एसियाली बिमा सम्मेलन, २०२३ : जलवायु परिवर्तनको असर घटाउन बिमाको दायरा बढाउनुपर्ने

आइतबार, २८ जेठ, २०८०
डिजिटल संस्करण

जलवायु परिवर्तनका कारण बिमा क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्न बिमाको दायरा बढाउनुपर्नेलगायतका निष्कर्ष गर्दै एसियाली बिमा सम्मेलन सम्पन्न भएको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपका घटना बढ्दा बिमा क्षेत्रको आर्थिक दायित्व बढ्दै गएको छ । त्यसलाई सन्तुलन गर्न बिमाको दायरा बढाउनुपर्ने प्रारम्भिक निष्कर्ष सम्मेलनले गरेको हो । 

नेपाल बिमा प्राधिकरणको आयोजनामा बिहीबारदेखि काठमाडौंमा सुरु भएको  सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनमा जलवायु परिवर्तनबाट परेको असरबारे व्यापक रूपमा छलफल भएको थियो । नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले बिमाको दायरा बढाउन एकदमै आवश्यक रहेको बताए । ‘जलवायु परिवर्तनबाट पर्ने असरलाई रोक्न सकिँदैन । यसबाट हुने क्षतिलाई आर्थिक रूपमा न्यूनीकरण गर्ने मात्रै हो,’ उनले भने । जलवायु परिवर्तनबाट हुने असरलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय अभ्यासहरूलाई पनि अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

यस्तै, बिमा कम्पनीहरू जोखिममा आधारित पुँजीमा जानुपर्ने, सेवालाई राम्रो बनाउन प्रविधिको प्रयोग बढाउनुपर्नेलगायतका निष्कर्ष सम्मेलनले गरेको छ । सम्मेलनमा बिमा नेपाललगायत भारत, बंगलादेश, श्रीलंका, भुटान, कम्बोडिया, इन्डोनेसिया, माल्दिभ्स, थाइल्यान्ड, मकाओ, जोर्डन, मलेसिया, फिलिपिन्स, सिंगापुर, जापानलगायत २० देशका बिमा क्षेत्रका बिमा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता थियो ।  

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले सम्मेलन नेपाली बिमा क्षेत्रको प्रवद्र्धनमा निकै महŒवपूर्ण भएको बताए । उनले भने, ‘यसले नेपाली बिमा क्षेत्रको प्रवद्र्धन र विकासमा ठूलो सहयोग पुग्ने विश्वास छ ।’ समापन समारोहमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जलवायु परिवर्तनका कारण बिमा क्षेत्रमा अवसरसमेत आएको बताए । ‘जलवायु परिवर्तनका कारण चुनौती मात्र आउने नभई यसबाट बिमा क्षेत्रमा अवसरसमेत सिर्जना हुने भएको छ । तसर्थ, यस अवसरबाट लाभ लिनका लागि सम्बद्ध सबैले सामूहिक रूपमा कार्य गर्नुपर्ने आवश्यकता छ,’ उनले बताए ।  

See More On

सुझावित समाचार