१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:३१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हवाई सुरक्षा अध्ययन गर्न अमेरिकी प्रतिनिधि नेपालमा

नेपाल–अमेरिकाबीच दुईपक्षीय हवाई सम्झौताको पूर्वसन्ध्यामा अमेरिकी प्रतिनिधिले नेपालको हवाई सुरक्षाबारे अध्ययन गर्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:३१:oo

नेपालको हवाई सुरक्षाबारे अध्ययन गर्न अमेरिकी नागरिक उड्डयन नियामक निकायका प्रतिनिधि नेपाल आएका छन् । नेपाल र अमेरिकाबीच दुईपक्षीय हवाई सम्झौताको तयारी भइरहेका वेला अमेरिकी प्रतिनिधि आएका हुन् । अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसनका प्रतिनिधिले बिहीबार काठमाडौं आउनेबित्तिकै छलफल सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रतिनिधिले बिहीबार प्राधिकरणको फ्लाइट सेफ्टी विभागका कर्मचारीहरूसँग छलफल गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । ‘उहाँले नेपालको समग्र हवाई सुरक्षा र हवाई सञ्जाल विस्तारका विषयमा अध्ययन तथा छलफल गर्ने कार्यक्रम छ,’ उनले भने, ‘नियामक निकायसँग हवाई सुरक्षाका विषयमा छलफल गर्नुका साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को अडिट रिपोर्ट पनि अध्ययन गर्नेछन् ।’ 

अमेरिकी प्रतिनिधिले आइकाओले अध्ययन गर्ने विभिन्न आठ क्षेत्रहरूमा नेपालले गरेको प्रगतिबारे अध्ययन गर्नेछ । आइकाओले लेजिसलेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयरवर्थनेस, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस र एरोड्रम एन्ड ग्राउन्ड एड्सबारे अध्ययन गर्छ । आइकाओको पछिल्लो अनसाइट अडिट रिपोर्टले नेपालको हवाई सुरक्षामा धेरै प्रगति गरेको देखाएको छ । 

आइकाओले नेपालको हवाई सुरक्षा ग्लोबल एभरेजभन्दा ३.३४ प्रतिशत बढी अर्थात् ७०.१ प्रतिशत रहेको रिपोर्ट दिएको छ । जबकि अघिल्लो अडिट रिपोर्टमा औसत परिपालना दर (इफेक्टिभ इम्लिमेन्सन रेट) ६६.७६ प्रतिशत रहेको थियो । आइकाओको विश्वको औसत परिपालना दर ६७.२ प्रतिशत रहेको छ । आइकाओले दिएको रिपोर्टबाट हौसिएको प्राधिकरणले यसलाई ८० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । 

अमेरिकी प्रतिनिधिले बिहीबार, शुक्रबार र शनिबार तीन दिनसम्म उड्डयन क्षेत्रको अध्ययन गरेर शनिबारै स्वदेश फर्किने कार्यक्रम छ । नेपालले हवाई सुरक्षामा गरेको काम–कारबाही र प्रगति अध्ययन गर्नेछ । यस्तै, अमेरिका–नेपाल सीधा हवाई उडानको सम्भाव्यताबारे पनि अध्ययन तथा छलफल गर्ने प्रवक्ता निरौलाले बताए । सरकारले अमेरिकासँगै स्विट्जरल्यान्डसँग पनि हवाई सेवा सञ्चालनबारे सम्झौता गरेको छ । अहिले नेपालले ४० मुलुकसँग दुईपक्षीय हवाई सम्झौता गरिसकेको छ । तर, २० वटा मुलुुकबाट मात्र नियमित उडान हुँदै आइरहेको छ ।

यसअघि अक्टोबर ६–८ सम्म युरोपेली युनियन (इयू)को टोलीले नेपालको हवाई सुरक्षाबारे अध्ययन गरेर फर्किसकेको छ । अध्ययनपछि टोलीले नेपालले हवाई सुरक्षामा उल्लेख्य सुधार गरेको प्रतिक्रिया दिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । इयूले नेपालमा दर्ता भएका वायुसेवालाई युरोपेली आकाशमा उडान प्रतिबन्ध (कालोसूची) लगाएको एक दशकपछि कालोसूचीबाट हटाउने संकेत दिएको उनको भनाइ छ ।

 इयूले डिसेम्बर २०१३ देखि नेपाली वायुसेवालाई युरोपेली मुलुकमा उडान गर्न नपाउने गरी गम्भीर सुरक्षा चासो लिस्टमा राखेको छ । जुलाई २०१२ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले नेपाली वायुसेवाको उडान सुरक्षामा जोखिम बढेको भन्दै गम्भीर सुरक्षा चासोको लिस्टमा राखेको थियो । आइकाओको त्यही अडिटलाई आधार बनाएर इयूले पनि नेपाली वायुसेवालाई कालोसूचीमा राखेको हो । आइकाओले नेपाली हवाई क्षेत्रको सुरक्षामा प्रगति भएको ठहर गर्दै सन् २०१७ मै सुरक्षा चासोको लिस्टबाट हटाइसकेको छ । तर, इयूको सुरक्षा चासो भने १० वर्षदेखि यथावत् छ ।