१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:४३:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं ४ : गगन–राजनको रोचक भिडन्त

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४३:oo

निर्वाचित भए संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने गगनको सपना, अघिल्लो हारको बदला लिँदै संसद् पस्ने राजनको योजना

अब ड्राइभिङ सिटमा बसेर पाँच वर्ष देश सञ्चालन गर्ने प्रयत्न गर्छु : गगन थापा (कांग्रेस)

देशलाई चाहिएको ठूलो परिवर्तन राजनीतिक नेतृत्व परिवर्तनविना सम्भव छैन । यो परिवर्तनका लागि यसपटक मौका पाएका छौँ । म यस क्षेत्रको मात्रै सांसद हुन आएको होइन । मेरो प्रयत्न अब ड्राइभिङ सिटमा आफैँ बसेर पाँच वर्ष देश सञ्चालन गर्ने हुनेछ । यसका लागि संसदीय प्रक्रियाअनुसार पहिला सांसद जितेर जानुपर्छ । हामी गठबन्धनमा उभिएकै कारण संविधानको रक्षा भयो, निर्वाचन पनि भयो । अब हामीले चुनाव पनि जित्दै छौँ । हामीलाई अब पाँच वर्ष खेर फाल्ने सुविधा हुनेछैन ।

भ्रष्टाचार नियन्त्रण, विदेश नीतिलाई सन्तुलित गर्ने मेरो प्राथमिकता : (राजन भट्टराई एमाले)

एमालेको घोषणापत्र नै मेरो आधारभूत एजेन्डा हो । खासगरी राष्ट्रिय हित र राष्ट्रिय मामलामा अडान लिने, सीमा व्यवस्थापन, सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, विदेश नीतिलाई सन्तुलित गर्ने मेरो प्राथमिकता हुनेछ । यस्तै, समृद्धि नेपाल र सुखी नेपालीको अवधारणा कार्यान्वयन, निर्वाचन क्षेत्रका समस्या समाधानलाई मैले प्राथमिकतामा राखेको छु । खानेपानी, ढल, बाटो, सम्पदा संरक्षण, पर्यटन विकास, रोजगारीको दीर्घकालीन समाधान नै हाम्रा एजेन्डा हुन् । मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको छु । 

...                                                 ...

काठमाडौं ४ देशका अन्य निर्वाचन क्षेत्रभन्दा बढी चर्चाको केन्द्रमा छ । यस क्षेत्रबाट उम्मेदवारी दिएका कांग्रेसका महामन्त्री तथा सत्तागठबन्धनका साझा उम्मेदवार गगन थापाले आफूलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका कारण पनि चर्चाको शिखरमा रहेको हो । 

यस क्षेत्रमा ०७४ कै प्रतिस्पर्धी कांग्रेसबाट थापा र एमालेका राजन भट्टराई मुख्य प्रतिस्पर्धामा छन् । थापाको प्रधानमन्त्री सपनामा भट्टराई चुनौतीको रूपमा देखिएका छन् । थापाले पनि मत माग्दै निर्वाचन क्षेत्रको कार्यकारी भूमिकाका लागि मात्रै मागिरेहेका छैनन् । ‘देशमा ठूलो परिवर्तन चाहिएको छ । तर, त्यो परिवर्तन राजनीतिक नेतृत्व परिवर्तनविना सम्भव छैन । मलाई काठमाडौं ४ को मात्रै फोहोर सफा गर्नु छैन । यसपटक मौका पाउँदै गर्दा मेरो प्रयत्न ड्राइभिङ सिटमा नै बसेर पाँच वर्ष देश सञ्चालन गर्ने हुनेछ,’ थापाले भने ।

विगतका निर्वाचन र गठबन्धनको समर्थनलाई आफ्नो जितको आधारका रूपमा उनले लिएका छन् । निर्वाचनपछि कार्यकारीको भूमिकामा हस्तक्षेप गर्ने उनी बताउँछन् । थापाले कपन डुबान समस्या समाधान, सार्वजनिक जग्गा संरक्षण, युवा रोजगारीको सुनिश्चितता, खानेपानी, ढल व्यवस्थापनलगायतलाई मुख्य एजेन्डा बनाएको बताए ।

भट्टराईले एमालेको घोषणापत्रअनुसारका एजेन्डासहित ‘समृद्ध नेपाल र सुखी नेपाली’को अवधारणा नै आफ्नो एजेन्डा रहेको बताए । ‘खासगरी राष्ट्रिय हित र राष्ट्रिय मामिलामा अडान लिने, सीमा व्यवस्थापन, विदेश नीतिलाई सन्तुतिल गर्नेतर्फ मेरो जोड हुनेछ । समृद्ध नेपाल र सुखी नेपालीको अवधारणा कार्यान्वयन, निर्वाचन क्षेत्रका समस्यामा आधारित स्थानीय एजेन्डामा काम गर्नेछु,’ उनी भन्छन्– खानेपानी, ढल, बाटो, सम्पदा संरक्षण, पर्यटन विकास, रोजगारीको दीर्घकालीन समाधान नै मेरो निर्वाचन क्षेत्र लक्षित एजेन्डा हुन् ।’ 

