एक वर्षअघि सक्ने भनिएको केरुङ–काठमाडौं रेलमार्गको अध्ययन सुरु नै भएन

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण

चीनले कोभिडको कारण देखाउँदै अध्ययनमा चासो दिएन, जोखिम कम हुँदा नेपालले दबाबपूर्ण पहल पनि गरेन

निकै महत्वका साथ अघि बढाइएको नेपाल–चीन अन्तरदेशीय (केरुङ–काठमाडौं) रेलमार्गको अध्ययन गर्न ढिलाइ भएको छ । ०७५ (सन् ०१८) मै यस आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको थियो । तर, पूर्वसम्भाव्यता अध्ययन भएको चार वर्ष बितिसक्दासमेत आयोजनाको सम्भाव्यता अध्ययन सुरु नभएको हो । 

पछिल्लोपटक चिनियाँ विदेशमन्त्री वाङ यीको १३ चैतमा नेपाल भ्रमणमा आउँदा अध्ययनमा प्राविधिक सहायता दिने सम्झौता भएको थियो । साथै, गत साउनमा परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाँदा त्यहाँका विदेशमन्त्री वाङ यीले यो वर्ष (०२२) को अन्त्यसम्ममा सम्भाव्यता अध्ययन सुरु गर्ने बताएका थिए । तर, वर्ष ०२२ सकिन लाग्दासमेत चिनियाँ पक्ष आयोजनाको अध्ययन गर्न आएको छैन । 

चीनले कोभिडको कारण देखाउँदै रेलमार्ग अध्ययनको काम अघि बढाएको छैन । कोभिडको जोखिम सकिएको भए पनि नेपालले चीनलाई सम्भाव्यता अध्ययनका लागि दबाब दिएको छैन । पछिल्लो समय स्वयं नेपालले पनि यस कार्यलाई बेवास्ता गर्दै आएको सरकारी अधिकारीहरू नै बताउँछन् ।

छिट्टै अध्ययन सुरु हुन्छ होला : अमन चित्रकार प्रवक्ता, रेल विभाग 
कोरोनाकालबाट चीन अझै खुला रूपमा बाहिरिएको छैन । त्यसले गर्दा पनि रेलमार्गको सम्भाव्यता अध्ययनमा ढिलाइ भएको छ । नेपालसँग यसको अध्ययन गर्न प्राविधिक जनशक्ति छैन । यसको अध्ययन गर्ने भनेको चीनले नै हो । तर, कोरोनाका कारण सम्झौता अवधिमा चिनियाँ टोली नेपाल आउन सकेन । हाम्रो परराष्ट्रमन्त्रीज्यूको चीन भ्रमणमा त्यहाँका विदेशमन्त्रीले यो वर्षको अन्तिमसम्ममा अध्ययन सुरु गर्ने बताएका थिए । सायद अब छिट्टै अध्ययन सुरु हुन्छ होला ।

रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले नेपाल–चीन रेलमार्गको अध्ययन सम्बन्धमा पछिल्लो समय कुनै पनि गतिविधि नभएको बताए । ‘निकै महत्वका साथ यो परियोजनाको अवधारणा अघि बढाइएको हो । तर, अहिले यसमा केही पनि गतिविधि भएको छैन,’ उनले भने । 

कोरोनाकालबाट चीन अझै खुला रूपमा बाहिरिएको छैन । त्यसले गर्दा पनि रेलमार्गको सम्भाव्यता अध्ययनमा ढिलाइ भएको विभागका प्रवक्ता अमन चित्रकार बताउँछन् । 

‘नेपालसँग यसको अध्ययन गर्न प्राविधिक जनशक्ति छैन । यसको अध्ययन गर्ने भनेको चीनले नै हो । तर, कोरोनाका कारण सम्झौता अवधिमा चिनियाँ टोली नेपाल आउन सकेन,’ उनले भने, ‘हाम्रो परराष्ट्रमन्त्रीज्यूको चीन भ्रमणमा त्यहाँका विदेशमन्त्रीले यो वर्षको अन्तिमसम्ममा अध्ययन सुरु गर्ने बताएका थिए । सायद अब छिट्टै अध्ययन सुरु हुन्छ होला ।’

०७२ को नाकाबन्दीपछि भारतसँगको एकपक्षीय निर्भरता तोड्न नेपालले नेपाल–चीन सीमापार बहुआयामिक अन्तरआबद्धता सञ्जालअन्तर्गत केरुङ–काठमाडौं रेलमार्गको योजना अघि बढाएको थियो । 

सोहीअनुुसार २५ मंसिर ०७५ मा चीनको नेसनल रेलवे अथोरिटी अफ चाइनाले रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन रिपोर्ट नेपाललाई बुझाएको थियो । त्यसपछि २५–२६ असोज ०७६ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा आयोजनाको सम्भाव्यता अध्ययन सुरु गर्ने सहमति भएको थियो । सोहीअनुसार १० मंसिर ०७६ मा दुई देशबीच कामको बाँडफाँड भएको थियो । साथै, त्यसको दुई वर्ष अर्थात् ०७८ मंसिरभित्र चिनियाँ अनुदानमै आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गर्ने भनिएको थियो । तर, मंसिर ०७९ बितिसक्दा पनि आयोजनाको सम्भाव्यता अध्ययन सुरु भएको छैन । अध्ययन अघि बढाउन नेपाल पक्षले पनि ठोस पहल नगरेको सरकारी अधिकारीहरू बताउँछन् । 

