देशको अर्थतन्त्र जटिल मोडमा छ : राष्ट्रपति

शुक्रबार, २७ माघ, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्र जटिल मोडमा पुगेको बताएकी छिन्। 

शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले अर्थतन्त्रका सूचकहरूमा सुधारको संकेत देखिए पनि आर्थिक अवस्था जटिल मोडमा पुगेकोप्रति सरकारलाई सचेत गराएकी हुन्। 

अर्थतन्त्रमा देखिएका समस्याको समाधानको खोजी गर्न आवश्यक रहेको बताउँदै राष्ट्रपति भण्डारीले  अर्थतन्त्र सुधार्न आन्तरिक उत्पादन वृद्धिका लागि समन्वयात्मक रुपमा काम गर्नुपर्ने खाँचो औँल्याइन्।

 राष्ट्रपति भण्डारीले भनिन्, ‘कृषि उत्पादनलाई केन्द्रमा राखेर समयमै मल, बीउ, प्रविधि तथा उपकरण सहज रुपमा उपलब्ध गराउनुपर्छ।’ 

उनले कामका लागि युवा विदेसिने अवस्थाको अन्त्य गर्न मुलुकभित्रै रोजगारी सिजर्नाका लागि सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन्। 

उनले सबैले गुणस्तरीय शिक्षा पाउनुपर्ने जनताको नैसर्गिक अधिकारका लागि गुणस्तरीय शिक्षाका साथै जीवनोपयोगी पाठ्यक्रम र पठनपाठन पनि आवश्यक रहेकामा जोड दिइन्। 

राष्ट्रपति भण्डारीलाई यसअघि संसद् भवन परिसरमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गरेका थिए। साथै नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको थियो। 

तस्बिर : अमुल थापा/नयाँ पत्रिका 

सुझावित समाचार