१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:४८:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिद्धबाबा सडक : ०४८ सालदेखिकै भोट माग्ने हतियार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:४८:oo

मानिसको ज्यान लिने सिद्धबाबा सडक सुधार गर्ने आश्वासनसहित जिल्लाका उम्मेदवारले बर्सेनि भोट माग्ने हतियार बनाए पनि जितेपछि बेवास्ता गर्दै आएका छन् । ०४८ देखि ०७९ सम्म विभिन्न पार्टीका उम्मेदवारले चुनावी एजेन्डा बनाए पनि सुधार नहुँदा जनतासमेत निराश बनेका छन् ।

तानसेन– ५ कैलाशनगरका प्रेमबहादुर बुढामगरले ०४८ सालको चुनावमा समेत सिद्धबाबा सडक बनाइदिने आश्वासन दिएर भोट मागेको र अहिलेसम्म पनि त्यही वाचा गर्ने गरेको सम्झन्छन् । ‘०४८ सालको चुनावमा पनि मलाई भोट दिनुहोस् सिद्धबाबा सडक बनाइछाड्छौँ भनेका हुन्, तर बाटोको हालत झनै बिजोग बन्दै गएको छ,’ बुढामगरले भने, ‘अहिलेसम्म कतिजनाको अनाहकमा ज्यान गयो लेखाजोखा छैन ।’ बगनासकाली गाउँपालिका– ८ बराँदीका रवीन्द्र घिमिरेको पनि त्यस्तै अनुभव छ । घिमिरे भन्छन्, ‘पाल्पाको विकासको बाधक बर्सेनि ज्यान गुमाउनुपर्ने सिद्धबाबा सडक पटकपटक जितेका पाल्पाका जनप्रतिनिधिले बनाउन वास्ता गरेनन्, अब यिनीहरूबाट बन्छ भन्ने आशा छैन, बनाउने भए केही लक्षण देखिने थियो, यो भोट माग्ने हतियार मात्रै भयो ।’

पाल्पाबाट प्रतिनिधित्व गरेका सांसदहरूले प्रयास नगरेका कारण सिद्धबाबा सडक सुधारसम्म हुन नसकेको जानकार बताउँछन् । प्राध्यापक तथा मानव अधिकारकर्मी दिवाकर पाण्डेले नेताहरूले जनतालाई चुनावमा भोट माग्नका लागि मात्रै प्रयोग गरेको आरोप लगाए । उनी भन्छन्, ‘बनाउँछु भन्न कहिल्यै छोडेनन्, बनाउन पनि कहिल्यै चाहेनन् ।’

अहिले पनि सिद्धबाबा सडक बनाउने आश्वासन
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको चुनावमा पनि उम्मेदवारहरू सिद्धबाबा सडक बनाउन भोट दिनुपर्ने भन्दै पुरानै मुद्दालाई देखाएर जनतासम्म पुगिरहेका छन् । ०४८ सालदेखि सिद्धबाबाको सडक बनाउने प्रतिबद्धता आए पनि अहिले झन् खस्किँदो अवस्थामा छ । निकै जोखिमपूर्ण यात्रा गर्नुपर्ने भएकाले यो सडकलाई धेरैले ज्यानमारा सडकसमेत भन्छन् । दैनिक सानाठूला गरी पाँच हजार बढी सवारी आवागमन हुने यो मार्ग पाल्पा, अर्घाखाँची, स्याङ्जा, गुल्मी, पर्वत, बाग्लुङ, कास्कीलगायतका जिल्लालाई जोड्ने राजमार्ग हो । सिद्धार्थ राजमार्गअन्तर्गतको चार किलोमिटर सिद्धबाबा सडक क्षेत्र जोखिमयुक्त छ । वर्षा वा हिउँद जुनकुनै वेला पनि पहिरो जाने यस क्षेत्रमा प्रत्येक वर्ष आधा दर्जनभन्दा बढीले ज्यान गुमाउँछन् ।

