पाँचथरमा बाढीले बगाउँदा पाँचजना बेपत्ता, हेवाखोला पुलसमेत बगायाे

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण
पाँचथरमा बाढीले बगाउँदा पाँचजना बेपत्ता, हेवाखोला पुलसमेत बगायाे

वर्षासँगै आएको बाढीले बगाएको मेची राजमार्गअन्तर्गत हेवा खोलाको पुल । बाढीले पुल बगाएपछि राजमार्ग पूर्णरुपमा ठप्प भएको छ । तस्बिर : रासस

गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँचजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा– १ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ– ७ का दिलकुमार तामाङ, फिदिम– १० का सन्जोग लोवा, फिदिम– ४ माझीटारमा बोतल हाउस सञ्चालन गरेर बसेका आशिष, एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एकजना रहेका छन्

फालेलुङ– ३ खोलाघारी सेपीमा पहिराले पुरेको बालिकाको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए । वर्षातले मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका– ४ र हिलिहाङ गाउँपालिका– ७ जोड्ने हेवाखोला पुलसमेत बगाएको छ ।  

पुल बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । तमोर करिडोरको ‘बेलिब्रिज’ बगाएको छ । याङवरक गाउँपालिका– ३ र २ मा घर बगाएको स्थानीयले बताएका छन् । यस्तै, फालेलुङ गाउँपालिका– ३ मच्छेबुङमा मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।     
 
 

सुझावित समाचार