बिमा सरेन्डर र ल्याप्समा प्राधिकरणको अध्ययन : २३ प्रतिशत बिमितले आर्थिक कठिनाइका कारण गरे बिमा सरेन्डर

आइतबार, ६ मंसिर, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- आर्थिक कठिनाइका कारण जीवन बिमालेख सरेन्डर र ल्याप्स गर्नेको हिस्सा धेरै देखिएको छ । नेपाल बिमा प्राधिकरणले बिमा सरेन्डर र ल्याप्स सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

पछिल्लो समय नेपालमा बिमा सरेन्डर र ल्याप्स उच्च दरमा हुने गरेको छ । गत आव ०८२/८३ मा १३ अर्ब ७७ करोड १९ लाख रुपैयाँबराबरको ९० हजार तीन सय ८७ वटा पोलिसी सरेन्डर भएको छ । नवीकरण नभई बसेको बिमालेखको संख्या भने १० लाख ३० हजार ४० रहेको छ । त्यसको रकम ३९ अर्ब २४ करोड ७२ लाख रुपैयाँ छ । यसरी पोलिसी सरेन्डर तथा ल्याप्स हुनुमा बहुआयामिक कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रवितेदनअनुसार २३ प्रतिशतले आर्थिक कठिनाइका कारण बिमाशुल्क तिर्न नसकेको बताएका छन् । अध्ययनका क्रममा बिमालेख सरेन्डर तथा ल्याप्स गरेका चार सय ९८ जनासँग तथ्यांक संकलन गरिएको थियो । त्यसमा एक सय १६ जनाले आर्थिक कठिनाइका कारण बिमा सेवा छोडेको बताएका छन् ।

अनुसन्धानका क्रममा उनीहरूले ‘रोजगारी गुमेको, महँगी बढेको वा आम्दानी घटेका कारण नियमित बिमा शुल्क (प्रिमियम) तिर्न नसकेको बताएका छन् । यस्तै, आकस्मिक नगद आवश्यकताका कारण बिमालेख सरेन्डर गर्नेको हिस्सा १८ प्रतिशत देखिएको छ । अनुसन्धानमा सहभागी ९० जनाले उपचार, शिक्षालगायतमा आकस्मिक आवश्यकता पूरा गर्न छिटो नगद पाउने उद्देश्यअनुरूप बिमालेख समर्पण गरेको बताएका छन् ।

राम्रो लगानी पाएर बिमा छोड्ने १३ प्रतिशत
बिमाभन्दा राम्रो प्रतिफल दिने क्षेत्र पाएको भन्दै बिमालेख सर्मपण गर्ने पनि देखिएका छन् । यसको हिस्सा १३ प्रतिशत छ । अनुसन्धानमा उनीहरूले ‘मैले अझ बढी वा छिटो प्रतिफल दिने अर्को वित्तीय उपकरण’ भेटाएर बिमालेख समर्पण गरेको बताएका छन् । यस्तो जवाफ दिनेको बिमितको संख्या ६७ रहेको छ ।

१२ प्रतिशतले भने कम बिमा सचतेनाका कारण बिमा सेवाबाट बाहिरिएको अनुसन्धानले देखाएको छ । अनुसन्धानमा ५८ जनाले ‘मैले यस बिमा लेखका सर्तहरू, व्यतीत हुँदाका नतिजा वा यसको मूल्य पूर्ण रूपमा बुझिनँ’ भनेर जवाफ दिएका छन् ।

जीवनमा परिवर्तन आउँदा पनि बिमा त्याग
विवाहलगायतका कारण जीवनमा आउने परिवर्तनले पनि बिमालेख सरेन्डर तथा ल्याप्स हुने गरेको छ । यसको हिस्सा ११ प्रतिशत देखिएको छ । अध्ययनमा क्रममा सोबराबरको बिमितले ‘विवाह, परिवारको सदस्य विदेश जाँदा वा छोराछोरी हुर्कँदै जाँदा यो बिमालेख अनावश्यकजस्तो लाग्यो’ भन्ने विकल्प छनोट गरेका छन् । यस्तो विकल्प छनोट गर्नेको संख्या ५७ प्रतिशत छ ।

अभिकर्ताको कमजोर भ्रामक प्रचारले बिमा छोड्ने ९ प्रतिशत
प्रतिवेदनअनुसार अभिकर्ताको कमजोर सेवाका कारण बिमा छोड्नेको हिस्सा नौ प्रतिशत रहेको छ । अध्ययनमा ४५ जनाले ‘मेरो अभिकर्ताले भ्रामक जानकारी दिएका, मलाई बेवास्ता गरेका वा भुक्तानीबारे सम्झाउन नआएका कारण मैले विश्वास गुमाएँ’ भन्ने विकल्प छनोट गरेका छन् । त्यस्तै, सामाजिक प्रभावमा परेर बिमा सेवाबाट बाहिरिनेको हिस्सा पनि नौ प्रतिशत रहेको छ । अध्यनमा ४५ जनाले ‘परिवारका सदस्य वा नजिकका साथीले सल्लाह दिएका वा उनीहरूले पनि त्यस्तै गरेका कारण मैले रद्द गरेँ’ भन्ने विकल्प रोजेका छन् ।

कम्पनीसँग असन्तुष्टि पनि कारण 
अध्ययनअनुसार पाँच प्रतिशतले बिमा छोड्नुको कारण कम्पनीसँगको असन्तुष्टि देखाएका छन् । अध्ययनमा पाँचजनाले २४ जनाले ‘म कम्पनीको बोनस दर, दाबी भुक्तानी प्रक्रिया वा ग्राहक सेवाबाट असन्तुष्ट थिएँ’ भन्ने विकल्प रोजेका छन् ।

