१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
किशोर नेपाल
२o८१ जेठ ५ शनिबार o६:४४:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

महिमा–मण्डित नेतृत्वको खोजी

देशको नवनिर्माणका लागि जनतालाई साथमा राखेर सबै प्रकारका आपसी सहयोग जुटाउन सक्ने ‘महिमा–मण्डित’ राष्ट्रिय नेतृत्व राष्ट्रले खोजिरहेको छ

Read Time : > 4 मिनेट
किशोर नेपाल
२o८१ जेठ ५ शनिबार o६:४४:oo

के संघीय गणतन्त्र नेपालमा आगामी ४ मंसिरमा हुन लागेको निर्वाचनले सबभन्दा पछिल्लो जन–आन्दोलनपछि सतहमा आएका राजनीति र विकासका समस्याको समाधान दिन सक्ने ‘महिमा–मण्डित’ राष्ट्रिय नेतृत्व चयन गर्न सक्ला त ? प्रदेश १ का झापा र मोरङ, मधेस प्रदेशका आठ जिल्ला र गण्डकी प्रदेशको एक जिल्ला गोर्खाको पन्ध्र दिन लामो भ्रमणपछि सहज हिसाबले निस्किएको उपसंहार थियो– यसअघि भएका अन्य चुुनावले जस्तै आगामी चुनावले पनि नेपाली जनताले खोजेकोजस्तो या कल्पना गरेकोजस्तो कल्याणकारी राज्य सञ्चालन गर्न सक्ने दूरदर्शी सामूहिक नेतृत्व चयन गर्न सक्ने लक्षण छैन ।

पहिलो कुरा त, देशलाई विकासको पथमा हिँडाउने हुटहुटी बोकेका देशभक्त, स्वाभिमानी र विवेकशील व्यक्तित्वहरू सामाजिक र राजनीतिक पटलमा यथेष्ट मात्रामा देखापरेकै छैनन् । जो सत्ताको भ्रष्टाचार र अविवेकविरुद्ध चम्कीचम्की बोल्दै छन्, तिनको राजनीतिक औकात अहिलेसम्म स्थापित भएको छैन । देशको नवनिर्माणका लागि जनतालाई साथमा राखेर सबै प्रकारका आपसी सहयोग जुटाउने कुरामा अहिले देशमा उपस्थित सबै प्रकारको राजनीतिक शक्तिहरू निरपेक्ष रहेका छन् । नेपालको सामाजिक, शैक्षिक र सांस्कृतिक परिवेश दिन–प्रतिदिन खस्किँदै गएको छ । आर्थिक दुरवस्थाको त कुरै नगरौँ । 

गोरखामा उम्मेदवारका रूपमा मतदातासँग पहिचान बढाउँदै हिँडेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग गोरखाका जनतालाई दिने तातो ‘सन्देश’ देखिएन । उनले सेलाएर थन्किएका पुरानै सन्देशलाई नयाँ सन्देशका रूपमा जनतासामु राखे । उनको सन्देशको मूल मर्म थियो– नेपालमा राजनीतिक परिवर्तनले स्थायित्व नपाउनुको मुख्य कारण विकासका काम नहुनु हो । माओवादी अध्यक्ष प्रचण्डमा देशमा त्यति ठूलो क्रान्तिकारी हलचल हुँदा पनि आधारभूत आर्थिक सामाजिक परिवर्तन हुन नसकेको ‘रियलाइजेसन’ त थियो । तर, उनको आफ्नै नेतृत्वमा भएका दशक लामो जनयुद्धको प्रभाव कसका कारण सीमित रह्यो ? उनले यो कुरा खोतल्न चाहेनन् । 

निर्वाचनकै सन्दर्भमा एमालेका कार्यकर्ताबाट ‘राजनेता’को खिताब पाएका पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको निर्वाचन क्षेत्रका रूपमा चिनिएको झापाको दमक सहर आर्थिक दूरवस्थाको एउटा प्रकट उदाहरण हुन सक्छ । भुटानबाट निर्वासित हुन बाध्य पारिएका नेपाली मूलका भुटानी नागरिकको केन्द्रका रूपमा रहँदासम्म दमक सहर निकै आकर्षक आर्थिक हैसियतमा थियो । अहिले त्यो अवस्था छैन । किनभने, झापाली शरणार्थी देश–विदेशमा तितरबितर भइसकेका छन् । अहिले त झापाको यो सानो सहर दमकले भुटानी शरणार्थीको चहल–पहल बढेका वेला हासिल गरेको आर्थिक हैसियत पनि धान्न सकेको छैन । 