०४८ सालको चुनावमा पाल्पाका तीनवटै क्षेत्र विजयप्राप्त गरेको कांग्रेसले विजयी भएपछिको केही कार्यक्रममा सडकको नाम जोडे पनि समाधान हुने गरी काम गर्न सकेन । ०४८ सालयता कांग्रेसका हरि नेपाल दुईपटक संसदमा पुगे । प्रत्येक चुनावमा सडक बनाउने प्रतिबद्धता गरेका प्रभावकारी काम गर्न नसकेको जनताको गुनासो छ । नेपाल मात्र होइन, ०४८ सालबाट नै चुनाव लडेका एमाले नेता दलबहादुर रानाको पनि यो बाटोको विकल्प खोज्ने विषयमा प्रभावकारी भूमिका हुन सकेन । पाँचपटक उम्मेदवारी दिएका राना चारपटक चुनाव जिते, तर आश्वासनअनुसार सिद्धबाबाको सडक निर्माणमा भूमिका खेल्न सकेनन् । भूमि सुधारमन्त्रीसमेत बनेका उनीबाट जनताले आशा गरे, तर कुनै प्रगति देख्न नपाएको गुनासो छ ।

०५१ सालदेखि नै लगातार चुनाव लडिरहेका एमाले नेता सोमप्रसाद पाण्डे अहिलेको चुनावमा पनि पाल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादी पार्टीबाट चुनाव लड्दै छन् । प्रत्येक चुनावमा सिद्धबाबा क्षेत्रको सडक बनाउँछु भन्ने आश्वासन बाँडेका पाण्डेले यसपालि पनि पुरानै मुद्दा उठाएका छन् । ०६४ सालको चुनाव मात्रै हारेका उनले चारपटक जितेका छन् । केपी शर्मा ओली प्रधानमन्त्री र विष्णु पौड्याल अर्थमन्त्री हुँदा उद्योगमन्त्रीसमेत बनेका पाण्डेले सडक सुधारको काम गर्न सकेनन् ।

प्रत्येक चुनावमा सडक बनाउँछाैँ भनेर भोट मागे पनि माओवादीले भने ०६४ सालको चुनावमा एक सिटभन्दा जित्न सकेन । प्रदेश सभामा एउटा मात्र टिकट पाएका माओवादी केन्द्रका उम्मेदवार वसन्त घर्तीले पनि सिद्धबाबा सडकलाई नारामा समेटेका थिए । तर, उनको भूमिकासमेत प्रभावकारी भएन ।

लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले पनि पाल्पा–बुटवल यात्रा गर्दाबाहेक बाटोको विषयमा ध्यान दिएनन् । राना यो चुनावमा पनि पाल्पा २ को (क) बाट लुम्बिनी प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

ध्यान नपुगेकोमा स्थानीयको चिन्ता
पटक–पटक पाल्पाबाट जितेर गए पनि यो सडकको दिगो मर्मत वा विकल्पमा कुनै ध्यान नदिएकोप्रति पाल्पाली चिन्तित छन् । पुरानै उम्मेदवार भएका कारण सडकको स्तरोन्नति हुनेमा मतदाता ढुक्क छैनन् । पाल्पालीले पटक–पटक जितेकासँग विकासको आशा नभएको प्रतिक्रिया दिएका छन् । तानसेन ५ कैलाशनगरका प्रेम लामिछाने मगरले धेरैपटकको भोटले काम नगरेका कारण जुनसुकै दलको भए पनि सडक बनाउने आशामा नयाँलाई मत दिने बताए ।

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पसप्रमुख टंक भट्टराईले पाल्पा मात्रै नभई अन्य जिल्लाका सांसदले पनि सिद्धबाबा सडकको निकास दिन नसकेको बताए । ‘यो सडकबाट पाल्पा मात्रै हाेइन, अन्य जिल्लाका यात्रु पनि हिँड्छन्, पाल्पाका सांसदले कुरा मात्रै गरे पार लाउन सकेनन्,’ भट्टराईले भने, ‘सडकलाई भन्दा अन्य विषय प्राथमिकतामा राखेका कारण काम भयन ।’ मानव अधिकार एलाइन्स पाल्पाका अध्यक्ष भगवान भण्डारीले आफूले जान्दादेखि चुनावमा सिद्धबाबा सडक बनाउँछु भनेको तर कुनै सांसदले निकास दिने गरी भूमिका निर्वाह गर्न नसकेको बताए । काम गर्ने साहस कसैसँग नभएको गुनासो गरे ।

ad
ad