१०औँपटक विस्तार गर्दा पनि मन्त्रिपरिषद् अपूर्ण : जसपाले ३७ दिनमा पनि एक मन्त्रीको नाम दिन सकेन

कांग्रेसमा मन्त्री छनोटको विषयमा महामन्त्री गगन थापाको असन्तुष्टि

सोमबार, २५ बैशाख, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १०औँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । आइतबार कांग्रेस सांसद सुरेन्द्र आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भए । नियुक्त भएकै दिन उनले शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए । 

१०औँपटक मन्त्रिपरिषद् विस्तार भए पनि अझै पूर्णता पाउन सकेको छैन । जनता समाजवादी पार्टीले आफ्नो कोटामा बाँकी रहेको एक मन्त्रीको नाम पठाउन नसक्दा मन्त्रिपरिषद् अझै अपूर्ण छ । यसअघि १० पुसमा प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले ११ पुस, ३ माघ, १४ माघ, २३ माघ, १४ फागुन, १६ फागुन, १७ चैत, ३ वैशाख र २० वैशाखमा गरी नवौँपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

२० वैशाखमा नवौँपटक विस्तार गर्दा कांग्रेसका तर्फबाट तीनजना मन्त्री नियुक्त भएका थिए । त्इसपछि दुई मन्त्रालय मात्रै बाँकी थियो । जसपाको भागमा परेको वन तथा वातावरण र जनमत पार्टी सरकारबाट बाहिरिएपछि रिक्त भएको खानेपानी मन्त्रालय दुवै प्रधानमन्त्री आफैँले सम्हालेका थिए ।

कांग्रेसका आचार्य मन्त्री नियुक्त भएसँगै नेपाल समाजवादी पार्टीबाट मन्त्री नियुक्त भएका महेन्द्र राय यादवको जिम्मेवारीसमेत हेरफेर भएको छ । प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला मन्त्रालयको जिम्मेवारी दिँदै यादवलाई खानेपानी मन्त्रालयमा ‘सिफ्ट’ गरेका छन् । योसँगै सरकारमा कांग्रेसबाट नौजना मन्त्री बनेका छन् । कपिलवस्तु २ बाट निर्वाचित सांसद आचार्य राष्ट्रपति रामचन्द्र पौडेलनिकट मानिन्छन् ।

चार दिनअघि भएको मन्त्रिपरिषद् विस्तारकै क्रममा उनको नाम चर्चामा थियो । त्यतिवेला कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले युवा नेता प्रदीप पौडेललाई मन्त्री बनाउन जोडबल गरिरहेका थिए । तर, कांग्रेस सभापति शेरबहादुर देउवा पौडेलको नाममा सहमत भएनन् । अन्ततः कांग्रेसको भागमा बाँकी रहेको अन्तिम एक मन्त्रालयमा आचार्य नियुक्त भएका छन् ।

आइतबार नै कांग्रेस महामन्त्री थापाले पार्टीको गतिविधिप्रति असन्तुष्टि जनाएका छन् । उनले पार्टीमा आफ्नो सीमा रहेको सम्झेर प्रतिरोध गर्नुपर्ने विषयमा समेत मौन बसेको, तर अब अति भएको लेखेका छन् । ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरैपटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ, तर अब त अति भयो,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् । मन्त्री छनोटमा सभापति देउवाले मनोमानी गरेको भन्दै असन्तुष्ट रहेको अवस्थामा थापाको यस्तो प्रतिक्रिया आएको हो । 

 जसपालाई एउटा नाम पठाउन किन सकस ? 
नयाँ सत्तासमीकरण बनेसँगै भएको मन्त्रालय भागबन्डामा जसपाको भागमा दुई मन्त्रालय परेको छ । तर, आफ्नो भाग सुनिश्चित भएको ३७ दिन भइसक्दा पनि जसपाले एक मन्त्री सरकारमा पठाउन सकेको छैन । १७ चैतमा जसपाबाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका थिए । तर, उपनिर्वाचनको सम्मुखमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई अर्को मन्त्रीको नाम पठाउन सकेनन् । त्यसपछि प्रधानमन्त्री प्रचण्ड स्वयंले जसपाको भागमा परेको वन मन्त्रालय सम्हालिरहेका छन् ।

जसपाका प्रवक्ता मनीष सुमनले यही साताभित्र जसपाले मन्त्रीको टुंगो लगाउने बताए । केही समय उपनिर्वाचनको व्यस्तता र बीचमा प्रधानमन्त्रीले नाम नमागेका कारण पनि ढिलो भएको उनको भनाइ छ । ‘२७ वैशाखमा जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छौँ,’ सुमनले भने, ‘बैठककै सेरोफेरोमा जसपाबाट हुने अर्को मन्त्रीको टुंगो लाग्नेछ । यद्यपि, पार्टीले यसअघि नै मन्त्रीको नाम फाइनल गर्ने जिम्मेवारी अध्यक्षज्यूलाई दिइसकेको छ ।’

सबैजसो सांसद मन्त्रीका आकांक्षी हुँदा अध्यक्ष यादवलाई मन्त्रीको नाम पठाउन सकस भएको जसपा स्रोतको दाबी छ । यद्यपि, राजकिशोर यादव र प्रदीप यादवमध्ये कसलाई पठाउने भन्नेमा पार्टीभित्र संघर्ष बढेको जसपाका एक नेता बताउँछन् । 

सुझावित समाचार