१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:४६:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भट्टलाई विरासत गुम्ने डर, बलायरलाई गठबन्धनको भर

माओवादी छाडेर एमाले बनेपछि लेखराज भट्ट पहिलो परीक्षामा छन्, गृहजिल्ला डोटीमा टिकट नपाएपछि कैलाली सरेका वीरबहादुर बलायर जनअनुमोदनको कसरतमा छन्

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:४६:oo

सुदूरपश्चिममा डडेल्धुरापछि धेरैले चासोपूर्वक हेरेको निर्वाचन क्षेत्र हो कैलाली ४ । यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि एमाले सचिव एवं प्रदेश इन्चार्ज लेखराज भट्ट र गठबन्धनबाट कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर प्रतिस्पर्धामा छन् ।

माओवादी छाडेर एमाले प्रवेश गरेका भट्ट ०६४ यता हरेक निर्वाचनमा कैलाली ४ बाट उम्मेदवार बनेका छन् । त्यसयताका तीन चुनावमध्ये दुईपटक जित र एकपटक हार व्यहोरेका उनलाई यसपालि आफ्नै विरासत जोगाउने चुनौती छ । माओवादी र एकीकृत समाजवादीको सहारामा पूर्वमन्त्रीसमेत रहेका कांग्रेस प्रदेश सभापति बलायरले उनलाई कडा टक्कर दिँदै छन् । 

०६४ को संविधानसभा निर्वाचनमा भट्ट यो क्षेत्रबाट माओवादीबाट पहिलोपटक निर्वाचित भएका थिए । ०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा भने उनी कांग्रेस नेता दीर्घराज भाटसँग पराजित भए । त्यसवेला कांग्रेस, माओवादी र एमाले एक्लाएक्लै चुनाव लडेका थिए । 

०७४ को निर्वाचनमा वामगठबन्धन भएपछि एमालेको सहयोगमा भट्टले कांग्रेसका सुनीलकुमार भण्डारीलाई हराए । भट्ट ३१ हजार तीन सय ५९ मतसहित विजयी हुँदा भण्डारीले २० हजार नौ सय ६० मत प्राप्त गरे । 

अघिल्लो चुनावमा कांग्रेस एक्लै तथा एमाले र माओवादी एक ठाउँमा थिए । यतिवेला परिस्थिति फेरिएको छ । अहिले कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन छ । विभाजन भएको एमाले एक्लै प्रतिस्पर्धा गर्दै छ । 

पार्टी विभाजनको असर एमालेलाई तुलनात्मक रूपमा यो क्षेत्रमा बढी परेको देखिन्छ । भट्ट स्वयं पनि माओवादी छाडेर एमालेमा पुगेका छन् । तर, यो क्षेत्रका उनीनिकट अधिकांश नेता, कार्यकर्ता उनको पछि लागेनन्, माओवादीमै रहे । 

भट्ट एमाले भएपछि पहिलोपटक चुनावमा लड्न लागेकाले पनि यो क्षेत्रलाई धेरैले चासोपूर्वक हेरेका हुन् ।

कांग्रेसको प्रभाव बलियो रहेको क्षेत्र नम्बर ४ मा माओवादी र समाजवादीको जनमत पनि राम्रो छ । गठबन्धन हुँदा एमाले स्वाभाविक कमजोर देखिएको छ । तर, पटक–पटक मन्त्री भइसकेका सुदूरपश्चिम प्रदेशकै शीर्ष नेता भट्ट ‘व्यक्तिगत प्रभाव’ले तेस्रोपटक जित निकाल्ने दाउमा छन् । 

यो क्षेत्रमा डोटीबाट बसाइँ सरी आएका मतदाताको बाहुल्य छ । डोटीबाटै बसाइँ सरेकाले भेगीय रूपमा र व्यक्तिगत प्रभावले पनि यसअघि भट्टको जित सहज भएको थियो ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोटी गठबन्धनमा एकीकृत समाजवादीको भागमा परेपछि प्रदेश सभापति बलायरलाई कांग्रेसले कैलाली ४ बाट उम्मेदवार बनाएको हो । ०६४ र ०७४ को निर्वाचनमा पराजित भएका बलायर ०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा डोटी १ बाट निर्वाचित भएका थिए । त्यसपछि भौतिक पूर्वाधारमन्त्री बने । 

डोटीबाट बसाइँ सरी आएका मतदाताको बाहुल्य रहेकाले उनलाई पार्टीले कैलाली ४ बाट उम्मेदवार बनाएको हो । राज्य पुनर्संरचनापछि एउटै क्षेत्र बनेको डोटीमा गठबन्धनबाट एकीकृत समाजवादीका नेता प्रेम आले उम्मेदवार छन् । आलेले ०७४ को निर्वाचनमा बलायरलाई एक हजार ६ सय ३२ मतान्तरले पराजित गरेका थिए ।

प्रदेश राजधानी र गेटामा मेडिकल कलेज चुनावी मुद्दा
भट्ट र बलायर दुवैले प्रदेशको राजधानी निर्माण र गेटामा मेडिकल कलेज सञ्चालनलाई चुनावी एजेन्डा बनाएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिए पनि जग्गाको भोगाधिकार नपाउँदा पूर्वाधार निर्माणको काम सुरु भएको छैन । 

