गाउँ नै उठीबास लगाउने भूमाफियाको प्रपञ्च, स्रेस्तामै नभएको कागजात भेटियो

बिहिबार, १२ माघ, २०७९
डिजिटल संस्करण

भूमाफियाले गाउँ नै खाली गराउन धम्क्याएपछि सर्लाहीको ईश्वरपुर नगरपालिका– १२ कालिन्जोरका स्थानीय त्रसित बनेका छन् । कालिन्जोरमा आइतबारदेखि भूमाफियाको समूहले गाउँ रहेको जग्गा नापजाँच गर्न थालेपछि स्थानीय सशंकित बनेका हुन् ।

स्कारपियो चढेर आएका आठ–नौजनाको समूहले गाउँको एक कुनाबाट जग्गा नापजाँच सुरु गरेका स्थानीय बुद्धसिंह बाइवाले बताए । सदियौँदेखि आफूले भोगचलन गर्दै आएको जग्गा यसअघि दाबी गर्न कोही नआएको उनको भनाइ छ । कहिल्यै नदेखेका समूहले आफूले जोतभोग गरिरहेको जग्गा नापजाँच गर्न थालेपछि आक्रोशित स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

उनीहरूमध्ये सातजना पक्राउ परेका इलाका प्रहरी कार्यालय केश्वरगञ्जले जनाएको छ । पक्राउ पर्नेहरूमा बाराको जितपुर–सिमरा– ११ का उमाशंकर साह, विनयकुमार चौधरी, वडा नम्बर १ का ज्ञानबहादुर लामिछाने, सिराहाको कर्जन्हा– १ का राहुलकुमार साह, धनुषाको मिथिला– ९ का जयकुमार ठाकुर, क्षीरेश्वरनाथ– ५ का विजयकुमार साह र महोत्तरीको मनरासिस्वा– ४ का धीरेन्द्र झा रहेका छन् । उक्त समूह सवार प्रदेश ३–०१–०२२ च १८४१ नम्बरको स्कारपियो र उनीहरूको साथबाट पाँच लाख रुपैयाँ नगदसमेत प्रहरीले बरामद गरेको थियो ।

स्थानीय दयासागर गौतमका अनुसार पछिल्लो केही समययता गाउँमा नयाँ–नयाँ मानिसको समूह आउने गरेका थिए । उनीहरूले गाउँको जग्गाको विषयमा समेत कुरा गरेको उनको भनाइ छ । ‘गाउँमा कतिजनाको लालपुर्जा छ ? कि छैन ? जस्ता प्रश्न गर्थे,’ उनले भने । उक्त समूहको गतिविधिसँगै चहलपहलसमेत बढ्दै गएको गौतमले सुनाए ।

त्यसवेलासम्म आफूहरूलाई उनीहरूको गतिविधिको विषयमा कुनै जानकारी नभएको स्थानीय सन्तोषी अस्थानीले बताइन् । ‘यसरी समूहमा आउने केहीले जग्गा हाम्रो हो, अब गाउँ खाली गराउनुपर्छ । नमाने जे पनि हुन सक्छ भन्थे,’ उनले भनिन् । आइतबारको घटनापछि गाउँका मानिस त्रसित भएका उनले सुनाइन् । ‘उनीहरूले मार्छन् भनेर रातभर निद्रा लाग्दैन,’ उनले भनिन्, ‘माफियाले पहिला पनि धम्क्याउने गरेका थिए ।’ आइतबारको घटनापछि गाउँमा नयाँ मान्छे देख्नेबित्तिकै उनको मुटुले ढ्यांग्रो ठोक्न थाल्छ ।

९८ वर्षीय चन्द्रबहादुर अस्थानी भूमाफियाले जग्गा दाबी गरेको कुराले आफूहरू अचम्मित भएको बताउँछन् । आफ्नो हजुरबुबाको पालादेखि नै जोतभोग गर्दै आएको थातथलो अर्काले ‘हडप्न’ आएको देख्दा रुनु न हाँस्नु भएको उनले बताए । आफूले जीवनमै कल्पना नगरेको कुरा भोग्नुपरेको उनले गुनासो गरे । 

गम्भीर छानबिन हुनुपर्छ : वडाध्यक्ष खत्री
गाउँ नै उठीबास लाग्ने गरी भूमाफियाले ६५ बिघा क्षेत्रफल आफ्नो दाबी गरेको विषयमा थप बुझ्ने काम भइरहेको वडाध्यक्ष देवीबहादुर खत्रीले बताए ।

‘भूमाफियाको समूहले दाबी गरिरहेको ६५ बिघा कहाँ छ हामीलाई नै थाहा छैन,’ उनले भने, ‘यहाँका स्थानीय सदियौँदेखि बसेका हुन् । उनीहरू बसिरहेको जग्गाको कागजात माफियाले कसरी बनाए ? यो खोजीको विषय बनेको छ ।’

भूमाफियाको योजनाअनुसार स्थानीयको बिचल्ली बनाउने खेल देखिएको वडाध्यक्ष खत्रीले दाबी गरे । आइतबारको घटनापछि आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालय केश्वरगञ्ज घेराउसमेत गरेका थिए ।

‘भूमाफियाले देखाएको रेकर्ड स्रेस्तामै छैन’
मालपोत सेवा कार्यालय हरिवनले उक्त ठाउँमा भूमाफियाले देखाएजस्तो रेकर्ड नरहेको जनाएको छ । घटनालगत्तै स्थानीयले मौखिक रूपमा गराएको जानकारीअनुुसार आफूले रेकर्ड भिडाएर हेर्दा त्यस्तो कुनै जग्गा फेला नपरेको मालपोत कार्यालयका प्रमुख रमेश गौतमले बताए ।

त्यस्ता जग्गामा हदबन्दी मुद्दा रहने गरेको भए पनि सर्लाहीमा बाउ–छोराको अंशसम्बन्धी एउटा मुद्दा मात्र फेला परेको उनको भनाइ छ । कार्यालय प्रमुख गौतमका अनुसार उक्त स्थानमा केही अखडा जग्गा रहेको छ । त्यस्तो जग्गालाई सरकारी जग्गा भनिने भएकाले कसैको नाममा पास हुने सम्भावना नरहेको उनले जानकारी दिए ।

मालपोत प्रमुख गौतमले फेला परेको नक्सा र ढड्डा उतारको रेकर्डसमेत मालपोत कार्यालयबाट जारी भएको पाइएकाले त्यस विषयमा समेत अध्ययन भइरहेको बताए ।

सुझावित समाचार