चुप हुनेछैन स्वतन्त्रताको पुकार

आइतबार, २४ पुष, २०७९
डिजिटल संस्करण

विश्वका प्रिय नारीवादीहरू, 
म एक इरानी अभिनेतृ एवं कलाकार हुँ । सन् २००८ मा रिड्ले स्कटले ‘बडी अफ लाइज’ चलचित्रमा अभिनेत्रीका रूपमा लिएयता म निर्वासनमा छु र इरानी अधिकारीले मलाई अमेरिकी गुप्तचर निकाय सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए)को एजेन्ट भएको आरोप लगाएका छन् । म यो पत्र इरानमा बढ्दो दमन एवं असमानताविरुद्ध संघर्ष गरिरहेका युवाहरूको तर्फबाट लेखिरहेकी छु । एक निर्वासितको हैसियतमा यो बहादुरीपूर्ण विद्रोहलाई प्रतिनिधित्व गर्ने प्राधिकार मसँग छैन । म केवल मेरा दिदीबहिनी तथा दाजुभाइका भावनाहरूलाई प्रतिध्वनित गर्ने प्रयास मात्रै गर्दै छु र इरानमा के भइरहेको छ भनेर सारा विश्वलाई बुझ्न सहयोग गर्ने प्रयास गर्दै छु । म इरानी युवाका भावनालाई शब्दमा मात्रै होइन, तिनका भावलाई पनि यो विदेशी भाषा अंग्रेजीमा उल्था गर्न चाहन्छु ।

२५ वर्षसम्म इरानमा हुँदाको र अमेरिकाको १४ वर्षे निर्वासनको मेरो अनुभवले मलाई दुई भिन्न संस्कृतिबीच पुल बन्न सक्षम बनाएको छ । पश्चिमा जगत्का धेरै मानिसको बुझाइविपरीत मैले यी दुई भिन्न संस्कृतिमा थुप्रै समानता पाएकी छु । यो समानता विशेषतः अहिलेको क्रान्तिको हाँक दिइरहेका जेन जेड अर्थात् सन १९९७ देखि २०१२ को बीचमा जन्मेका नवयुवाले पुष्टि गरिरहेका छन् ।

इरानमा अहिले ऐतिहासिक क्रान्ति चलिरहेको थाहा पाउन पश्चिमा जगत्का धेरैलाई समय लाग्यो । मेरो मातृभूमि इरान विश्वका बुझन कठिन क्षेत्रमा पर्छ । यहाँ सत्य र असत्य अक्सर छुट्याउन गाह्रो हुन्छ । यहाँका मानिसले ठूलो दुःखकष्ट झेलिरहेका छन् । इरान विभिन्न आयामबाट आधुनिक मानवताको उद्गमस्थल हुनुका साथै अत्यन्त जटिल राजनीति, संस्कृति, समाज एवं धार्मिक जालोले जेलिएको मुलुक पनि हो यो, जहाँ विभिन्न तह तप्का, उमेर समूह र परिवारकै बीचमा समेत गहिरो अन्तर्विरोधहरू चल्छन् ।

यति भन्दै गर्दा मध्यपूर्वको राजनीति र संस्कृतिलाई चित्रण गर्ने विरोधाभाष र असमन्जस्यता वर्तमान विश्वव्यापी मुद्दामा हुने बहसको अतिरञ्जित प्रतिबिम्ब मात्र हुन् । विश्व सजिलै सही वा गलत अथवा कालो वा सेतोका रूपमा बुझ्न सकिनेभन्दा पनि खैरो रंगको अनन्त विस्तारित वर्णपटका रूपमा बुझ्न सकिन्छ । मचाहिँ धेरै थरीका रंगहरूको इन्द्रेणी वर्णपटका रूपमा बुझ्छु ।

त्यसो भए इरानी विद्रोहको यो उभार कसरी भिन्न छ ? यसपटक यहाँ सही र गलतबीच स्पष्ट भेद छ, अलमल छैन । कुरा सरल छ– इरान ‘जेनरेसन जेड’ स्वतन्त्रता चाहन्छ । उनीहरूको छनोटको स्वतन्त्रता चाहन्छन् । इरानी महिलालाई इरानी पुरुष सरह व्यवहार गर्ने, पहिरन लगाउन, काम गर्ने, हिँडडुल गर्ने र कुरा गर्ने स्वतन्त्रता चाहिएको छ । यो विद्रोहमा न कुनै वैचारिकीको संलग्नता छ न वामपन्थी वा दक्षिणपन्थी खेमाको राजनीति नै छ । स्वतन्त्रताको सरल मागले नै स्वतन्त्रताको यो उभारलाई शक्तिशाली बनाएको छ । यसमा दुईवटा दृष्टिकोण पनि छैन । न यसमा कुनै माथापच्ची गर्नुपर्ने तर्क–वितर्क नै छ । यसमा कुनै अलमल छैन । मलाई के लाग्छ भने यसैको अभावमा यसअघिका विद्रोहहरू (जसमध्ये केही बढी नै हिंसात्मक र निर्ममतापूर्वक दबाइएका थिए) सफल भएनन् र तिनले अहिलेको विद्रोहले जस्तो अन्तर्राष्ट्रिय ध्यान पनि आकर्षित गर्न सकेका थिएनन् ।

