मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
शिल्पा कर्ण काठमाडाैं
२०७९ कार्तिक ५ शनिबार ०८:३६:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भक्तपुर २ : महेश बस्नेतको दोहोरिने योजनामा दुर्लभ थापाको चुनौती 

Read Time : > 3 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
२०७९ कार्तिक ५ शनिबार ०८:३६:००

अघिल्लो निर्वाचनमा भक्तपुर २ बाट प्रतिस्पर्धीभन्दा करिब दोब्बर मत ल्याएर विजयी भएका एमाले नेता महेश बस्नेतलाई यसपटक भने सहज पक्कै हुनेछैन । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा पनि यो क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । 

बस्नेतलाई गठबन्धनको तर्फबाट कांग्रेस जिल्ला सभापति दुर्लभ थापा क्षत्रीले टक्कर दिँदै छन् । थापासँगै नेपाल मजदुर किसान पार्टीको तर्फबाट अनुराधा थापामगर पनि प्रतिस्पर्धामा छिन् । करिब एक लाख मतदाता रहेको यस क्षेत्रमा बस्नेत, क्षत्री र थापामगरसहित २६ जना प्रतिस्पर्धामा छन् । ०७४ को संसदीय निर्वाचनको नतिजा र स्थानीय तहको मत परिणाम हेर्ने हो भने मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन, एमाले र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बीच हुने देखिन्छ ।

अघिल्लो आमनिर्वाचनमा भक्तपुर २ मा बस्नेतले करिब ६० प्रतिशत मतसहित जित हासिल गरेका थिए । कुल ६३ हजार एक सय नौ मतमध्ये उनले ५७.७० प्रतिशत अर्थात् ३६ हजार चार सय १२ मत पाएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दमननाथ ढुंगानाले जम्मा २९ प्रतिशत (१८,६८७) मत पाएका थिए । यसैगरी, नेमकिपाकी अनुराधा मगरले ८.६७ प्रतिशत (५४७१) मत पाएकी थिइन् । 

त्यस वेलामा वाम एकताका कारण पनि बस्नेतलाई सहज थियो । एमाले र माओवादीका साथै केही साना र क्षेत्रीय दलबीच एकता भएपछि ती मत पनि बस्नेततर्फ गएको स्थानीयको भनाइ छ । अहिले माओवादी केन्द्र कांग्रेसको पक्षमा छ । साथै, एमालेबाट टुक्रिएको नेकपा एस पनि सत्ता गठबन्धनमा रहेकाले यसपटकको प्रतिस्पर्धा रोचक हुने देखिन्छ । 

कांग्रेस र नेमकिपाको आलोपालोबीच उदाएका बस्नेत
भक्तपुर २ कांग्रेस र नेमकिपाको प्रभाव क्षेत्रका रूपमा रहँदै आए पनि पछिल्लो समय त्यो प्रभाव एमालेका बस्नेतले तोडेका थिए । यो क्षेत्रमा ०४८ सालमा कांग्रेस र ०५१ सालमा नेमकिपाले विजय हासिल गरेको थियो । ०५६ सालमा फेरि कांग्रेस, ०६४ सालमा नेमकिपा र ०७० सालमा कांग्रेसका उम्मेदवारले विजय हासिल गरेका थिए । कांग्रेस र नेमकिपाको ‘आलोपालो विजय’को सिलसिलालाई ०७४ सालमा बस्नेतले तोडेका थिए । 

भक्तपुर २ मा ११ जना स्वतन्त्र उम्मेदवार छन् । मीनाकुमारी बाला, कल्पदीप राई, सुमन कार्की, सुवर्ण थापा, मोक्टो तामाङ, रञ्जु केसी, प्रमिला थापा, दिनेश प्रजापति, चम्पा बोगटी, उमेश श्रेष्ठ र आनन्द कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

दुई पालिकामध्ये एक कांग्रेस अर्कोमा एमालेको नेतृत्व
भक्तपुर २ मा मध्यपुर ठिमी र सूर्यविनायक नगरपालिका पर्छ । यी पालिका राजमार्गसँग जोडिएको तथा नयाँ घना बस्ती भएका पालिका हुन् । ठिमीमा स्थानीय चुनावमा सत्ता गठबन्धनबाट कांग्रेसका सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत ल्याएर विजयी हुँदा एमालेका मदनसुन्दर जगुलु श्रेष्ठले ११ हजार ३५ मत मात्र ल्याएका थिए ।  

सूर्यविनायकमा पनि एमाले र कांग्रेसबीच ठूलो मतान्तर छैन । एमालेका वासु थापाले १४ हजार सात सय ५८ मतले मेयरमा जित्दा कांग्रेसका निशान ढुंगेलले १३ हजार दुई सय ३२ मत ल्याएका थिए । कांग्रेसका ढुंगेललाई नेकपा एसको समर्थन थियो ।  

