नियमसंगत रुपमा छात्रवृत्ति उपलब्ध गराउन निजी विद्यालयलाई काठमाडौं महानगरको ध्यानाकर्षण

शनिबार, ९ बैशाख, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले निजी विद्यालयले उपलब्ध गराउनुपर्ने छात्रवृत्ति नियमसंगत रुपमा उपलब्ध गराउन ध्यानाकर्षण गराएको छ। शनिबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४  नियम ५८ र ५९ को प्रावधान अनुसार निजी तथा संस्थागत विध्यालयहरुले उपलब्ध गराउने छात्रवृत्ति अन्तर्गत  प्रत्येक कक्षामा प्रथम र द्वित्तीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र ५०  प्रतिशत शुल्क मिनाहा गर्न निर्देशन दिएकाे जानकारी गराएका  छन्। 

त्यस्तै विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपांग, महिला, दलित, जनजाति, द्वन्द पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम रहेको स्मरण गराउँदै नयाँ शैक्षिकसत्र सुरु हुँदै गरेको परिप्रेक्षमा काठमाडौं महानगरपालिकाभित्र पर्ने निजी तथा संस्थागत विद्यालयहरुले उपलब्ध गराउनुपर्ने छात्रवृति नियमसंगतरुपमा उपलब्ध गराउन हुन ध्यानाकर्षण गराएका हुन् ।  

साथै महानगरले छात्रवृत्ति सम्बन्धित सम्पुर्ण जानकारी विद्यालयको वेबसाईट तथा सुचनापाटिमा टाँस गरि अभिभावक र विद्यार्थीहरुलाई सुचित गराउन अनुरोध समेत गरेको छ । 

महानगरले नियमको पालना गर्न, गराउन पहल गर्न सम्बन्धित विद्यालय,अभिभावक तथा सम्पूर्ण सरोकारवालालाई अनुरोध समेत गरेको छ । अन्यथा कानुन बमोजिम कारवाही अगाडि बढाउन महानगर बाध्य हुने चेतावनी दिएको छ । 

सुझावित समाचार