संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक संसद्मा लैजाने सरकारको निर्णय

राष्ट्रपति निर्वाचनअगावै प्रधानन्यायाधीश नियुक्तिको प्रयास, नयाँ विधेयकमार्फत पुरानै ऐनको व्यवस्थालाई जगाउने तयारी

शुक्रबार, १२ फागुन, २०७९
डिजिटल संस्करण

सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको विधेयकलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको कानुनमन्त्री ध्रुवबहादुर प्रधानले जानकारी दिए । विधेयकलाई शुक्रबार संसद्मा दर्ता गरेर अघि बढाइने उनले बताए । विधेयकमार्फत सरकारले संवैधानिक परिषद् बैठकसम्बन्धी कार्यविधि संशोधन गर्दै छ । 

तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो अनुकूलतामा बैठक राखेर संवैधानिक निकायमा एकलौटी रूपमा पदाधिकारी नियुक्ति गर्न अध्यादेशमार्फत कार्यविधि हेरफेर गरेका थिए । ओलीको अध्यादेशकै स्पिरिटमा शेरबहादुर देउवा नेतृत्वको सरकारले २२ असार ०७९ मा राष्ट्रिय सभामा संशोधित विधेयक दर्ता गराएका थिए । अघि बढ्न नसकेको विवादित विधेयकलाई सरकारले अघिल्लो बिहीबार फिर्ता लिएको थियो ।

अध्यादेशले संवैधानिक परिषद्सम्बन्धी ऐनको कार्यविधि निष्क्रिय भएको र संशोधन विधेयक विवादले अघि बढ्न नसक्दा प्रधानन्यायाधीशलगायत संवैधानिक पदाधिकारीको नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन । प्रधानन्यायाधीश नियुक्तिका लागि नेपाल बारलगायत निकायले दबाब बढाएका छन् । सरकारले राष्ट्रपति निर्वाचनअगावै संशोधन विधेयक पारित गरेर प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउने गृहकार्य गरेको छ ।

खानेपानी तथा सरसफाइमन्त्री अब्दुल खान भन्छन् –बिदा धेरै भयो भन्ने जनगुनासो आयो । अत्यधिक बिदा भएकाले बिदाको दिन सार्वजनिक कार्यालय खोल्ने कि भन्ने भएको छ । निर्णय भएको छैन । बैंक, मालपोत, पासपोर्टलगायत अत्यावश्यक सार्वजनिक कार्यालय बिदाको दिन खोल्न छलफल प्रारम्भ भएको हो । टुंगोमा पुगिसकेको छैन । 

नयाँ विधेयकमार्फत पुरानै ऐनको व्यवस्थालाई जगाउन खोजिएको मन्त्री प्रधानले बताए । विधेयकमा उल्लेख भएअनुसार संवैधानिक परिषद्बाट कुनै पदाधिकारीको नियुक्ति सिफारिसको निर्णय गर्दा कम्तीमा चार सदस्यको सहमति हुनैपर्नेछ । संविधानको धारा २८४ अनुसार प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, विपक्षी दलको नेता, उपसभामुख सदस्य रहन्छन् । संशोधन विधेयकमा पहिलो बैठकमा गणपूरक संख्या पुग्न अध्यक्षसहित पाँच सदस्य उपस्थित हुनुपर्ने, बैठकमा प्रत्येक विषयमा सर्वसम्मत निर्णय हुने र सर्वसम्मत हुन नसकेमा कम्तीमा चार सदस्यको बहुमतले निर्णय गर्नुपर्ने व्यवस्था राखिएको छ । 

पुरानो संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०७२ को दफा ६ मा परिषद्को बैठकसम्बन्धी कार्यविधि छ । यसको उपदफा ३ मा अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्य उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिने भनिएको छ । उपधारा ५ मा बैठकमा पेस भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुने भनिएको छ । उपधारा ६ सर्वसम्मति कायम हुन नसकेमा सो विषयमा निर्णय हुन नसक्ने भनिएको छ । उपधारा ७ मा सर्वसम्मत निर्णय हुन नसकेको विषयमा निर्णय गर्न अध्यक्षले पुनः अर्काे बैठक बोलाउन लगाउनेछ र त्यस्तो बैठकको सहमतिले सो विषयमा निर्णय गरिनेछ । तर, त्यस्तो बैठकमा पनि सहमतिबाट निर्णय हुन नसकेमा परिषद्का सम्पूर्ण सदस्यको बहुमतबाट निर्णय गरिने व्यवस्था थियो ।

शनिबारबाहेकका बिदामा कार्यालय खोल्न छलफल
मन्त्रिपरिषद् बैठकमा शनिबारबाहेकका बिदाका दिनमा सरकारी कार्यालय खोल्नेबारेमा समेत छलफल भएको छ । खानेपानी तथा सरसफाइमन्त्री अब्दुल खानले सार्वजनिक बिदा बढी भएको जनगुनासो आएकाले अत्यावश्यक कार्यालय खोल्ने विषयमा सकारात्मक छलफल भएको बताए । ‘बिदा धेरै भयो भन्ने जनगुनासो आयो । अत्यधिक बिदा भएकाले बिदाको दिन सार्वजनिक कार्यालय खोल्ने कि भन्ने भएको छ । निर्णय भएको छैन । बैंक, मालपोत, पासपोर्टलगायत अत्यावश्यक सार्वजनिक कार्यालय बिदाको दिन खोल्न छलफल प्रारम्भ भएको हो । टुंगोमा पुगिसकेको छैन,’ उनले भने ।

मन्त्री खानले यो प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समितिको अध्ययनको निष्कर्षका आधारमा मुख्यसचिव शंकरदास वैरागीबाट आएको जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले अस्ति विदा धेरै भयो भनेपछि यसमा समिति नै बनाएर अध्ययन सुरु भएको थियो । प्रस्तावमा प्रधानमन्त्रीज्यूले जनताको पिरमर्का छ । चार चार दिन लगातार बिदा परिदिन्छ । यस्तो अवस्थामा नागरिकलाई साह्रै अप्ठेरो भयो । यसलाई व्यवस्थित गरेर जाऔं भन्नुभयो । जनतासँग प्रत्यक्ष जोडिने अतिआवश्यक बैंक, मालपोत, पासपोर्टलगायत कार्यालय खोल्ने कुरा भएको हो । कार्यविधि बनाएर लागू गर्न सिंगो मन्त्रिपरिषद् एकमत छ,’ उनले भने ।

सुझावित समाचार