निक्षेपकर्ताको १२ करोड अपचलन गरेको आरोपमा तुलसी सहकारीका आठजनाविरुद्ध ठगी मुद्दा

सहकारीका तीनजना पदाधिकारी पक्राउ, निक्षेप माग गर्दै प्रहरीमा उजुरी दर्ता गराउनेको भिड

मंगलबार, ३० फागुन, २०७९
डिजिटल संस्करण
निक्षेपकर्ताको १२ करोड अपचलन गरेको आरोपमा तुलसी सहकारीका आठजनाविरुद्ध ठगी मुद्दा

मोरङ प्रहरीमा बचत फिर्ता माग्दै उजुरी दिने निक्षेपकर्ताको लाइन ।

प्रहरीले १२ करोड निक्षेप अपचलन गरेको आरोपमा तुलसी सहकारी संस्थाका आठजनाविरुद्ध ठगी मुद्दा दर्ता गरेको छ । कोसी प्रदेशका मुख्य सहरहरूमा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरी निक्षेपकर्ताको करोडौँ रकम अपचलन गरेको आरोपमा प्रहरीले सहकारी आठजनाविरुद्ध सोमबार ठगी मुद्दा दर्ता गरेको हो ।

विराटनगर महानगरपालिका– ३ मुनालपथमा केन्द्रीय कार्यालय रहने गरी स्थापना भएको तुलसी बहुउद्देश्यीय सहकारी १३ चैत ०५२ मा सहकारी विभागमा दर्ता भएको हो । सहकारीले झापाको दमक र उदयपुरको गाईघाटलगायतका सहरमा शाखा कार्यालय स्थापना गरी बचत संकलन गर्दै आएको छ । 

निक्षेपकर्ताहरूको रकम अपचलन गरेको आरोपसहित उजुरी परेपछि प्रहरीले संस्थाका दुई पदाधिकारी र एक प्रबन्धकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा संस्थाकी उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने, क्षेत्रीय प्रबन्धक मन्दीप खवास छन् । संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित अन्य पाँच आरोपी फरार छन् । उनीहरूलाई चाँडै नियन्त्रणमा लिने मोरङका एसपी दीपक पोखरेलले जानकारी दिए । 

नेपालभरि कार्यक्षेत्र रहने गरी ०५२ मा स्थापना भएको सहकारीको मुख्य कार्यालय विराटनगर महानगरपालिका– २ मुनालपथमा छ । १ फागुनदेखि सेयर सदस्यहरूलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनी जाहेरीका आधारमा प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएपछि तीनजनालाई पक्राउ गरी आठजनाविरुद्ध अदालतमा ठगी मुद्दा दर्ता गरेको एसपी पोखरेलले बताए ।

सुरुमा १३ जना बचतकर्ताले निक्षेप रकम फिर्ता नभएको भन्दै सहकारीमा रकम अपचलन भएको भन्दै बचत दिलाइदिन उजुरी गरेका थिए । तर, प्रहरी प्रशासन गुहारेर छलफल गराउँदा पनि संस्थाका पदाधिकारीहरूले उल्टै गालीगलौज गरेपछि घटना बाहिर आएको थियो । हालसम्म एक सय २१ जना बचतकर्ताले उजुरी गरिसकेको र थप उजुरी दिने बचतकर्ताहरूको कार्यालयमा लर्को लागेको मोरङका एसपी पोखरेलले बताए । 

उनका अनुसार तुलसी सहकारीमा हालसम्म २१ हजार पाँच सयजना सदस्य छन् । मोरङमा मात्र चार हजारभन्दा बढी बचतकर्ता रहेको र ६० करोडभन्दा बढी मोरङबाट मात्र निक्षेप संकलन भएको खुलेको छ । तुलसी सहकारीले देशभरिबाट एक अर्ब ४० लाखभन्दा बढी रकम बचतकर्ताबाट निक्षेप संकलन गरेर अपचलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हाल तुलसी सहकारीका सबै शाखा र केन्द्रीय कार्यालय बन्द गरेर त्यहाँ कार्यरत पदाधिकारी र कर्मचारी फरार भएका छन् । 

तुलसी सहकारीले बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचतलगायत खाताहरूको आकर्षक कार्यक्रम ल्याएर १५ प्रतिशतभन्दा बढी व्याज र बोनस दिने भन्दै निक्षेप संकलन गरेको थियो । सोही आश्वासनमा परेर सर्वसाधारणले आफ्नो तथा बालबच्चासहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा लाखौँ रुपैयाँ बचत गरेका थिए । तर, बचतकर्ताले निक्षेप फिर्ता माग्दा १ फागुनदेखि कार्यालय बन्द गरी सञ्चालक समितिका सबै पदाधिकारी सम्पर्कविहीन भएपछि ठगी आरोपको उजुरी प्रहरीसमक्ष पुगेको थियो । 

२८ फागुनमा केही बचतकर्ताले १२ करोड नौ लाख रुपैयाँ ठगी भएको भनी संस्थामा कार्यरत आठजनाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा तीनजनालाई पक्राउ गरिएको तथा अन्य पाँचजनाको खोजतलास भइरहेको एसपी पोखरेलले बताए । सहकारीका अध्यक्ष शर्मा भारतमा लुकेर बसेको खुलेको प्रहरीले जनाएको छ । अन्य सदस्यहरू छविलाल विश्वकर्मा, निर्मला भट्टराई, बन्टी अधिकारी, आदित्यराज भट्टराई, सुरुचि पोखरेल सम्पर्कविहीन छन् । रकम हिनामिना गरेको आरोपमा पदाधिकारी र प्रबन्धक पक्राउ परेको सार्वजनिक भएपछि मोरङ प्रहरीमा उजुरी दिनेको भिड लागेको छ । प्रहरीले सबै बचतकर्तालाई रकम दाबी गर्दैे उजुरी दिन आह्वान गरेको छ । 

 सहकारी विभागले दियो अनुसन्धानका लागि प्रहरीलाई अनुमति 
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार तुलसी सहकारीका अध्यक्ष शर्मालगायतका पदाधिकारीले निक्षेपको रकम आफ्ना विभिन्न कम्पनी र कारोबारमा लगानी गरेका छन्। निक्षेपकर्तालाई बचतको रकम समयमा फिर्ता दिन आनाकानी गरेपछि प्रहरी, प्रशासन र सहकारी विभागमा गुहार मागेका थिए । पटक–पटक निक्षेपकर्ताको रकम फिर्ता दिन प्रहरीले समन्वय गरी छलफल गराउँदा पनि आनाकानी गरेपछि ठगीको घटना सार्वजनिक भएको थियो । अपचलनको उजुरी आएपछि प्रहरीले सुरुमा प्रशासनको निर्देशनमा संस्थाका केही पदाधिकारीलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारमा कसुर दर्ता गराएर समन्वय गराउन प्रयत्न गरेको थियो ।

सुझावित समाचार