नदी प्रदूषित गर्ने उद्योगलाई कारबाही गर्न सांसद यादवको माग

बिहिबार, २३ चैत, २०७९
डिजिटल संस्करण

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले बारा र पर्साको सिमानामा पर्ने सिर्सिया नदी प्रदूषित गर्ने उद्योगहरूलाई कारबाही गर्न माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले सिर्सिया किनारामा सञ्चालनमा रहेका उद्योगहरूबाट निस्किने रासायनिक पानी सीधै नदीमा मिसाउँदा नदी प्रदूषित भएको बताए । नदी प्रदूषित हुँदा मानिस र पशुचौपायालाई समेत छालासम्बन्धी विभिन्न रोगको संक्रमण भएको भन्दै त्यसतर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।

‘यी उद्योगहरूबाट निस्किने रसायनयुक्त पानी प्रशोधन नगरी सीधै नदीमा फाल्ने गर्दछन् । यसरी खेलबाड गर्ने उद्योगलाई अहिलेसम्म कारबाही हुँदैन । मेरै जिल्लाको उद्योगमन्त्री बन्नुभएको छ, उहाँहरूलाई यो कुराको बढी अवगत छ । सरकारको आँखामा पट्टी बाँधिएको छ । सरकारलाई थाहा छ– उद्योगीहरू बदमासी गरिरहेको छ । उद्योगीहरू नियम मिचिरहेका छन् । नियमबाहिर प्रशोधन नगरीकन पानी नदीमा फालिरहेको छ । तर, सरकार मूकदर्शक भएको छ । त्यहाँको सिडिओले भन्छन्– हामीले आदेश पाएमा २४ घन्टामा नियन्त्रण गर्छौँ । तर, आदेशकर्ता को हो ? कहाँ गएको छ ?’ सांसद यादवले भने ।
 

सुझावित समाचार