पूर्वसम्भाव्यता अध्ययन र त्यसपछिको सहमति 
पूर्वसम्भाव्यता अध्ययनले नेपाल–चीन रेलमार्ग बनाउन सम्भव हुने देखाएको छ । भौगोलिक रूपमा चुनौतीपूर्ण देखिए पनि रेलमार्ग बनाउन सकिने पूर्वसम्भाव्यता अध्ययनको निष्कर्ष थियो । चीनले आफ्नो देशमा भौगोलिक रूपमा कठिन ठाउँमा समेत रेलमार्ग बनाइसकेको छ । त्यो अवस्थामा नेपाल–चीन रेलमार्ग बनाउन सकिने सम्भाव्यता अध्ययनको निष्कर्ष छ । यद्यपि, त्यसलाई अन्तिम सम्भाव्यता अध्ययनले पूर्णता दिनेछ । 

पूर्वसम्भाव्यता अध्ययनपछिको नेपाल र चीनबीच भएको सहमतिअनुसार सबै प्राविधिक कामको अध्ययन चीनले गर्ने र लागत पनि उसैले व्यहोर्नेछ । त्यसमा झन्डै तीन अर्ब रुपैयाँ लगानी लाग्ने बताइएको छ । नेपालले स्थानीयसँग सम्बन्धित मुआब्जा, बस्ती व्यवस्थापनलगायत जिम्मेवारी व्यहोर्नुपर्नेछ । साथै, आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) पनि नेपालले नै गर्नुपर्नेछ । त्यस्तै, अध्ययन क्षेत्रमा सुरक्षा उपलब्ध, आवास व्यवस्थापन र फिल्ड संरचना निर्माणलगायत दायित्व पनि नेपालकै हुनेछ । तर, आयोजनको अध्ययन अझै अघि बढेको छैन । 

केरुङसम्म रेल नआउँदा चीनको बेवास्ता 
चीनतर्फ हाल सिगात्सेसम्म मात्रै रेलमार्ग छ । काठमाडौंमा चिनियाँ रेलमार्ग ल्याउन पहिला सिगात्सेबाट केरुङसम्म रेलमार्ग ल्याउनुपर्छ । तर, सिगात्सेबाट पाँच सय ४० किलोमिटर दूरीमा रहेको केरुङसम्म अझै रेलमार्ग आइपुगेको छैन । त्यसैले गर्दा पनि चीनले रेलमार्ग विस्तारमा चुस्त रूपमा चासो नदिएको हुन सक्ने जानकारहरू बताउँछन् ।

अध्ययनपछि निर्माणको मोडालिटी 
अब गरिने आयोजनाको सम्भाव्यता अध्ययनपछि डिपिआरसमेत तयार हुनेछ । त्यसपछि मात्रै आयोजना के–कसरी बनाउने भनेर टुंगो लाग्ने मन्त्रालयका प्रवक्ता नेपाल बताउँछन् ।

‘अब यो आयोजना बनाउन ठूलो रकम लाग्ने देखिन्छ । तर, त्यति रकम नेपालले जुटाउन चुनौती छ,’ उनले भने, ‘चीनले पनि त्यति ठूलो रकम अनुदानमा नदिन सक्छ । तसर्थ, आयोजनाको अध्ययन तथा डिजाइन सकेपछि नै निर्माण तथा लगानीको मोडालिटी बन्छ ।’

यस्तो हुनेछ आयोजना 
प्रस्तावित केरुङ–काठमाडौं रेलमार्गको कुल लम्बाइ एक सय ७० किलोमिटर हुनेछ । त्यसमा नेपालखण्डमा ७२ किलोमिटर रेलमार्ग बन्नेछ । रसुवा जिल्लाबाट रेलमार्ग नेपाल प्रवेश गर्नेछ ।

यो रेलमार्ग बनाउन पाँच अर्ब ५० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । त्यसमा नेपालखण्डको रेलमार्ग बनाउन २.७५ अर्ब डलर लाग्ने पूर्वसम्भाव्यता अध्ययनले देखाएको थियो । पूर्वसम्भाव्यता अध्ययनअनुसार रेलमार्ग निर्माण गर्न कम्तीमा १५ वर्ष लाग्ने बताइएको छ ।

चीनको ग्रिन सिग्नल 
पछिल्लो समय यसमा चीनले चासो दिन थालेको सरकारी अधिकारीहरू बताउँछन् । पछिल्लो समय चिनियाँ पक्षहरूले रेलमार्ग अध्ययनबारे चासो देखाउँदै इमेल पठाउन थालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले बताए । ‘विशेष गरी कोरोनाका कारण चीनले यसमा तत्काल काम सुरु गर्न सकेनजस्तो लाग्छ । यद्यपि, अहिले चीनले यसमा चासो देखाएको छ,’ उनले भने, ‘पछिल्लो समय नेपालमा कोरोनाविरुद्धको के–कस्ता पोर्टकल छन्, त्यसबारे बुझ्न खोजेको छ । साथै, रेलमार्गको अध्ययनबारे सोधपुछ भएको छ । समग्रमा अब चीनले फिल्डमै आएर रेलमार्गको अध्ययन गर्ने संकेत देखाएको छ ।’

सुझावित समाचार