यस्ता छन् अध्ययनका सुझाव

बिमितलाई आर्थिक भार पर्ने गरी बिमा गराउन नहुने
अध्ययनमार्फत बिक्रीपूर्व बिमाको अनिवार्य उपयुक्तता मूल्यांकन गर्न सुझाव दिइएको छ । ‘प्राधिकरणले कुनै पनि बिमालेख जारी गर्नुअघि मानकीकृत वित्तीय अन्डरराइटिङ र उपयुक्तता जाँच सूची अनिवार्य गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘बिमकले सम्भावित ग्राहकको आयको स्थिरता र विद्यमान दायित्वको मूल्यांकन गर्नुपर्छ । ग्राहकको वास्तविक दीर्घकालीन खर्चयोग्य आम्दानीभन्दा बढी प्रिमियम दायित्व हुने गरी बिमा बेच्न अभिकर्तालाई रोक लगाउनुपर्छ, जसले गर्दा आर्थिक क्षमता नपुगेर बिमा छोड्ने प्रवृत्ति कम हुन्छ ।’

परम्परागत बिमालाई पुनः डिजाइन गर्न सुझाव
अध्ययनमार्फत बिमा योजना पुनः डिजाइन गर्न सुझाव दिइएको छ । ‘कम्पनीहरूले संरचनात्मक सम्झौता लचिलोपन समावेश गर्न परम्परागत सावधिक बिमा योजनाको पुनः डिजाइन गर्नुपर्छ । अस्थायी आर्थिक संकट व्यहोरिरहेका ग्राहकका लागि बिमा लेखमा स्वतः राहत मिल्ने व्यवस्था हुनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यसमा नीति पूर्ण रूपमा व्यतीत हुन दिनुको सट्टा लचिलो प्रिमियम भुक्तानी अवधि, घटाइएको चुक्ता बिमा लेखमा स्वतः रूपान्तरण हुने व्यवस्था वा अस्थायी प्रिमियम होलिडेजस्ता विकल्प समावेश हुनुपर्छ ।’

शाखामै ग्राहक संरक्षण डेस्क राख्न सुझाव
अध्ययनले शाखा कार्यालयमै ग्राहक संरक्षण डेस्क राख्न सुझाव दिएको छ । अभिकर्तामा निर्भर ग्राहक मोडेलबाट कम्पनीमाथि उठ्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । ‘कम्पनीहरूले अभिकर्तामा निर्भर ग्राहक मोडेलबाट बाहिर निस्कँदै शाखा तहमा छुट्टै ग्राहक संरक्षण तथा सेवा डेस्क स्थापना गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यी इकाइहरूले स्वचालित पूर्व–चेतावनी प्रणालीमार्फत बिमा छोड्ने जोखिममा रहेका ग्राहकको निगरानी गर्नुपर्छ । निष्क्रिय वा पेसा छोडेका अभिकर्ताका कारण अलपत्र परेका खाताको प्रत्यक्ष व्यवस्थापन र सेवा प्रवाह गरी ग्राहकले नियमित नवीकरण रिमाइन्डर र ग्राहक सहयोग पाउने सुनिश्चित गर्नुपर्छ ।’

बिमितले पाँच वर्ष, १० वर्ष, १५ वर्षजस्ता निश्चित अवधि तोकेर बिमा गरेका हुन्छन् । त्यसका लागि वार्षिक रूपमा किस्ता तिर्नुपर्छ । यदि, सम्झौता अवधिभर बिमालाई निरन्तरता दिन नचाएमा बिमितले आवश्यक प्रक्रिया पूरा गरेर पोलिसि बन्द अर्थात् गर्न सक्नेछन् । बिमितले त्यही अवधिसम्म तिरेको बिमाशुल्क र आर्जित बोनस फिर्ता पनि पाउनेछन् ।

बिमितले वार्षिक रूपमा तोकिएको बिमाशुल्क कम्पनीलाई तिर्नुपर्छ । तर, बिमितले त्यस्तो बिमालेख सरेन्डर गरेनन् र बाँकी किस्ता पनि तिरेनन् भनेर व्यतीत भएर बसेको हुन्छ । व्यतीत भएपछि बिमालेखले बिमितको जोखिम रक्षावरण गर्दैन । यद्यपि, बिमितले कुनै पनि वेला बक्यौता तिरेर बिमालेख सक्रिय बनाउन सक्नेछन् ।

बिमालेख पुनः सक्रिय बनाउने प्रक्रिया सरल 
अध्ययनले बिमालेख पुनः सक्रिय बनाउने प्रक्रिया सरल बनाउन सुझाव दिएको छ । ‘बिमकले व्यतीत भएको बिमा सम्झौता पुनः सक्रिय गराउन आवश्यक प्रशासनिक प्रक्रियालाई सरल र डिजिटलाइज गर्नुपर्छ । झन्झटिलो कागजी प्रक्रिया हटाउनुपर्छ र आफ्नो बिमा सुरक्षा पुनः प्राप्त गर्न चाहने ग्राहकलाई सहज बनाउन आर्थिक मन्दीको समयमा म्याद नाघेको प्रिमियममा लाग्ने चर्को ब्याज जरिवाना निकै कम गर्ने वा मिनाहा गर्ने व्यवस्था गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ । यस्तै, आधारभूत तहमा बिमा साक्षरता अभियान सञ्चालन गर्न पनि सुझाव दिइएको छ ।

सुझावित समाचार