भट्टले आफ्नै अग्रसरतामा गोदावरी राजधानी तोकिएको दाबी गर्दै आएका छन् । बलायरले यसअघि डोटीमा राजधानी हुनुपर्ने आवाज उठाउँदै आएका थिए । प्रदेश सभाले राजधानी तोकिसकेकाले अब गोदावरीमै बन्नुपर्ने र त्यसका लागि आफूले पहल गर्ने भन्दै उनले मतदातालाई आश्वस्त पार्ने कोसिस गरिरहेका छन् । 

अत्तरियामा सोमबार निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्दै भट्टले ‘लेखराजले बनाएको राजधानी’ भनेर प्रदेश सरकारले पूर्वाधार निर्माण अगाडि नबढाएको आरोप लगाए । 

‘हिजो राजधानी डोटी लैजाने भन्नेहरूले अहिले ६ महिनामै म बनाउँछु भन्नु विश्वास गर्ने कुरा हो र ?’ बलायरप्रति लक्षित गर्दै भट्टले भने । चुनावपछि एमाले सरकार आएमा गोदावरीमा राजधानी र गेटामा मेडिकल विश्वविद्यालय बनाएर छोड्ने उनले दाबी गरे । 

कांग्रेसले भने राजधानी निर्माणका लागि भट्टले बेवास्ता गरेको आरोप लगाएको छ । ‘नेकपाको दुईतिहाइ सरकार भएका वेला लेखराजले किन राजधानी निर्माण गर्न सक्नुभएन ?’ कांग्रेसको क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक ललित रोकायाले भने, ‘केन्द्रदेखि प्रदेशमा उहाँ (लेखराज)कै पार्टीको सरकार थियो । तर, पाँच वर्षसम्म राजधानी निर्माण क्षेत्र भनेर बोर्डसमेत टाँगिएको छैन । लेखराजलाई राजधानी निर्माणमा कसले रोकेको थियो ?’ 

राजधानी निर्माण र मेडिकललाई तत्काल अगाडि बढाउने प्रतिबद्धता कांग्रेसले पनि गरेको छ । 

एमालेले दुई–दुईपटक संसद् विघटन गरेर देशलाई अस्थिरतातिर लैजान खोजेको जनताले बुझेकाले पनि गठबन्धनको जित सहज हुने रोकायाले बताए । दुईपटक जितेर पनि लेखराजले आफ्नो क्षेत्रमा केही काम गर्न नसकेको विपक्षीको आरोप छ । 

‘यसअघि यहाँका जनताले लेखराजलाई दुईपटक जिताएर पठाएकै हुन्, तर उहाँले यो क्षेत्रका लागि के काम गर्नुभयो ?’ संयोजक रोकायाले भने, ‘बरु मन्त्री पद जोगाउनका लागि जनताको मतको अपमान गरेर साढे तीन वर्षमै सांसद छोड्न तयार हुनुभयो ।’ 

स्थानीय तह निर्वाचनमा गठबन्धन अगाडि
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा बलायरको जित सहज देखिन्छ । यद्यपि, यसैलाई आधार बनाएर आकलन गर्न भने कठिन छ । किनकि, कांग्रेसभित्र आन्तरिक कलह छ । 

टिकट नपाउनेको आक्रोश मत्थर भइसकेको छैन । बलायरलाई बाहिरबाट आएर टिकट खोसेको आरोप कांग्रेसभित्रै छ । राजधानीको विषयमा बलायरले दिएको अभिव्यक्ति पनि प्रतिपक्षीले यतिवेला सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । 

यो क्षेत्रमा कांग्रेसबाट सुनील भण्डारी दाबेदार थिए । टिकट नपाएपछि असन्तुष्ट उनी चुनावी प्रचारमा देखिएका छैनन् ।
एमालेभित्र पनि आन्तरिक कलह छ । एमालेमा भीम रावल पक्षधरहरू भट्टसँग असन्तुष्ट छन् । गत स्थानीय तहको निर्वाचनका वेला भएको विवाद साम्य भएको छैन । 

पार्टीको निर्वाचनमा भट्टले गोदावरी नगरपालिकाको अध्यक्षमा आफ्ना भाइ गोकर्णलाई अध्यक्ष बनाएको र स्थानीय तह निर्वाचनमा पनि गोदावरीको मेयरमा उनलाई टिकट दिएको भनेर एमालेभित्र असन्तुष्टि छ ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा कांग्रेसले २२ हजार नौ सय ९७, एमालेले २० हजार एक सय ८४, माओवादीले १० हजार तीन सय ६०, समाजवादीले चार हजार २९ र राप्रपाले तीन हजार एक सय ५३ प्राप्त गरेका थिए । 

बागी उम्मेदवार, पार्टीभित्रको आन्तरिक कलह, टिकट वितरणप्रति असन्तुष्टिलगायत विषयले मतपरिणाम प्रभावित हुन सक्छ । यो क्षेत्रमा एकजना स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका छन् । गठबन्धनबाट प्रदेशतर्फ १ मा समाजवादी र २ मा कांग्रेसले उम्मेदवारी दिएको छ । 
 

ad
ad