दमक नगरपालिकामा बनेको सहरको एक मात्र मलमा ‘एस्प्रेसो कफीबार’ छ, अत्याधुनिक शैलीका फेसनको विवरण दिन सक्ने गोर्खा सपिङ मल र अरू अनेक सानातिना आधुनिक स्टोर छन् । तर, ती साना–ठूला व्यापारीको आर्थिक हैसियत प्रत्येक वर्ष घट्दै गएको छ । उनीहरू तोकिएको समयमा घरभाडा बुझाउन नसकेर बिलबिलाएका छन् । विकासको बाटोमा अग्रसर सानो होस् वा ठूलो, कुनै पनि सहर चटक र तमासाको भरमा टिक्न सक्दैन ।

यसै पनि, दिन–प्रतिदिन खुम्चिँदै गएको दमकको भविष्य ‘स्यान्डविच’को जस्तो छ । पश्चिमतिर मोरङको उर्लाबारी र पूर्वतिर झापाको बिर्तामोड बहरबीच ‘स्यान्डविच’ बनेको छ यो सहर । अब त्यहाँ पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले जतिसुकै ठूलो ‘पावर’ लगाएर जतिसुकै अग्लो टावर बनाए पनि त्यसको कुनै अर्थ छैन । दमकलाई एकलव्यको आँखाले हेरेर झापाको महाभारत जित्ने सोच राख्न ओली सरलाई कसैले रोक्न सक्दैन । तर, महाभारत विजयको यथार्थ कथा भीमसेनको गदामा अंकित रहेको छ । 

आगामी निर्वाचनले पनि नेपाली जनताले खोजेकोजस्तो या कल्पना गरेकोजस्तो कल्याणकारी राज्य सञ्चालन गर्न सक्ने दूरदर्शी सामूहिक नेतृत्व चयन गर्न सक्ने लक्षण देखिन्न
 

मैले जेजति बुझेको छु, त्यसको आधारमा यति त भन्न सक्छु नै, झापाको छिमेकी जिल्लाका रूपमा रहेको पूर्वको प्रसिद्ध सहर विराटनगरको कथा अलग छ । यो कुरा बिर्सिनुहुँदैन, सानो रंगेली बजारबाट ठूलो विराटनगर स्थापनाको आधार पिताजी कृष्णप्रसाद कोइरालाको सपना मात्रै थिएन । अहिले मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइरालाका पिताश्रीका रूपमा कृष्णप्रसाद कोइरालाको सम्मान गर्नु स्वभावजन्य मानवीय आचरण हो । विराटनगरको सन्दर्भमा सही र स्वाभाविक कुरा यति मात्र हो कि बेलायतको औपनिवेशिक साम्राज्यबाट मुक्त भएको स्वतन्त्र भारतको आर्थिक आकांक्षा पूरा गर्न भारतलाई एउटा आर्थिक ‘बफर जोन’ चाहिएको थियो । विराटनगर नेपाली समृद्धिको मजबुत आर्थिक बिम्बका रूपमा देखिएपछि त्यहाँ विभिन्न कल–कारखाना खुल्न थाले । भारतको राजस्थानबाट नेपालमा आफ्नो औद्योगिक वर्चस्व स्थापना गर्ने महŒवाकांक्षा बोकेका दिग्गज तन्नेरी औद्योगिक अभियन्ताहरू नेपाल छिरेपछि विराटनगरमा औद्योगिक विकासको क्रम सुरु भएको थियो । यस क्षेत्रको राजनीतिमा कोइराला परिवारको पकड र वर्चस्व २००७ सालपछि स्थापित भएको हो । 

मोरङको भूमिमा अहिले उभिएका छन् डा.शेखर कोइराला । विराटनगरको कोइराला परिवारले नेपाली समाजलाई दिएको दुई उपहार हुन्– डा. शेखर कोइराला– दाजु र डा. शशांक कोइराला– भाइ । शशांक बिपीका कान्छा सुपुत्र हुन् र नेपाली जनताका आँखाको उपचारमा उनले ठूलो फड्को मारेका छन् । शेखरका पिता केशवप्रसाद कोइराला परिवारको राजनीतिक उपलब्धिको नक्सामा हतपती देखिन नचाहने अत्यन्त सरल व्यक्तित्वका रूपमा चिनिन्थे । डा. शेखरले कालाजारको उपचारमा दक्षता हासिल गरेका छन् । कालाजार महामारी फैलिएको अवस्थामा शेखरको विशेषज्ञ पृष्ठभूमि नेपालका लागि ठूलो उपलब्धि थियो । भाइ शशांकले जस्तै दाजु शेखरले पनि देशको स्वास्थ्य क्षेत्रमा निकै ठूलो योगदान गरेका छन् । शेखरको नेतृत्व नभएको भए धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्धारित समयमा खुल्ने थिएन । 