वडाको मतपरिणाम मिश्रित
वडाको मतपरिणाम हेर्दा सूर्यविनायकमा १४ हजार पाँच सय १४ मतसहित एमाले अग्रस्थानमा छ भने ११ हजार पाँच सय ७२ मतसहित कांग्रेस दोस्रो स्थान छ । एमाले र कांग्रेसपछि वडामा राप्रपा तेस्रो र नेमकिपा चौथो स्थानमा छ । सूर्यविनायकमा कांग्र्रेस र एमालेबीच मेयरको मत थोरैले फरक रहे पनि मध्यपुर ठिमीका वडाहरूमा भने कांग्रेसको मत धेरै बढी छ । यहाँका नौ वडाका कांग्रेसका वडाध्यक्षले १४ हजार एक सय ९२ मत ल्याएका थिए भने एमालेका वडाध्यक्षहरूको कुल मत नौ हजार सात सय ७२ मत थियो । सूर्यविनायकमा एमाले अघि र मध्यपुर ठिमीमा कांग्रेसको अग्रताका कारण तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । 

हक्की नेताहरूबीच कडा प्रतिस्पर्धाको सम्भावना
एमाले उम्मेदवार बस्नेतले यस क्षेत्रमा विकास निर्माणका धेरै काम गरेको दाबी गर्दै त्यसैलाई चुनावी एजेन्डा बनाएका छन् । अघिल्लोपटक पनि कामै गरेका कारण जितेको र यसपटक त झनै बढी मत पाउने उनको दाबी छ । ‘त्यसवेला वाम गठबन्धन हुँदा पनि खासै प्रभाव परेन । किनकि, यहाँ माओवादीको उपस्थिति न्यून छ । विभाजनको असर पनि भक्तपुरमा खासै छैन,’ बस्नेतले भने । 

यस्तै, कांग्रेसका उम्मेदवार थापा क्षत्री पनि गठबन्धनको मात्रै नभई आफूलाई भक्तपुरका सबैले चिन्ने भएकाले जित सुनिश्चित रहेको बताउँछन् । साथै, कांग्रेसमा गुटबन्दी नरहेकाले सिंगो जिल्लाका कार्यकर्ता साथमा रहेको उनको दाबी छ । उनी दुईपटक जिल्ला सभापति भइसकेका छन् । उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रका लागि स्थायित्व र विकासका लागि काम गर्ने भनेर जनतामाँझ गएका छौँ । स्थानीय र प्रदेश सरकारसँग विकास निर्माणका काममा समन्वय गर्ने हाम्रो प्रतिबद्धता छ । संविधानमा रहेका त्रुटिहरू संशोधन गर्ने, संसद्मा पेन्डिङ रहेका विधेयक पास गर्नेजस्ता एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छौँ ।’ 

नेमकिपाको भक्तपुरमा राम्रो पकड भएका कारण अनुराधा थापागर पनि सम्भावना बोकेकी उम्मेदवार हुन् । उनी ०७० सालको संविधानसभा निर्वाचनमा नेमकिपाको समानुपातिक तर्फबाट सदस्य थिइन् । ‘सीमा सुरक्षा, कृषिकर्म गर्न सहज वातावरण हुने गरी कानुन बनाउन हामी पहल गर्छौँ । संविधानले नै मौलिक हकमा राखेको शिक्षा, स्वास्थ्यजस्ता विषयमा कानुन बनेका छैनन् । यो बनाउन पनि हाम्रो पहल हुनेछ,’ उनले भनिन्, ‘हामी अझै पनि एमसिसी खारेजीको अभियानमा छौँ । आन्दोलनमा छौँ । यो मात्र होइन, राष्ट्रघाती कोसी, गण्डकजस्ता सम्झौता खारेजीका लागि पनि सांसदका रूपमा भूमिका खेल्नेछु ।’ उनले चुनावमा सुरक्षित वातावरण रहे नेमकिपाको जित सुनिश्चित रहेको दाबी गरिन् । 

एमाले र कांग्रेसका उम्मेदवार थापा क्षत्री र बस्नेतबीच समानता के छ भने दुवै ५५ वर्षभन्दा कमका र हक्की नेताका रूपमा स्थानीयमाँझ परिचित छन् । थापालाई भने सबैभन्दा ठूलो फाइदा सिंगो गठबन्धनको भोट रहेकाले छ । बस्नेतबाट असन्तुष्टहरूले नयाँ मुहार खोज्दा विकल्पमा उनी हुन सक्छन् । 

कुल मतदाता : ९१९११ 

अघिल्लोपटक निर्वाचित : महेश बस्नेत, एमाले (३६,४१२ मत),  निकटतम प्रतिस्पर्धी कांग्रेसका दमननाथ ढुंगाना (१८,६८७ मत)

गत स्थानीय तह निर्वाचनको परिणाम : मध्यपुर ठिमी नगरपालिका, कांग्रेसका सुरेन्द्र श्रेष्ठ (१५,०९८ मत) विजयी । सूर्यविनायक नगरपालिका, एमाले वासु थापाले १४,७५८ मत ल्याएर मेयरमा विजयी ।

१० जना स्वतन्त्र उम्मेदवार

निर्वाचन आयोगका अनुसार भक्तपुर २ ‘क’बाट राहुल लामा, मानकाजी तामाङ, श्यामकृष्ण धुख्वा, श्यामसुन्दर थापा र दीपबहादुर तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसैगरी, ‘ख’बाट प्रेमकृष्ण साक्षे श्रेष्ठ, जगतलाल तामाङ, सरस्वती थापा, बिकी शर्मा र प्रेमनाथ श्रेष्ठ स्वतन्त्र उठेका छन् ।