
चीनबाट नियमित आयात हुने रसुवा र तातोपानी नाका बाढी पहिरोका कारण बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट पहिलोपटक ठुलो मात्रामा सामान आयात भएको छ । नाका सञ्चालनमा आएको घोषणा भएको दुई बर्षपछि पहिलो पटक ठुलो मात्रामा यस नाकाबाट सामान आयात गरिएको हो । २७ कात्तिक २०८० बाट औपचारिक रूपमा सञ्चालनमा आएको कोरला नाकामा यस अघि मुस्ताङीहरूले जिल्ला प्रशासन कार्यालयबाट जारी भएको प्रवेश अनुमतिपत्रका आधारमा सामान आयात निर्यात गर्दै आएका थिए । तर, २२ भदौदेखि हालसम्म कोरला नाकाबाट एक सय ५१ वटा विद्युतीय सवारीसाधन आयात भएको लोमानथाङस्थित नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए ।
उनका अनुसार ६७ वटा लत्ताकपडा, घरायसी र कस्मेटिकलगायतका मालसामानका गाडीसमेत कोरला नाकाबाट भित्रिएका छन् । तीमध्ये २१ वटा मालवाहक गाडी भन्सारबाट जाँचपास भइसकेका छन् । लोमानथाङबाट दुई गाडी सामान निर्यात भएको छ । लोमानथाङ क्षेत्रबाट पूजा सामान, मूर्ति र नेपाली हस्तकलाका सामान निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।
यसअघि नाम मात्रको कार्यालयको रूपमा मुस्ताङ भन्सार कार्यालयमा भदौ २१ गते मात्रै भन्सार विभागले कर्मचारीको व्यवस्थापन गरेको थियो । विभागबाट एकजना भन्सार अधिकृतसहित रसुवाबाट तीनजना र पोखरा विमानस्थलबाट दुईजना कर्मचारीलाई काजमा मुस्ताङ भन्सार कार्यालयमा पठाएको थियो । यसअघि कार्यालयमा एकजना नायब सुब्बा मात्रै थिए । विभागबाट खटिएर आएपछि फर्निचर, इन्टरनेटलगायतका पूर्वाधार व्यवस्थापन गरेर अनलाइन प्रणाली जडान गरी भन्सार जाँचपासको काम सुरु गरिएको कार्यालय प्रमुख खड्काले बताए । ‘तत्कालका लागि अत्यावश्यक पूर्वाधारको बन्दोबस्त गरेर कार्यालय सञ्चालनमा आएको छ, जाँचपास गर्ने कामलाई तीव्रता दिएका छौँ, व्यवस्थित कार्यालय भवन र पर्याप्त पूर्वाधार नभएकाले सेवाप्रवाहमा चुनौती थपिएको छ,’ कार्यालय प्रमुख खड्काले भने ।
मुस्ताङ र चीनको सीमावर्ती कोरला नाका समुद्री सहतदेखि चार हजार सात सय मिटर उचाइमा रहेको छ । भन्सार कार्यालय नेपालतर्फ १४ किलोमिटरयता ने समुद्री सतहदेखि तीन हजार नौ सय मिटर उचाइमा रहेको नेचुङमा अवस्थित छ । उच्च उचाइको भूगोल, राजधानीदेखि लामो दूरीको सवारी यात्रा गर्नुपर्ने भएकाले समेत यो नाका सञ्चालनमा आउन कठिनाइ भइरहेको थियो । वर्षात्को बाढी–पहिरोले नेपाल–चीन व्यापारका लागि रसुवागढी र तातोपानी नाकाबाट आयात–निर्यात बन्द भएपछि वैकल्पिक रूपमा कोरला नाका सञ्चालनमा आउन थालेको हो । चीनबाट आयात गरिएका मालवस्तु ढुवानीका लागि करिब एक सयवटा मझौला कन्टेनर बेनी–जोमसोम–कोरला सडक हुँदै कोरला नाका पुगेका छन् ।
कोरला नाकामा यसअघि मुस्ताङवासीले घरायसी प्रयोजनका लागि चिनियाँ बजारमा पुगेर सामान खरिद गर्दै आएका थिए । यसपटक व्यापारिक हिसाबले नै नाका सुचारु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । ‘अहिले जिल्ला प्रशासन कार्यालयले जारी गर्ने प्रवेश अनुमतिपत्रका आधारमा समग्र मुस्ताङवासीले कोरला नाकाको सीमावर्ती बजारसम्म पुगेर सामान खरिद–बिक्रि गर्दै आएका छन्, दुई वर्षदेखि नागरिकताका आधारमा मुस्ताङका नागरिकलाई यो पत्र जारी गर्न थालिएको हो, अहिलेसम्म पाँच हजारभन्दा बढीले प्रवेश अनुमतिपत्र लगिसकेका छन्,’ उनले भने ।