बैतडी जिल्ला अस्पताल देशकै उत्कृष्ट

आइतबार, ३१ बैशाख, २०८०
डिजिटल संस्करण

जिल्ला अस्पताल बैतडी देशकै उत्कृष्ट अस्पताल बनेको छ। स्वास्थ्य मन्त्रालयले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धमा अनुगमन तथा मूल्यांकन गर्दा ९५ प्रतिशत अंकसहित देशकै उत्कृष्ट अस्पताल बनेको हो। 

यही वैशाख ३० र ३१ गते क्षेत्रीय स्वास्थ्य निर्देसनालय र निक साइमन इन्स्टिच्युट (एनएसआई)ले जिल्ला अस्पताल बैतडीको अनुगमन तथा मूल्यांकन गरेको थियो। 

सो क्रममा बैतडी जिल्ला अस्पतालले केही नमुना अभ्याससहित सर्वाधिक अंक प्राप्त गरेर देशकै उत्कृष्ट अस्पताल बनेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका डा. नीराजन श्रेष्ठले बताए। 

गत वर्ष ८९ प्रतिशत अंक प्राप्त गरेको अस्पतालले यो वर्ष ६ प्रतिशत सुधार गर्दै ९५ प्रतिशत अंक प्राप्त गरेकाे हो। अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालभित्रका प्राविधिक सुविधा, जनशक्ति व्यवस्थापन, भौतिक अवस्थाजस्ता सूचकका आधारमा मूल्यांकन गर्दै अंक प्रदान गरिन्छ। अस्पतालले गत वर्षदेखि नयाँ भवनबाट सेवा दिन सुरु गरेको थियो।
 
त्यसपछि जनशक्ति र व्यवस्थापनमा मिहिनेत गर्दा देशकै उत्कृष्ट अस्पताल बनेको अस्पताल प्रमुख डा. दीपेश श्रेष्ठले बताए। देशभरिका अस्पतालको अनुगनमन तथा मूल्यांकनका क्रममा दमौली अस्पताल तनहुँले ९२ प्रतिशत अंक प्राप्त गर्दै दोस्रो र चौतारा अस्पताल सिन्धुपाल्चोकले ८९ प्रतिशत अंक ल्याएर तेस्रो भएको छ। 

अछाम अस्पताल र दैलेख अस्पतालले क्रमशः ८७ प्रतिशत र ८६ प्रतिशत अंक ल्याएर चौथो तथा पाँचौँ स्थान प्राप्त गरेका छन् । जिल्ला अस्पताल बैतडीमा परामर्श सेवा, छात्रवृत्ति करार सेवामा पाँचजना विशेषज्ञ डाक्टरसहित अहिले १३ जना कार्यरत रहेका छन्। 

त्यस्तै, १५ वटा बेडको सुविधा भएको अस्पतालमा ४९ बेड सञ्चालनमा रहेको डा. श्रेष्ठले बताए। देशभरिकै उत्कृष्ट अस्पताल भए पनि यहाँ टोकन प्रणाली लागू गर्ने, निःशुल्क औषधिहरूको लिस्ट राख्नेजस्ता सुझाव क्षेत्रीय निर्देशनालयले दिएको छ। 

जिल्ला अस्पताल बैतडीमा राम्रो सेवा पाएपछि सीमावर्ती भारतको पिथौरागढ उपचार गर्न जाने बिरामीको संख्यामा पनि कमी आएको छ। 

सुझावित समाचार