उपत्यकाको नमुना वडा कार्यालय : सेवाग्राही लिन घरैमा पुग्छ वडाको गाडी

बुधबार, १४ मंसिर, २०७९
डिजिटल संस्करण

ललितपुर महानगरपालिका–३ को विद्युतीय गाडी हरेक दिन बिहान नौ बजेदेखि १० बजेसम्म सेवाग्राही खोज्दै वडाभरि चक्कर मार्छ

सेवाग्राही लिन वडा कार्यालयको गाडी घरघरमै पुग्छ भनेको सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । किनकि अधिकांश वडा कार्यालय वा सरकारी कार्यालयमा सेवाग्राही जाँदा सामान्य काममा धेरै दुःख पाएका उदाहरण छन् । तर, ललितपुर महानगरपालिका वडा नम्बर ३ को गाडी बिहान नौ बजेदेखि १० बजेसम्स सेवाग्राही खोज्दै वडाभरि चक्कर मार्छ । वडाको यो विद्युतीय भ्यान सेवाग्राही लिन र घरैमा पुर्‍याउनसमेत जान्छ । उक्त विद्युतीय गाडीमा ६–७ जना चढ्न मिल्छ । 

घरनजिकको सरकारलाई स्थानीयले महसुस गर्नुपर्छ : श्रीगोपाल महर्जन, वडाध्यक्ष

हामीले एउटा वडाले दिनुपर्ने न्यूनतम सुविधा वडावासीलाई दिएका छौँ । वडावासीबाट कर मात्रै उठाउने र सेवा नदिँदा उहाँहरूलाई पनि चित्त बुझ्दैन । घरनजिकको सरकारलाई स्थानीयले महसुस पनि गरेको हुनुपर्छ ।

अन्य समयमा उक्त भ्यानलाई ललितपुरको सानेपास्थित वडा कार्यालय प्रांगणमा पार्किङ गरिन्छ । सेवाग्राहीकै सहजताका लागि खरिद गरिएको उक्त भ्यानले सहज बनाएको वडाध्यक्ष श्रीगोपाल महर्जनले बताए । ‘हामीले एउटा वडाले दिनुपर्ने न्यूनतम सुविधा वडावासीलाई दिएका छौँ,’ उनले भने, ‘वडावासीबाट कर मात्रै उठाउने, तर सेवा नदिने गर्नु त भएन नि ?’ यसरी सेवाग्राहीलाई छुट्टै गाडी सुविधा दिने उपत्यकाकै एक मात्र वडा कार्यालय हुन सक्छ । यसबाहेक पनि यो वडा कार्यालय वडावासीलाई सेवा–सुविधा दिन निकै अगाडि छ । 

वडाले प्रशासनिक सुविधाबाहेक थप २२ प्रकारमा सुविधा दिँदै आएको छ । एकल पुरुषलाई भत्ता वितरण, वडा कार्यालयबाट नि:शुल्क कानुनी परामर्श, गर्भवतीका लागि मासिक एक हजार पौष्टिक भत्ता, ७० वर्षभन्दा माथिका व्यक्तिलाई घरघरमै वडाको प्रशासनिक सुविधा, शववाहन सुविधा र दुई हजार किरिया खर्चलगायत सुविधा दिँदै आएको छ । 

म:मदेखि खाद्य स्टोरसम्म सञ्चालन, तीन सयभन्दा बढीलाई रोजगार  
वडा कार्यालयले स्थानीयवासीका लागि प्रवाह गर्दै आइरहेका सुविधा उनीहरूको दैनिक जीवनसँग सम्बन्धित छन् । स्वरोजगार कार्यक्रमअन्तर्गत पुल्चोक, धोबीघाट र ज्वागलमा वडा खाद्यस्टोर, हाइजेनिक वार्ड मःम पसल, सुपथ मूल्य पसल, प्याकेट मसला बिक्री पसललगायत सञ्चालन गर्दै आइरहेको छ । यी पसलका सामनाको मूल्य निर्धारण पनि वडाले गर्छ । अन्य पसलमा भन्दा यहाँ कम मूल्यमा दैनिक आवश्यक खाद्यवस्तु बिक्री–वितरण गर्दै आइरहेको वडाध्यक्ष महर्जनले बताए । ‘हामीले यस्ता व्यवसाय सञ्चालन गरेर तीन सयभन्दा बढी स्थानीयलाई रोजगारी पनि दिएका छौँ,’ उनले भने, ‘यसलाई अझ विस्तार गर्दै लैजान्छौँ ।’ उनका अनुसार वडाकै बजेट र अनुदानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको हो । यसबाहेक वडाले २४सै घन्टा नि:शुल्क एम्बुलेन्स सेवा पनि प्रदान गर्दै आइरहेको छ । 

यी हुन् वडाले दिने फरक सुविधा 

  • नि:शुल्क विद्युतीय गाडी सुविधा 
  • एकल पुरुष भत्ता (मासिक दुई हजार) 
  • ढल सफा गर्न जेट मेसिन 
  • विपन्न परिवारका लागि धारा, बत्ती र नि:शुल्क शिक्षा 
  • एक व्यक्ति एक वडा स्वास्थ्य परिचयपत्र 
  • वडा कार्यालयबाट नि:शुल्क कानुनी परामर्श 
  • गर्भवतीका लागि मासिक एक हजार रुपैयाँ (पौष्टिक भत्ताका लागि) 
  • ७० वर्षभन्दा माथिका व्यक्तिलाई घरघरमै वडाको प्रशासनिक सेवा ।
  • शववाहन सुविधा र दुई हजार किरिया खर्च 
  • व्यक्तिगत घटना दर्ता (जन्म, विवाह, मृत्यु, बसाइँसराइ र सम्बन्धविच्छेद) गर्न आउँदा पाँच सय भत्ता 
  • निदान, सुमेरु, मेघा, ब्लड अस्पतालमा १५ देखि २५ प्रतिशतसम्म छुट 
  • आवश्यक पर्दा भाडामा सिसी क्यामरा प्रयोगलगायत  

सुझावित समाचार