आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा अहिले नेपालले अमेरिका भिडिरहेको छ।
टस जितेर फिल्डिङ रोजेको नेपालले करण केसीको धारिलो बलिङकाे मद्धतमा अमेरिकाका चार ब्याटरलाई पेभेलियन पठाइसकेको छ।
लगातार सात ओभरको पहिलो स्पेल बलिङ गरेका करणले तीन ओभर मेडन राख्दै ११ रन दिएर चार विकेट लिएका छन्।
यस्तै, नेपालको बलिङ स्पेल सुरुवात गरेका ललित राजवंशीले चार ओभरमा जम्मा आठ रन दिएका छन्। भर्खरै सन्दीप र गुल्सन झाले बलिङ सम्हालेका छन्। उनीहरूले विकेट लिएका भने छैनन्।
अमेरिकाका ओपनर ब्याटर स्टेभेन टेलर चार, मध्यक्रमका सैतेजा मुक्कामल्ला शून्य, कप्तान आरोन जोनेश दुई र नोस्तुस कोन्जिगे एक रन बनाएर आउट भइसकेका छन्।
अहिले क्रिजमा ओपनर सुशान्त मोदानी र मध्यक्रमका ब्याटर गजानन्द सिंह छन् । यसअघि आइतबार वेस्टइन्डिजसँगको म्याचमा गजानन्दले शतक प्रहार गरेका थिए । त्यसैले नेपालले खेलमा पकड बनाइराख्न उनलाई चाँडै आउट गर्नुपर्ने देखिन्छ।
नेपालको टिममा आज सोमपाल कामी छैनन्। चोटका कारण उनी बाहिरिएपछि उनको स्थानमा ललित आएका हुन्। ताजा अवस्थामा २० ओभरको खेल सकिँदा अमेरिकाले चार विकेट गुमाएर ६२ रन बनाएको छ।
तस्बिर : आइसिसी/गेट्टी इमेज