भट्टराई पाँच वर्षमा निर्वाचित प्रतिनिधिले प्रतिबद्धता पूरा गर्न नसक्दा मतदाताले विकल्प खोजेको र आफू पराजित भए पनि निरन्तर यसै क्षेत्रको विकासमा लागेकाले मतदाताले मूल्यांकन गरेको बताउँछन् । ‘जनताका आधारभूत आवश्यकता सडक, खानेपानी, सार्वजनिक जग्गा संरक्षण, क्याम्पस भवन निर्माण र क्षमता विस्तार, अस्पताल निर्माणमा लागि परेँ । मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको छु,’ उनी भन्छन् । 

०७४ को निर्वाचनमा थापा र भट्टराईको मतान्तर ३,४१८ मात्रै थियो । यसवेला भट्टराईलाई वामगठबन्धनमा रहेको माओवादीको साथ थियो भने थापालाई कुनै दलको साथ थिएन । अहिले एमालेबाट फुटेको एकीकृत समाजवादी र माओवादीसमेत कांग्रेसतर्फ छ । थापाले २१,५५८ मत ल्याएका थिए भने भट्टराईले १८,१४० मत पाएका थिए । ०७४ मा यस क्षेत्रमा ६३,२१५ मतदाता रहेका थिए । जसमध्ये ४४,५८९ मत खसेको थियो भने १०,४५ मत बदर भएको थियो । 

१२ वटा वडामध्ये तीन वडामा मात्रै कांग्रेसको जित

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको वडाध्यक्षको मतपरिणाम हेर्दा काठमाडौं महानगरपालिका वडा नम्बर १ र बुढानीलकण्ठ नगरपालिकाका आठवटै वडामा एमालेले जित हासिल गरेको थियो । कांग्रेसले महानगरका तीनवटा मात्र वडामा जित हासिल गरेको थियो । समग्रमा हेर्दा स्थानीय निर्वाचनमा यस क्षेत्रमा गठबन्धन दलले १८,९२१ मत र एमालेको १६,५०७ मत पाएका छन् । 

काठमाडौं ४ अन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्बर १, ७, ८, ३० र बुढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा पर्दछन् । निर्वाचन आयोगको तथ्यांकअनुसार यस क्षेत्रमा ६९,७५२ मतदाता छन् । जसमध्ये ३३,४७४ पुरुष, ३६,२७७ महिला र १ अन्य छन् ।

यस क्षेत्रमा १४ स्वतन्त्रसहित ३१ उम्मेदवार प्रतिस्पर्धामा छन् । मौलिक जरोकिलो पार्टीका उम्मेदवार नुमनाथ प्याकुरेल विगतका प्रतिनिधिले प्रतिबद्धताअनुसार काम नगरेकाले आफू मौलिक विकासको एजेन्डासहित मैदानमा आएको बताउँछन् । यस्तै, राप्रपा उम्मेदवार ठाकुरमोहन श्रेष्ठ राप्रपाको राष्ट्रिय एजेन्डासहित संस्कृति, प्रकृति र प्रविधिलाई सदुपयोग, स्वस्थ र व्यवस्थित सहर बनाउने, पारदर्शिता र सांसदमा प्रभावकारी भूमिका राप्रपाको एजेन्डा रहेको बताउँछन् । ‘यो क्षेत्रलाई देशकै नमुना क्षेत्र बनाउने एजेन्डा छ । प्रदूषण नियन्त्रण गरी स्वस्थ र व्यवस्थित सहर बनाउने, पारदर्शिता कायम गर्नेछौँ । यसबाहेक एउटा सांसदले गर्ने काम मेरो प्राथमिकतामा हुनेछ । जनताको आवाज संसद्मा चट्टानझैँ प्रस्तुत गर्नेछौँ,’ उनले भने । 

