सत्तारूढ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले आरआर क्याम्पसमा अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थीको बिए प्रथम वर्षको नतिजामा अनुपस्थित देखाइएको भन्दै आपत्ति जनाएका छन्।
सो क्याम्पसका पाँच सयभन्दा बढी विद्यार्थीको परीक्षाको नतिजामा आन्तरिकतर्फको प्राप्तांकमा अनुपस्थित देखाएर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न खोजिएको भन्दै सम्बन्धित निकायसँग छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न पनि उनले सरकारसँग माग गरे।
सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद सापकोटाले ढिलो परीक्षा लिने, ढिलो नतिजा निकाल्ने अनि नतिजामा पनि अनुपस्थित देखाउने काम त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र आरआर क्याम्पस कसले गरेको हो ? भन्दै प्रश्न गरे।
उनले छानबिन गरी सत्यतथ्य तत्काल बाहिर ल्याउन पनि सरकारलाई सचेत गराउँदै भने, ‘आज ५९औँ राष्ट्रिय दिवस, विद्यार्थीहरूले सुखद खबर सुन्नुपर्ने, तर आज त्रिभुवन विश्वविद्यालय र आरआर कलेजको लापरबाहीका कारण झन्डै पाँच सय विद्यार्थीको भविष्यमै प्रश्नचिह्न खडा हुने गरी एउटा घटना अगाडि आयो। सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यो घटनाको गम्भीर रूपमा छानबिन गर्दै दोषीउपर गम्भीर कारबाहीको माग राख्न चाहन्छु।’
यसतै, सांसद सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूलाई कारबाहीको दायरामा ल्याउने काममा केन्द्रित हुन पनि सम्बन्धित सबै निकायलाई अपिल गरेका छन्।