जहाँ स्वतन्त्रले बाजी मारे

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

दलका उम्मेदवारलाई हराउँदै प्रतिनिधिसभातर्फ पाँच र प्रदेश सभातर्फ १० स्वतन्त्र उम्मेदवारले जिते चुनाव

सत्तारुढ र विपक्षी गठबन्धन चुनावी मैदानमा होमिँदासमेत केही स्वतन्त्र उम्मेदवारले बाजी मारेका छन् । त्यसमध्ये अधिकांश बागीउम्मेदवार छन् । एकजना स्वतन्त्र त निर्विरोध नै भएका छन् । 

बिहीबार रातिसम्मको मतपरिणामअनुसार संघ र प्रदेशमा गरी १५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । चार उम्मेदवार विजय नजिक छन् । प्रभु साहलाई सत्तारुढ गठबन्धनले समर्थन गरे पनि अन्य उम्मेदवार आफ्नै बलबुतामा चुनावी मैदानमा थिए ।

सर्लाही ४ : अमरेशकुमार सिंह (कांग्रेसले उम्मेदवार नबनाएपछि बागी उठेर विजयी)

सर्लाही ४ स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् । कांग्रेसले टिकट नदिएपछि निवर्तमान सांसद सिंह स्वतन्त्र उम्मेदवार बनेका थिए । सिंह २० हजार १७ मत ल्याएर विजयी हुँदा सत्तारुढ गठबन्धनबाट कांग्रेसका नागेन्द्र कुमारले १८ हजार २५३ मत ल्याएका छन् । 

रौतहट : ३ प्रभु साह (एमालेबाट टिकट लिएर पछि स्वतन्त्र उम्मेदवार दिई विजयी)
रौतहट ३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन् । एमालेबाट टिकट लिए पनि साहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका थिए । उनलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको थियो । उनले ३२ हजार ४३७ मत ल्याउँदा अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले २५ हजार दुई सय मत ल्याएका छन् ।

रौतहट २ : किरणकुमार साह
रौतहट २ मा स्वतन्त्र उम्मेदवार किरणकुमार साह विजयी भएका छन् । प्रभु साह समूहका किरणले सत्तारुढ गठबन्धनका फिरदोस आलमलाई पराजित गरेका हुन् । किरणले ३२ हजार ८४२ र आलमले २८ हजार २४८ मत ल्याएका छन् ।

मोरङ ५ : योगेन्द्र मण्डल (एमाले–जसपा गठबन्धनका कारण टिकट नपाएपछि उम्मेदवारी दिएर विजयी)
मोरङ ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन् । मण्डल २१ हजार ८२० मतसहित निर्वाचित भएका हुन् । एमालेले टिकट नदिएपछि योगेन्द्र स्वतन्त्र उठेकाथिए । दोस्रो स्थानमा आएका जनता समाजवादी पार्टीका राजकुमार यादवले १७ हजार ४८६ मत ल्याएका छन् । एमालेले यादवलाई समर्थन गरेको थियो । तेस्रो स्थानमा आएका माओवादीका शिवकुमार मण्डलले १७ हजार ३९० मत ल्याएका छन् । शिवकुमारलाई सत्तारुढ गठबन्धनको साथ थियो ।

बर्दिया २ : लालवीर चौधरी (नागरिक उन्मुक्ति पार्टीको सहयोगमा जित)
रेशम चौधरीका बुबा लालवीर चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । रेशमको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उन्मुक्ति पार्टीको आधिकारिक उम्मेदवार लालवीर भएका थिए । लालवीरले २६ हजार ५२० मत ल्याउँदा माओवादीका सुरेश पन्थले २६ हजार ३८४ मत ल्याएका थिए । एमालेका पंकजसिंह राठौर १६ हजार ९० मतसहित तेस्रो स्थानमा आएका छन् । 

प्रदेश सभामा कहाँको विजयी ?

डडेलधुरा (ख) : ताराप्रसाद जोशी
डडेलधुरा (ख) मा ताराप्रसाद जोशी निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादीको भागमा डडेलधुरामा कुनै पनि क्षेत्र नपरेपछि उनले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । यद्यपि, एकीकृत समाजवादी डडेलधुराले उनलाई समर्थन गरेको थियो । जोशीले ११ हजार १६२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका गोविन्दराज बोहरा १० हजार सात सय ३७ मत ल्याएर दोस्रो स्थानमा सीमित भए । एमालेका गजेन्द्रबहादुर शाही एक हजार ५३५ मत ल्याएर तेस्रो भएका छन् ।

