मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक २६ शनिबार ०८:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक २६ शनिबार ०८:४६:००

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको भ्रमण गरेर स्वदेश फर्किएकी छिन् । राष्ट्रपति भण्डारी शनिवार बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका हुन् ।  आइसल्याण्ड भ्रमणमा रहेकी भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले आइसल्याण्ड भ्रमणका क्रममा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी थिइन् ।  विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लूपीएल) ले गत बुधवार राष्ट्रपति भण्डारीलाई अवार्डले सम्मान गरेको थियो । डब्लूपीएलका संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले राष्ट्रपति भण्डारीलाई अवार्डबाट सम्मान गर्नुभएको थियो । आइसल्याण्ड भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न देशका राजनीतिक व्याक्तित्वहरुसँग पनि भेट गरेकी थिइन् ।

 आइसल्याण्डमा आयोजित विश्वका महिला राजनीतिज्ञहरुको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’को कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मानव अधिकार, समानता र भेदभावरहीत सिद्धान्तहरुलाई अंगीकार गर्दै नेपालले समानता र न्यायपूर्ण समाज निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक प्रवन्धहरुमा लगानी गरिरहेको बताएकी थिइन् । उनले नेपालले संघीय र प्रादेशिक विधायिकाहरुमा एक तिहाई महिलाहरुको प्रतिनिधिको सुनिश्चित गरेको तथा त्यसका लागि आवश्यक सुदृढ संवैधानिक व्यवस्था गरेको बताएकी थिइन् ।

नेपालमा निजामती सेवा, सुरक्षा निकाय, सरकारी तथा निजी संस्थानहरुजस्ता क्षेत्रमा महिलाहरुको सहभागिता तथा प्रतिनिधित्वमा अभिवृद्धि भइरहेको र सबै प्रकारका लैङ्गिक हिंसा, पूर्वाग्रह, तथा कुरीतिबिरुद्धको लडाई जित्न बाँकि नै रहेको उल्लेख गर्दै नेपालले त्यसका लागि अटल र इमान्दार प्रयासलाई जारी राख्ने प्रतिवद्धतासमेत व्यक्त गरेकी थिइन् ।  राष्ट्रपति भण्डारी गत सोमवार आइसल्याण्ड प्रस्थान गरेकी थिइन् ।