हाम्रो क्षेत्रलाई प्रेरणाको स्रोत मान्न सकिन्छ भनेर कल्पना पनि गर्न गाह्रो छ, किनभने यो क्षेत्रबारे धेरै पूर्वाग्रह एवं गलत बुझाइ हाबी छन् । हामी आतंककारीले आफूले आफैँलाई उडाएर आत्मघाती हमला गरेका घटना सुनिरहन्छौँ । हामी यस इस्लामिक राज्य र तालिवानका मध्ययुगीन हर्कतहरू पढ्न अभिशप्त छौँ । हामी शिरदेखि पैतालासम्म ढाकिएका महिलालाई टेलिभिजनका रिपोर्टहरूमा नियालेर बस्छौँ, जसलाई साइकल वा कार चलाउन अनुमति छैन । पश्चिमले के देख्दैन भने हाम्रो जेनेरेसन जेड पनि उनीहरूको जस्तै छ । इरानी नवयुवा पनि उनीहरूले जस्तै टिकटकमा भिडियो पोस्ट गर्छन् । आफ्ना सेलेब्रिटीलाई इन्स्टाग्राममा पछ्याउँछन् । गाउन, नाच्न र खुसी हुन मन पराउँछन् । यी नवयुवा पनि असामन्जस्यताको विश्वमा आध्यात्मिक अर्थ खोज्छन् । उनीहरूले बाँचिरहेको जीवनमा स्वतन्त्रता केवल अनलाइन वा बन्द ढोकाभित्र मात्र छ । युवतीहरू सार्वजनिक स्थलमा निस्कँदा अहिले पनि मध्ययुगमा झैँ बुर्काले कपाल छोप्न बाध्य छन् । उनीहरू दोहोरो चरित्रको यस्तो जीवनबाट आजित भइसकेका छन् ।

यो क्रान्तिको सुरुवात भएदेखि नै सार्वजनिक रूपमा हाम्रो विद्रोहलाई समर्थन गर्न असमर्थ प्रभावशाली पश्चिमा नारीवादी वा महिला अधिकारका रक्षकहरूको मौनतादेखि म चकित छु । पश्चिममा लामो समयदेखि बसिरहेको हुँदा यी नारीवादीहरूलाई अहिले इरानमा जे भइरहेको छ त्यसको गम्भीर्यता र ऐतिहासिक महŒव बुझ्न कति गाह्रो छ भन्ने पनि मैले बुझेकी छु । म पश्चिमका नारीवादीहरूको तप्कामा इरानी संघर्षप्रतिको धारणामा बदलाव आओस् भन्ने चाहन्छु । म तपाईंको हृदय परिवर्तनको स्वागत गर्छु । मैले भन्नैपर्छ– यो संघर्ष सुरु हुँदा इरानी नवयुवा पश्चिमका प्रभावशाली नारीवादीका मौनताले आहत भएका थिए । शक्तिशाली महिलाको मौनता इरानी प्रदर्शनकारीका लागि चकित बनाउने खालको थियो । उनीहरू ट्रेभर नोआ, जस्टिन बिबर वा क्रिस मार्टिन र कोल्डप्ले ब्यान्डका सदस्यलगायतका प्रभावशाली पुरुष प्रदर्शनको सुरुवाती चरणमै मुखर हुँदा पनि प्रभावशाली महिलाको आवाज खासै नसुनिँदा उनीहरू अचम्भित थिए । इरानमा १६ वर्षीया निका सकारामी र २२ वर्षीया महसा अमिनीलगायतका युवतीको निर्ममतापूर्वक हत्या हुँदै गर्दा ठूलाठूला नारीवादी आन्दोलनका अग्रपंक्तिका अधिकांश अमेरिकी महिला कसरी मौन बस्न सके ? इरानमा जे भइरहेको छ, त्यो स्वतन्त्रता र समानताको संघर्ष हो । यो हिजाब वा पुरुषविरुद्धको लडाइँ होइन । यो त मूर्खता र अन्धकारविरुद्धको लडाइँ हो । त्यसैले यसमा महिलाले जत्तिकै पुरुषले पनि सहभागिता जनाएका छन् ।

मेरा इरानी दिदीबहिनी विभिन्न मोर्चाबाट सम्पूर्ण महिलाका अधिकार र समानताका लागि लडिरहेका छन् । फरक यत्ति हो– यी प्रदर्शनकारीले दैनिक ज्यानको जोखिम मोलिरहेका छन् । तपाईं यो आन्दोलनको धक्का इरानको सिमानामा मात्र सीमित हुनेछैन भनेर निश्चिन्त हुन सक्नुहुन्छ । यी प्रदर्शनकारीले समग्र मध्यपूर्वका महिलालाई दैनन्दिन भोगिरहेको उत्पीडनविरुद्ध विद्रोह गर्ने हौसला प्रदान गर्नेछ जुन सामान्यतया यी महिलाले सपनामा समेत कल्पना गर्न सक्दैनन् । 
तर, यो आन्दोलन तपाईंको ऐक्यबद्धताविना सफल हुन सक्दैन । हामीलाई सैन्य हस्तक्षेप चाहिएका छैनन् । राजनीतिक हस्तक्षेपको आवश्यकता पनि पर्दैन, किनभने मध्यपूर्वका जनता यस्ता हस्तक्षेपलाई शंकाको नजर हेर्छन् । सन् १९५३ मा इरानी प्रधानमन्त्री मोहम्मद मोस्सादेगलाई अपदस्थ गराउने ‘कु’मा विदेशी संलग्नता इरानी जनताको मानसपटलमा गहिरोसँग गढेको छ । यसप्रकारको आन्दोलनलाई समर्थनको आवाज जरुरत हुन्छ । मौन बस्नु अपराधको भागीदार हुनु हो । म यसलाई इरानी महिला र तिनको बहादुरीपूर्ण संघर्षलाई बेवास्ता गर्नु शताब्दीयौँ देखिका महिलाका स्वतन्त्रता एवं समानताका संघर्षहरूको अवमूल्यन गर्ने कार्यका रूपमा हेर्छु । (फरहानी इरानीमा जन्मिएकी अभिनेतृ हुन्)

सुझावित समाचार