रौतहट ३ (क) : केशव राय निर्वाचित
रौतहट ३ (क) केशव राय निर्वाचित भएका छन् । उनी प्रभु साह समूहका हुन् । उनले जसपाका पूजा चौधरी र एकीकृत समाजवादीका नागेन्द्र रायलाई पराजित गरेका हुन् । केशवले १२ हजार २५५ मत ल्याउँदा पूजाले १० हजार १३२ र नागेन्द्रले सात हजार ६२२ मत ल्याएका छन् । 

सर्लाही ३ (क) : जवाहरलाल कुशवाह
माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र उठेका जवाहरलाल कुशवाह सर्लाही ३ (क)बाट विजयी भएका छन् । उनले एमालेका गणेशप्रसाद प्रसाईंलाई एक हजार ४३० मतान्तरले पराजित गरे । कुशवाहले १६ हजार ५९१ र प्रसाईंले १५ हजार १६६ मत ल्याएका छन् । एकीकृत समाजवादीका डिल्लीप्रसाद उप्रेतीले ५ हजार ३५४ मत ल्याएका छन् ।

नवलपरासीपश्चिम (क) : खड्ग बस्नेत
नवलपरासी पश्चिम (क) खड्ग बस्नेत निर्वाचित भएका छन् । निर्वाचनको केही समयअघि माओवादी त्यागेर उनी स्वतन्त्र उठेका थिए । उनले १२ हजार ४४९ मत ल्याएर विजयी हुँदा राप्रपाका आशिष प्रधानले १२ हजार ३७८ मत ल्याए । यो क्षेत्रमा माओवादी उम्मेदवार चिनक कुर्मी छैटौँ नम्बरमा आएका छन् । 

रुकुम पूर्व (क) : सुरुल पुन
रुकुमपूर्व (क) मा सुरुल पुन निर्वाचित भएका छन् । सत्तागठबन्धनका साझा उम्मेदवार माओवादीका तेजबहादुर ओलीलाई ५३३ मतले पराजित गर्दै पुन विजयी भएका हुन् । पुनले चार हजार ४६५ मतप्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी ओलीले तीन हजार ९३२ मत प्राप्त गरेका छन् । ओली माओवादीका पोलिटब्युरो सदस्य हुन् भने पुन माओवादीका लुम्बिनी प्रदेश समिति सदस्य थिए । स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादीले पुनलाई कारबाही गरेको थियो । 

बारा २ (क) : शारदा शंकरप्रसाद कलवार
बारा २ (क) बाट स्वतन्त्र उम्मेदवार शारदा शंकरप्रसाद कलवार विजयी भएका छन् । एमाले–जसपा तालमेलविरुद्ध जसपाका कलवारले बागी उम्मेदवारी दिएकाथिए । कलवार दुई हजार ४२८ मतको मतान्तरले विजयी भएका हुन् । कलवारले नौ हजार २९५ र एमालेका बलवीर चौधरीले ६ हजार ८६७ मत ल्याएका छन् ।

रोल्पा (ख) : दिपेन्द्रकुमार पुन मगर 
रोल्पा (ख) मा दिपेन्द्रकुमार पुन मगर निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनमा यो क्षेत्र कांग्रेसको भागमा परेपछि पुन मगरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले १४ हजार ९२७ मत ल्याई विजयी हुँदा सत्तारुढ गठबन्धनबाट कांग्रेसका अमरसिंह पुनले १० हजार ४०६ मत ल्याएका छन् । तेस्रो स्थानमा आएका एमाले उम्मेदवार प्रेमबहादुर घर्तीमगरले आठ हजार ८०३ मत ल्याएका छन् ।

जुम्ला (क) : देवेन्द्रबहादुर शाही
कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । देवेन्द्र एक हजार ८९९ मतान्तरसहित निर्वाचित भएका हुन् । देवेन्द्रले नौ हजार ६५४ र ललितजंगले सात हजार ७५५ मत ल्याएका छन् । ललितजंगलाई माओवादी र एकीकृत समाजवादीको साथ थियो । देवेन्द्र ०७४ मा कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचन लडेकोमा माओवादीका गजेन्द्र महतसँग पराजित भएका थिए । उनी कांग्रेसभित्र संस्थापनइतर पक्षधरका रूपमा चिनिन्छन् । 

महोत्तरी २ (ख) : सुरिताकुमारी साह
महोत्तरी २ (ख) बाट स्वतन्त्र उम्मेदवार सुरिताकुमारी साह निर्वाचित भएकी छन् । लोकतान्त्रिक समाजवादी पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेकी साहले कांग्रेसका नागेश्वर यादवलाई पराजित गरिन् । उनले ८५६८ मत ल्याइन् । गठबन्धनका साझा उम्मेदवार यादवले ६२०२ मत ल्याए । 

 

सुझावित समाचार