मधेसका मुख्यमन्त्री यादवलाई आयोगले सोध्यो स्पष्टीकरण

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ। 

उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिविना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले आइतबार यादवलाई २४ घन्टे स्पष्टीकरण सोधेको हो।

मुख्यमन्त्री यादव आइतबार बिहान प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको बारा २ स्थित पचरौता नगरपालिका पुगेका थिए। ‘निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिविना निर्वाचन आचारसंहिताविपरीत हुने गरी के–कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो ?’ आयोगले सोधेको छ। 

स्पष्टीकरणमा अगाडि सोधिएको छ, ‘तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ?  तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लंघन हुन्छ, हुँदैन ?  निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?’ 

आयोगका उपसचिव कमल ज्ञवालीले मुख्यमन्त्री यादवलाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको बताए।
 

सुझावित समाचार