कटन
कटनको कपडा वर्षायामका लागि निकै सहज हुन्छ । यो निकै हल्का हुन्छ र यसमा हावा पनि मज्जाले छिर्छ, चाँडै सुक्छ पनि । कटन सर्टलाई डेनिमको हाफ पाइन्टसँग मिलाएर लगाउन सकिन्छ । चम्किलो कुर्था र लेगिंग्स पनि लगाउन सकिन्छ । यस मौसममा पसिना धेरै बग्ने भएकाले धेरै टाइट कपडा लगाउँदा असहज महसुस हुन सक्छ । त्यसैले हल्का ओभरसाइज कपडा लगाउनु राम्रो हुन्छ ।
खादी
खादीको कपडा पनि यस मौसममा निकै राम्रो हुन्छ । यो कपडा चाँडै खुम्चँदैन, हल्का र हावा छिर्ने खालको हुन्छ । त्यस्तै, चाँडै सुक्छ । कार्यस्थल वा घुमघाममा जाँदा पनि यसबाट बनेका कपडा लगाउन सकिन्छ ।
रायोन
कटनको कपडाको साटो रायोनको कपडा पनि लगाउन सकिन्छ । यो पनि हावा छिर्ने र हल्का हुन्छ । रायनको मिडी ड्रेस लगाएर बाहिरबाट स्टाइलिस डेनिम ज्याकेट पनि लगाउन सकिन्छ । मनसुनमा लगाउन मिल्ने विभिन्न स्टाइलिस कुर्थाहरू बजारमा पाइन्छन् ।
चम्किलो कपडा रोज्नु राम्रो हुन्छ । मौसम धुम्म परेका वेला पनि यस्ता कपडाले मुड फ्रेस राख्छन् । वर्षामा सेतो रङको कपडा लगाउनु राम्रो हुँदैन । हिलोका कारण यस्ता कपडा चाँडै मैलो हुन्छन् र फोहोर देखिन्छन् । सिल्क, लेदर, जर्जेट, सिफन र भेल्भेटका कपडा पनि नलगाउँदा हुन्छ । यस्तो कपडा चाँडै सुक्दैनन् ।