गाडी दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रंगशालामा राखिएको छ।
सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी र मुख्यमन्त्री कमलबहादुर शाहले सिंहको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका छन्।
प्रदेश प्रमुख र मुख्यमन्त्रीसँगै प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट र राजेन्द्रसिंह रावल, प्रदेश सरकारका मन्त्री, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललगायत सयौँको संख्यामा उपस्थित स्थानीय तथा आफन्तहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री शाहले मन्त्री सिंहको निधनले सुदूरपश्चिम प्रदेशले एक असल व्यक्ति र सरकारले एक असल मन्त्री गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरे।
मन्त्री सिंहको शव नेपालगन्ज मेडिकल कलेजबाट धनगढी ल्याइएको हो। धनगढी रंगशालामा सिंहको पार्थिव शरीरमा आज अन्तिम श्रद्धाञ्जली दिइसकेपछि अन्तिम संस्कारका लागि हेलिकप्टरमार्फत उनको गृहजिल्ला बझाङ लगिनेछ। धनगढीबाट गृहजिल्ला बझाङ जाँदै गरेका मन्त्री सिंह सवार सु.प.प्र. ००१ झ४८० नम्बरको गाडी दुर्घटनामा मन्त्री सिंहसहित तीनजनाको निधन भएको थियो।

मन्त्री सिंहकी पत्नी अमृता र भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो। दुवैजनाको शव जिल्ला अस्पताल बझाङमा राखिएको छ।
बझाङको केदारस्युँ गाउँपालिका– १ धारछडा भन्ने ठाउँमा गाडी सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो। मन्त्री सिंहको पार्थिव शरीरलाई केहीबेरपछि हेलिकाेप्टरबाट बझाङ लगिने प्रदेश सरकारले जनाएको छ।