सत्तागठबन्धन दलका नेताहरूले आज समसामयिक विषयमा छलफल गरेका छन्।
प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा बजेटका सम्बन्धमा गठबन्धन दलका धारणालगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट सदनमा प्रस्तुत भइसकेको अवस्थामा केही विषय आवश्यकताअनुसार मिलाएर जान सकिने बताएका छन्।
बजेटमा प्रस्तुत विषयलाई लिएर सत्तासाझेदार नेकपा (एकीकृत समाजवाद) र जनता समाजवादी पार्टी नेपालले केही बुँदामा विमति प्रकट गरेका छन्। सोही विषयमा पनि शीर्षनेताहरूबीच छलफल भएको थियो।
छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धनमा आबद्ध दलका नेताहरू सहभागी थिए।