संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न आग्रह गरेका छन्।
शुक्रबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले काठमाडौंमा आयोजना गरेको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न आग्रह गरेका हुन्।
उनले एक–दुई हजार मान्छे जम्मा हुँदैमा पूर्वराजाले म नै राजा हुँ भन्ने सोचिरहेको भन्दै त्यस्तो नसोच्न चेतावनी दिए। देशमा गणतन्त्र आइसकेको र जनताको छोराछोरी राष्ट्रपति बन्न पाउने भन्दै उनले देश पश्चगमनतर्फ नफर्कने बताए।
मानव जातिका लागि गणतन्त्र सबैभन्दा सुन्दर व्यवस्था भएको बताउँदै मन्त्री मोदीले पूर्वराजा शाहलाई आफूहरूले सम्मानपूर्वक नै ठीक ठाउँमा बस्न आग्रह गरेको स्पष्ट पारे।
मन्त्री मोदीले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताए। देशको राजनीतिक अवस्था परिवर्तनका निम्ति पत्रकारहरूको ठूलो योगदान रहेको भन्दै उनले प्रेस जगतको प्रशंसासमेत गरे।