१४ स्वतन्त्रसहित ३१ प्रतिस्पर्धामा 
गगन थापा (कांग्रेस), राजन भट्टराई (एमाले), नुमनाथ प्याकुरेल (मौलिक जरोकिलो पार्टी), ध्रुवराज गिरी (आमूल परिवर्तन मसिहा पार्टी नेपाल), नवराज भण्डारी (एकीकृत शक्ति नेपाल), खुरहरि पुडासैनी (जनसमाजवादी पार्टी नेपाल), लीलामाया पौडेल (नेकपा माक्र्सवादी लेनिनवादी), रमेश डंगोल (नेपाल मजदुर किसान पार्टी), दीपककुमार पोखरेल (नेपालका लागि नेपाली पार्टी), श्यामबाबु गौतम (पुनर्जागरण पार्टी नेपाल), लालकुमारी थापा राना (मंगोल नेसनल अर्गनाइजेसन), राजेश भारती (मितेरी पार्टी नेपाल), चेतबहादुर आले (राष्ट्रिय जनमुक्ति पार्टी), डा. ठाकुरमोहन श्रेष्ठ (राप्रपा), भानुकुमार खड्का (लोकतान्त्रिक समाजवादी पार्टी नेपाल), पिकेश परियार (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च), अर्चनशमशेर राणा (हाम्रो नेपाली पार्टी) स्वतन्त्र उम्मेदवारः थर्कबहादुर बस्नेत, श्यामराज भेटवाल, कृष्णकुमार तामाङ, अर्जुनकुमार प्रसाईं, शिवेन्द्र केसी, काजीबहादुर कार्की, रुद्रप्रसाद पौडेल, रवीन्द्रदेव ढकाल, नवराज थापा, हेमबहादुर बोम्जन, महेश्वर केसी, रोहित डंगोल, रोशन बर्मा, दिनेश चौलागाईं । 

प्रदेश सभाका उम्मेदवारहरू प्रदेशमा चार स्वतन्त्रसहित १५ उम्मेदवार
प्रदेश सभा (क) : श्रीराम लामिछाने (कांग्रेस), तेजप्रसाद ढकाल (एमाले), गणेशमाया डंगोल (नेमकिपा), श्यामकुमार भट्टराई खत्री (नेपालका लागि नेपाली पार्टी), रमेश रसाइली (राष्ट्रिय जनमुक्ति पार्टी), रिद्धिप्रताप जंगबहादुर राणा (राप्रपा), इन्द्रबहादुर लामा (स्वतन्त्र)

प्रदेश सभा (ख) : कुसुमकुमार कार्की (एकीकृत समाजवादी), जयराम थापा(एमाले), श्याम श्रेष्ठ (नेमकिपा), पुण्यलाल श्रेष्ठ (राप्रपा), राजन राउत (राप्रपा नेपाल) र स्वतन्त्रतर्फ अमृता त्रिपाठी, कृष्णकुमार भट्टराई र भूपेन्द्र भट्टराई । 

निर्वाचन क्षेत्रका मतदाता भन्छन्–दलहरूको घोषणापत्रलाई पत्याउने अवस्था छैन 
काठमाडौं ४ का मतदाता सहरी क्षेत्रमा मुख्य समस्यालाई दलहरूले समेटे पनि त्यसलाई पत्याउने आधार भने नरहेको बताउँछन् । उनीहरू घोषणापत्रमा सहरी क्षेत्रका मुख्य समस्या पानी, ढल रोजगारी, विकास निर्माणलगायतका विषयलाई घोषणापत्रमा समावेश गर्ने गरेको तर, कार्यान्वयनका सन्दर्भमा त्यसलाई पत्याउन नसकिने गुनासो गर्छन् । काठमाडौं ४ का मतदाता वसन्तराज गौतम यस क्षेत्रको सन्दर्भमा सहरी समस्याबाहेक दलहरूले युवालाई रोजगारी र भविष्यको सुनिश्चितता गर्न हुन नसकेको देख्छन् । ‘प्रमुख दलहरूले घोषणापत्रमा समावेश गरेका छन् । तर, कार्यान्वयनका सन्दर्भमा विश्वास गर्ने ठाउँ छैन,’ उनी भन्छन् । 

अर्का मतदाता इन्द्रबहादुर डाँगी विकासका क्षेत्रमा समन्वयात्मक अभाव रहेको बताँउछन् । उनी विकास निर्माणका काममा सरकारी निकायबीच समन्वय कायम गराउन जनप्रतिनिधि चुकेको बताउँछन् । ‘विकास नै भएन भन्ने होइन, तर भइरहेका काममा जिम्मेवार निकायबीच समन्वय भइरहेको हुँदैन । खानेपानी, ढल व्यवस्थापन, कपन क्षेत्रको डुबान यहाँका समस्या हुन् । तर, समाधानका काम भइरहँदा समन्वय देखिँदैन,’ उनले भने । मतदाता सुशीला पौडेल काठमाडौं ४ मा बढ्दो सहरीकरणलाई व्यवस्थापन गर्न नसकिँदा भएका पूर्वाधार अभावको अवस्था रहेको बताउँछिन् । ‘यस क्षेत्रमा बसाइँसराइ गरेर आउनेको संख्या धेरै छ । 

ad
ad