया श्रीदेवी बोहोरा, उनकाे साथमा १ वर्षीय छोरा रहर बोहोरा, ७ वर्षीया छोरी अप्सरा बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा । साथमा कुकुर सहित प्रहरीको विशेष अनुसन्धान टोली । तस्बिर : अच्युतराज भण्डारी/नयाँ पत्रिका

मुगुको छायानाथ रारा नगरपालिका– ६ स्थित मुन्दुगाउँमा आमासहित दुई छोरा र एक छोरीको हत्याको अनुसन्धानका लागि कुकुरसहित प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थल आइपुगेको छ।

छायानाथ रारा नगरपालिका वडा नं ६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोराकाे निवास

छायानाथ रारा नगरपालिका वडा नं ६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा १ वर्षीय छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्याको अनुसन्धान गर्न प्रहरीको अनुसन्धान टोली घटनास्थल आइपुगेको पुगेको हो। मुगु सामूहिक हत्या प्रकरणका मुख्य दोषी र घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली घटनास्थलमा खटाइएको छ। 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीम ढकालका अनुसार सामूहिक हत्या काण्डको अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट २ टोली मुगु खटिएका छन्। जसमध्ये एउटा टोली घटनास्थलमै पुगिसकेको र अरू दुई टोली आज मध्यान्नसम्ममा पुग्नेछ।

उनका अनुसार सुर्खेतबाट सिआइबीजस्तै विशेष अनुसन्धान गर्ने वरिष्ठ सइ नारायण शर्माको नेतृत्वमा पाँचसदस्यीय प्रहरी टोली र अर्को कुकुरसहितको अनुसन्धान टोली रहेका छन्। एउटा टोली शुक्रबार राति कालिकोट बसेर शनिबार बिहानै मुगु पुगेको छ। आजबाट टोलीले हत्याबारे विशेष अनुसन्धान थाल्ने डिआइजी ढकालले बताए।

अनुसन्धानका लागि कुकुरसहित प्रहरीको विशेष अनुसन्धान टोली

शुक्रबार बिहान ९ बजे हत्याबारे खबर पाउनासाथ घटनास्थलमा विस्तृत विवरण बुझ्न जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रनाउ वीरेन्द्र थापाको नेतृत्वमा प्रहरी घटना स्थलमा पुगेको थियो।

मृतक आमा, छोराछोरी सहित ७ गते बिहान दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए। ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

शुक्रबारदेखि दिनभरिजसो प्रहरीले गाउँलेहरूबाट प्रारम्भिक सूचना लिने काम गरेको छ भने घटनास्थललाई पूरै सिल गरी पहरा दिइरहेको छ। 

सुझावित समाचार