राजनीतिका हिसाबले भने शशांक र शेखर आफ्ना अग्रजको तुलनामा ‘अनाडी’ देखिएका छन् । उनीहरू दुवैको मनमा कोइराला परिवारका सदस्य भएकै कारण अपरिहार्य र सर्वस्वीकार्य रहेको भ्रम बाक्लै रहेको आभास पाइन्छ । रमाइलो कुरा के भने अहिलेको अवस्थामा कोइराला परिवारमा बिपी कोइरालाका जेठा छोरा प्रकाश कोइराला ‘गतिशील’ व्यक्तित्व हुन् । तर, उनी बिपी कोइरालाको राजनीतिक उत्तराधिकारित्व दाबी गर्ने मनस्थितिमा देखिएका छैनन् । कोइराला सन्ततिमा अहिलेको अवस्थामा प्रकाशपछिका सबभन्दा जेठा सन्तान हुन् शेखर । उनले भाइ शशांक र गिरिजाप्रसाद कोइरालाकी पुत्री बहिनी सुजाता दुवैलाई संरक्षण प्रदान गर्नुपर्ने हो । तर, अहिले उनी आफैँ संरक्षकको खोजीमा देखिन्छन् । त्यसो भन्दैमा अलिकति ‘समझ’ चाहिँ शेखरमै देखिन्छ । उनले अंशबन्डाको वेला 

आफ्नो भागमा परेको घरजग्गा ‘कोइराला निवास’कै विस्तारमा लगाएका छन् । उनले कोइराला निवासलाई मौलिक रूपमा विकसित गर्न खोजेका छन्, जहाँ उनकी आमा नोना कोइराला राजाको तानाशाहीविरुद्ध कार्यकर्ताको मनोबल बढाउन अनवरत सक्रिय थिइन् । नेपालमा लोकतान्त्रिक समाजवादी चिन्तक तथा क्रान्तिकारी नेता बिपी कोइरालाका अतिरिक्त परिवारका अरू कुनै सदस्यमा पनि बौद्धिक समृद्धि र देश विकासको भरपूर चेतना देखिएन । बिपीको रूपमा झांगिएको विशाल वटवृक्षको छायामा आशाको पर्याप्त सञ्चार नगरेको होइन । तर, भरोसाको उदय हुन सकेन । नेपालमा न बिपीको विचार कार्यान्वयन नै हुन सक्यो, न त उहाँको जस्तो राजनीतिक निष्ठा, समर्पण र त्यागको भावना उहाँका अनुयायीमा उब्जिएकै पाइयो । आखिर यस्तो किन भयो ? यो प्रश्न युगले छाडेको धङधङीका रूपमा अहिलेसम्म यथावत् छ । 

सन्दर्भमा, यो टिप्पणीमा मधेसको संक्षिप्त चर्चा गर्नु किन आवश्यक छ भने सदियौँदेखि मधेस यो देशको मुख्य धमनीका रूपमा रहेको छ । मधेस आफैँमा समृद्ध भूमि भए पनि यसको थोरै पनि विकास हुन सकेको छैन । राष्ट्रिय एकताका नाममा थोरै संख्यामा रहेका मधेसका आभिजात्य परिवारका सदस्यलाई नेपालको राजदरबारले वृत्तिको अवसर दिए पनि मधेसको बृहत्तर वृत्तमा त्यसको खासै अर्थ रहेन । 

यतिवेला दुई–दुईपटकको मधेस आन्दोलनले जागरुक भएका मधेसका जनता आफ्नै नेताहरूका कारण रनभुल्लमा परेका छन् । राजनीतिक दलहरूमा ‘निष्ठावान्’ लोकतन्त्रवादी नेता महन्थ ठाकुरको संगठनले आभिजात्य वर्गको पुच्छर समातेको छ भने ‘क्रान्तिकारी’ फेटा गुतेका उपेन्द्र यादवको संगठनले जातीय संकीर्णतालाई भोटको आधार बनाएको छ । अघिल्लो घडीसम्म कांग्रेस र माओवादीसँग समीकरणमा रहेका उपेन्द्र यादव एक घडी नबित्दै केपी ओली नेतृत्वको एमालेसँग समीकरणमा जोडिनु चरम अवसरवादी चरित्र होइन भने यसलाई अरू के भन्नु ?

मधेसमा पाँच वर्ष मधेसीको शासन चल्दा पनि मधेसले विकासको गहकिलो दिशाबोध गर्न सकेन । भ्रष्टाचार सर्वाधिक बढ्यो । मधेसी नेताहरू प्रदेश सरकारको मजबुतीमा लाग्दै लागेनन् । अब पनि मधेसका नेताहरूमा राजनीतिक चेत आउन सकेन र उनीहरूले जनताको पक्षमा विवेक पु¥याउन सकेनन् भने मधेसमा स्थायी रूपले राजनीतिक अस्थिरताको अवस्था उत्पन्न हुनेछ । 

ad
ad