प्रहरीमा बढुवा खुल्यो : पाँच डिआइजी एआइजी बढुवामा सिफारिस

शनिबार, २७ फागुन, २०७९
डिजिटल संस्करण

नेपाल प्रहरीको उच्च तहमा बढुवाको जाम खुलेको छ । शुक्रबार पाँच नायब महानिरीक्षक (डिआइजी)को अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस भएको छ । गृहसचिव विनोदप्रकाश सिंह नेतृत्वको बढुवा समितिले डिआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवाको सिफारिस गरेको हो । वरिष्ठताको वरीयताअनुसार नै उनीहरूको बढुवा भएको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहकै प्रस्तावअनुसार डिआइजी बढुवा भएको स्रोत बताउँछ । 

एआइजीको पद गत साउनदेखि नै रिक्त भए पनि राजनीतिक चलखेलका कारण बढुवा प्रक्रिया सुरु हुन सकेको थिएन । यही टोलीबाट दुई सातापछि प्रहरी महानिरीक्षक चयन हुने भएकाले पनि बढुवामा तीव्र प्रतिस्पर्धा थियो । वरीयताक्रमअनुसार नै बढुवा हुँदा पहिलो नम्बरमा रहेका कुँवर लाभान्वित भएका छन् ।

प्रहरी महानिरीक्षक नियुक्तिको अधिकार सरकारलाई भएकाले एआइजीमध्येबाट जो पनि बढुवा गर्न सक्ने अवस्था भने छ । उनीहरू गत असारमा मात्र एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए । प्रहरीमा वृत्ति विकास योजना नहुँदा डिआइजीमा एक वर्ष पनि काम गरेको अनुभव नभई आइजिपी बन्ने अवस्था आएको छ । 

आगामी १० चैतदेखि हालका प्रहरी महानिरीक्षक सिंह र एआइजीहरूले ३० वर्षे सेवाहदका कारण एकैपटक अवकाश पाउने भएकाले अहिले एआइजी सिफारिस भएकामध्येबाट आइजिपी चयन हुन लागेको हो । यद्यपि, सेवाहदका कारण प्रहरी संगठनमा वृत्ति विकासलगायत समस्या देखिएको भन्दै गृह मन्त्रालयले सेवाहद हटाउनेबारे समेत छलफल गरिरहेको छ । कुनै पनि ब्याचका अधिकृतको करिअरलाई असर नगर्ने गरी सेवाहद हटाउनुपर्ने माग संगठनभित्र छ ।

सुझावित समाचार