विमानस्थलबाट नौ किलो सुन चोरी प्रकरण, सुरक्षागार्डको पनि मिलेमतो

बिहिबार, २१ असार, २०८०
डिजिटल संस्करण

ई–सिगरेट (विद्युतीय चुरोट)भित्र लुकाएर तस्करी हुन लागेको नौ किलो सुन विमानस्थलको भन्सार कार्यालयबाटै चोरी भएको घटनामा सुरक्षागार्डको पनि मिलेमतो देखिएको छ । भन्सार कार्यालयबाट सुन चोरी हुँदा सुरक्षागार्ड अमृत कार्कीलाई करिब एक तोला सुन घुस दिइएको प्रहरी अनुसन्धानमा खुलेको हो । 

कार्कीलाई पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । यो प्रकरणमा भन्सारका नासु तथा भन्सार एजेन्टलगायत ६ जना पक्राउ परिसकेका छन् । सुरक्षागार्ड कार्कीले उक्त सुन पसले निर्मलकुमार विकलाई दिएका थिए । विकलाई पनि सिआइबीले यसअघि नै पक्राउ गरिसकेको छ । सबैलाई आपराधिक विश्वासघात र संगठित अपराधसम्बन्धी कसुर लगाइएको छ । तर, चोरी भएको थोरै मात्र सुन बरामद भएको छ । 

गत ३० वैशाखमा विमानस्थलस्थित भन्सार कार्यालयका नासु रेवन्त खड्कालाई पक्राउ गरी सिआइबीले यस घटनाको अनुसन्धान थालेको थियो । नासु खड्का र भन्सार एजेन्टको योजनामा भन्सार कार्यालयको गोदाममा रहेको सुनसहितको विद्युतीय चुरोट साटेर नौ किलो सुन चोरी भएको थियो । भन्सार एजेन्ट बस्नेत पनि सिआइबी हिरासतमै छन् । यो घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले बताइन् । 

घडी पसलेले बेचे सुन 
तस्करी भएको उक्त सुन न्युरोडमा घडी पसल चलाउने वेदप्रसाद अग्रवालले बिक्री गरेको खुलेको छ । उनले सुन जाँच्ने साहेब राव मर्गमार्फत सुन बिक्री गरेका थिए । अग्रवाल र मर्गलाई पनि सिआइबीले पक्राउ गरिसकेको छ । उनीहरूले बिक्री गरेको सुन भने बरामद हुन सकेको छैन । तस्करीको धेरै सुन भारत गएको अनुमान गरिएको छ । 

सुन बिक्रीमा भन्सार एजेन्ट बस्नेतका आफन्त पनि संलग्न छन् । सुनको पैसाबाट उनले आफन्तको नाममा जग्गासमेत खरिद गरेको अनुसन्धानमा खुलेको छ । सो जग्गा रोक्का राख्न प्रहरीले पत्राचार गरेको छ । 

कसरी भयो चोरी ?
गत १० पुसमा विमानस्थलस्थित भन्सार कार्यालयले ई–सिगरेट रहेका दुई सुटकेस शंका लागेपछि रोकेको थियो । एक चिनियाँ नागरिकले ठूलो मात्रामा ई–सिगरेट ल्याएकोमा शंका लागेर भन्सारले रोकेको थियो । ती सुटकेस दुबईबाट ल्याइएको थियो । 

लागि भनेर ती सुटकेस लामो समय भन्सारको गोदाममा रहे । सुटकेसमा रहेको विद्युतीय चुरोटमा सुन रहेको थाहा पाएपछि भन्सार एजेन्ट बस्नेतले सुटकेसभित्रको चुरोट साट्ने योजना बनाएर नासु खड्कासँग सल्लाह गरे । सोहीअनुसार उनले नै बजारबाट विद्युतीय चुरोट लगेर सुन राखिएको चुरोट निकालेर बिक्री गरिएको थियो । त्यसबापत नासु खड्काले ६५ लाख रुपैयाँ लिएको स्वीकारेका छन् । उनले पैसा लिएको स्वीकार गर्दै २५ लाख प्रेमिकाको खातामा राखेको र बाँकी एक आफन्तलाई ऋण तिर्न दिएको प्रहरीको बयानमा बताएका छन् । सिआइबीको अनुसन्धानमा ई–सिगरेटभित्र करिब नौ किलो सुन रहेको र त्यसलाई ६ करोडमा बिक्री गरिएको खुलेको छ । 

चीनबाट कुन समूहले सुन ल्याएको थियो भन्ने नै खुल्न नसक्दा तस्करी गर्ने समूहको विषयमा प्रहरीले विस्तृत पत्ता लगाउन सकेको छैन । ई–सिगरेटभित्र विगतमा पनि त्यसैगरी सुन ल्याएर तस्करी भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । सुटकेस लिएर चिनियाँ नागरिक त्यसअघि पनि पटकपटक नेपाल आएको अध्यागमनको तथ्यांक छ । 
 

सुझावित समाचार