इन्धन अभावले यमनमा अस्पताल बन्द

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण

इन्धनको चरम अभावका कारण यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा रहेको सबैभन्दा ठूलो अस्पताल आइतबारदेखि बन्द भएको छ।

अस्पतालका एक चिकित्सकले इन्धनको चरम अभावका कारण सेवा नै बन्द गर्नुपरेको सिन्ह्वालाई बताए। उनले नाम गोप्य राख्ने सर्तमा भने, ‘मिर्गौला रोगीहरूको उपचारमा विशेषज्ञता प्राप्त केन्द्र पनि समावेश रहेको अल–थावरा जनरल अस्पतालका सबै शाखाहरू इन्धनको गम्भीर संकटपछि बन्द गरिएको छ।’ 

‘ताइजमा रहेको सबैभन्दा ठूलो अस्पतालले घना बस्ती भएको ताइज सहरमा हजारौँ बिरामीका लागि सेवा प्रदान गर्दछ,’ उनले भने। अस्पताल बन्दले बिरामीको ज्यान जोखिममा पारेको भन्दै उनले चिन्ता व्यक्त गरे।

अस्पतालका अधिकारीका अनुसार अस्पतालले अन्तर्राष्ट्रिय संस्था र संयुक्त राष्ट्रसंघका निकायलाई संकटबाट पार पाउन र स्वास्थ्य विपत्तिबाट बचाउन तत्काल इन्धन उपलब्ध गराउन अपिल गरेको छ। 

सन् २०१४ को अन्त्यतिर इरान समर्थित हुथी लडाकु समूहले उत्तरी सहरहरूमा आक्रमण गरी साउदी समर्थित यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकालेपछि यमन गृहयुद्धमा फसेको छ। यस युद्धले दशौँ हजार मानिसको ज्यान लिइसकेको छ भने ४० लाख मानिस विस्थापित भएका छन्। युद्धले देशलाई भोकमरीको संघारमा पुर्याएको छ।

सुझावित समाचार