१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १४ सोमबार २१:०६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

विश्व बैंकले भन्यो - नेपाल श्रीलंकाजस्तो बन्दैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १४ सोमबार २१:०६:००

विश्व बैंकले नेपाल श्रीलंकाजस्तो टाट नपल्टने विश्लेषण गरेको छ । बैंकको हालै सार्वजनिक ‘नेपाल डेभलपमेन्ट अपडेट, २०२२’ प्रतिवेदनमा पाँचवटा आधारहरू देखाएर नेपाल श्रीलंकाजस्तो नहुने उल्लेख गरिएको छ ।

श्रीलंकाको अर्थव्यवस्था संकटपूर्ण अवस्थामा रहेको छ । गएको असारमा श्रीलंकाका तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंघेले मुलुकको अर्थतन्त्र पूर्ण रूपमा टाट पल्टिएको घोषणा गरेका थिए । उनले संकटपूर्ण अर्थतन्त्र सुधारका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत संघसंस्थालाई सहयोगको लागि आह्वानसमेत गरेका थिए । 

सोधनान्तर घाटा बढ्दै गएको तथा विदेशी विनिमय संचिति घट्दै गएकोलगायत तथ्यांकको आधारमा नेपाल पनि श्रीलंकाको पथमा रहेको चर्चा हुँदै आएको छ । तर, विश्व बैंकले ‘नेपाल श्रीलंका नहुने’ दोहोर्याएको हो । यसअघि वैशाखमा सार्वजनिक अर्धवार्षिक प्रतिवेदनमा पनि विश्व बैंकले नेपालको अर्थतन्त्र संकटमा नरहेको र संकट आउनेवाला अवस्थासमेत नभएको उल्लेख गरेको थियो । 

विश्व बैंकले नेपालमा विदेशी विनियम संचिति पर्याप्त रहेको, सार्वजनिक ऋण तिर्न सकिने किसिमको भएको, आन्तरिक ऋण जिडिपीको अनुपातमा थोरै भएको, खनिज ऊर्जामाथिको निर्भरता तुलनात्मक रूपमा न्यून रहेको र अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रमहरू सञ्चालनमा रहेको भन्दै नेपाल श्रीलंकाजस्तो टाट नपल्टने विश्लेषण गरेको हो । 

विश्व बैंक नेपालकी वरिष्ठ अर्थशास्त्री एलिस जोन ब्रुक्सले प्रतिवेदन प्रस्तुत गर्दै नेपाल श्रीलंकाजस्तो नबन्ने बताइन् । ‘नेपालको सार्वजनिक ऋण जिडिपीको ४१ प्रतिशत मात्रै छ, आन्तरिक ऋण पनि जिडिपीको तुलनामा २२ प्रतिशत मात्रै छ जुन न्यून हो, खनिज ऊर्जामा परनिर्भरता न्यून छ, जैविक ऊर्जामा निर्भरता ७२ प्रतिशत छ, नेपालको विदेशी विनिमय संचिति ६.९ महिनालाई धान्ने गरी पर्याप्त छ र नेपालमा अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रमसमेत रहेको छ,’ उनले भनिन्, ‘त्यसैले नेपाल श्रीलंकाजस्तो बन्दैन ।’