Skip This
कटारी–घुर्मीखण्ड : चुनावी एजेन्डा बन्छ, सडक बन्दैन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २० आइतबार
  • Saturday, 27 July, 2024
२o७९ कार्तिक २० आइतबार १३:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कटारी–घुर्मीखण्ड : चुनावी एजेन्डा बन्छ, सडक बन्दैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २० आइतबार १३:५o:oo

चुनावी एजेन्डा मात्र बन्ने सिद्धिचरण लोकमार्गको कटारी–घुर्मीखण्ड मर्मत नहुँदा सडक उपभोक्ता मारमा परेका छन्। चुनावको वेला एजेन्डा बनाउने उम्मेदवारहरूले जितेर गएपछि बेवास्ता गर्दा सडक उपभोक्ता मारमा परेका हुन्।

प्रदेश १ मा पर्ने उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुवासीको मुख्य सडक यही हो। पहाडी जिल्लालाई तराईसँग जोड्ने सिद्धिचरण लोकमार्गको विभिन्न खण्ड जीर्ण भएको वर्षौँ बितिसकेको छ। ०७० सालयता यस क्षेत्रबाट निर्वाचित हुने सांसदहरूले सिद्धिचरण लोकमार्गको कटारी–घुर्मीखण्डलाई चुनावी एजेन्डा बनाउँदै आएका छन्।

कटारी नगरपालिका– ११ का स्थानीयसमेत रहेका शिक्षक राजन राउतले ०७० सालयता निर्वाचनमा नेताहरूले चुनावी एजेन्डा मात्र बनाउँदै आएकाे बताए। उनले भने, ‘सडक पूर्ण रूपमा मर्मत गर्नुपर्नेछ। यसभन्दा अघिका चुनावमा पनि पूर्ण मर्मत गराउने उद्घोष गरेका सांसदहरूले कामै गरेनन्। यसपालिको चुनावमा पनि मर्मतको नारा सुनिएको छ।’

दिनहुँ सवारी चाप बढिरहेको यो सडक लामो समयदेखि मर्मत हुन सकेको छैन। दैनिक सयौँको संख्यामा सवारीसाधन आवतजावत गर्ने भिरको सडक एकातिर साँघुरो छ भने अर्कोतर्फ जीर्ण बन्दै गएको सवारीचालक उमेश नेपाली बताउँछन्। ‘हामीले २०७० सालकै चुनावमा कटारी–घुर्मीखण्ड दुई लेनको बनाउने भन्ने सुनेका हौँ। तर, अहिलेसम्म पनि बनेको छैन।’

४७ किलोमिटर लामो कटारी–घुर्मीखण्डमा कटारी नगरपालिकाको माथिल्लो पहाडी भेग पर्छ। त्यही क्षेत्रको सडक धेरै जीर्ण बनेको छ। करिब १९ वर्षअघि नेपाली सेनाले खोलेको साँघुरो ट्रयाकलाई ११ वर्षअघि वटासिल प्रविधिमार्फत कालोपत्रे गरिएको थियो। अहिले कालोपत्रे सडक भत्किएर धुलाम्य सडकमा परिणत भएको मात्र छैन, सवारी चापका कारण साँघुरोसमेत भएको छ।

सिराहाको मिर्चैयादेखि कटारीसम्मको करिब २६ किलोमिटर सडकसमेत जीर्ण भएको छ। सिमेन्ट उद्योगका लागि चुनढुंगा संकलन गर्ने टिपर, दैनिक उपभोग्य र निर्माण सामग्री लिएर गुड्ने ट्रकले क्षमताभन्दा बढी सामान बोक्दा सडक जीर्ण बनेको हो। सडकको स्तरोन्नतिका लागि स्थानीयले पटकपटक माग गर्दै आए पनि सरकारी बेवास्तामा पर्दै आएको छ।

मिर्चैयादेखि कटारीसम्म तथा कटारीदेखि घुर्मीसम्म ४८ किलोमिटर सडकमा ज्यान जोखिममा राखेर सवारी चलाउनुपर्ने चालकहरू बताउँछन्। उदयपुर उद्योग वाणिज्य संघकी उपाध्यक्ष मुनाकुमारी कटुवालले जीर्ण सिद्धिचरण लोकमार्गले व्यवसायीहरू मारमा परेको बताइन्। ‘यही जीर्ण सडकबाट ढुवानी गर्नुपर्छ,’ उनले भनिन्, ‘जीर्ण सडक भएकाले ढुवानी लागतसमेत बढ्छ। त्यसको सीधा असर उपभोक्तामा पर्छ।’

कटारीदेखि घुर्मीसम्मको ४८ किलोमिटर सडक पार गर्न झन्डै तीन घन्टाभन्दा बढी समय लाग्ने गरेको छ। ०७० सालयता निर्वाचित सांसदहरूले चासो दिएको भए मर्मत भएको हुने कटुवालको भनाइ छ।

यता आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार जगनाथ खतिवडाले पाँच वर्षभित्र मिर्चैया–कटारी–घुर्मी सडक दुई लेनको बनाउने योजना अघि सारेका छन्। ‘उक्त सडकलाई मैले घोषणापत्र लेखेको छु। जीर्ण भएको सिद्धिचरण लोकमार्ग पाँच वर्षभित्र मर्मत हुन्छ,’ खतिवडाले भने।

उनकै शैलीमा अन्य उम्मेदवारले समेत पाँच वर्षभित्र सडक पूर्ण रूपमा मर्मत गर्ने योजना सारेका छन्। तर, प्रतिबद्धता पूरा हुनेमा भने आशंका रहेको स्थानीय युवा लोकमणि कटुवाल बताउँछन्। उनले भने, ‘यस क्षेत्रबाट उम्मेदवार बनेर निर्वाचनमा होमिएका सबैले पाँच वर्षभित्र बनाउने काजगी घोषणा देखाउने गरेका छन्। हेरौँ, यसपटक निर्वाचित हुने सांसदहरूले के गर्छन्।