१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
बरामद नक्कली नोट सार्वजनिक गर्दै प्रहरी 
नवराज मैनाली काठमाडाैं
२o८१ जेठ ५ शनिबार o५:५o:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

चुनाव र चाडपर्वको मौकामा भारतबाट नेपालमा नक्कली नोटको धन्दा 

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o५:५o:oo

चार महिनामै २१ लाख रुपैयाँ नक्कली नोट बरामद, कारोबार एकाएक बढेपछि प्रहरीको विशेष ब्युरो अनुसन्धान गर्दै 

चुनाव र चाडपर्वको मौका छोपेर मधेसका जिल्लामा नक्कली नेपाली नोटको कारोबार चिन्ताजनक रूपमा बढेको छ । खुला सीमाको फाइदा उठाउँदै भारतमा नक्कली नोट छापेर नेपालमा ल्याउँदै गर्दा पछिल्लो चार महिनामा २० लाख ८९ हजार रुपैयाँ बरामद भएको छ । 

ठूलो परिमाणमा नक्कली नोट बरामद हुन थालेपछि प्रहरी प्रधान कार्यालयले यसमा संगठित गिरोह लागेको आशंकामा अनुसन्धान थालेको छ । प्रहरीको विशेष ब्युरोले यस्तो अन्तर्देशीय गिरोहमाथि अनुसन्धान थालेको हो । 

पछिल्लोपटक गत २१ असोजमा बारामा नौ लाख रुपैयाँका नक्कली नेपाली नोट बरामद भएपछि यसमा ठूलै गिरोह सक्रिय हुन थालेको प्रहरी अनुमान छ । भारतबाट सिम्रौनगढ नगरपालिका– ५ कनकपुर हुँदै नक्कली नोट लिएर आउँदै गर्दा भारत मोतिहारी पूर्वी चम्पारण पिपराकोठी बस्ने २५ वर्षीय रञ्जितकुमार मुखियालाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्ने क्रममा कलैया उपमहानगरपालिका– १५ बस्ने ३४ वर्षीय सैनुल्लाह अन्सारी र सिम्रौनगढ नगरपालिका– २ बस्ने ३६ वर्षीय बिनाका मुखिया बिन पक्राउ परेका छन् । अन्सारी र मुखियाले भारतबाट नक्कली नोट मगाएर नेपाली बजारमा फैलाउँदै आएका थिए । 

प्रारम्भिक अनुसन्धानमा चाडपर्व र चुनावको मौका छोपी उनीहरूले बजारमा नक्कली नोट फैलाउने प्रयास गरेको बाराका एसपी होविन्द्र बोगटीले बताए । ‘चुनाव र चाडपर्वकै मौकामा बजारमा नक्कली नोट फैलाउन सजिलो हुने ठानेर उनीहरूले भारतबाट छापेर ल्याएको देखिन्छ,’ एसपी बोगटी भन्छन्, ‘ठूलो परिमाण भएकाले पेसेवर समूह नै सक्रिय देखिन्छ । उनीहरूले विगतमा पनि यसरी भारतमा छापेर नेपालमा नक्कली नोट भिœयाउँदै आएका थिए । उच्च गुणस्तरको फोटोकपी मेसिनमार्फत छापिएका यस्ता नोट सजिलै पहिचान गर्न नसकिने छन् ।’ 

नेपाली बजारमा नक्कली नोट देखिएको यो नयाँ घटना होइन, तर विगतमा थोरै परिमाणमा मात्र भेटिन्थ्यो । पछिल्लो एक वर्षयता ठूलो परिमाणमा, त्यो पनि पटक–पटक भेटिएपछि संगठित गिरोह नै संलग्न भएको आशंकामा प्रहरीले विशिष्टीकृत निकायबाटै छानबिन थालेको छ । धेरै बरामद भएकाले ठूलो परिमाणमा नक्कली नोट बजारमा पुगिसकेको हुन सक्नेसमेत आकलन गरिएको छ । ‘यसरी ठूलो परिमाणमा नक्कली नोट बरामद हुनु अवश्य नै गम्भीर चिन्ताको विषय होे,’ प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राई भन्छन्, ‘यसमा हाम्रा अनुसन्धान गर्ने विशिष्टीकृत निकाय सक्रिय भइसकेका छन् ।’ अहिले पनि विभिन्न जिल्लाका प्रहरी हिरासतमा नक्कली नोटका कारोबारीमाथि अनुसन्धान चलिरहेको छ । विगतका वर्षमा पनि चाडपर्वकै समयमा बजारमा नक्कली नोटको कारोबार धेरै हुने गरेको एक प्रहरी अधिकारी बताउँछन् । चाडपर्वको समयमा नयाँ नोट बजारमा आउने भएकाले यही वेला नक्कली नोट मिसाएर बजारमा वितरण गर्न सजिलो हुने गरेको छ । 

गत साउनयता हरेक हप्ताजसो मधेस प्रदेशका जिल्लामा नक्कली नोट बरामद भएका छन् । सर्लाहीमा गत १८ भदौमा नक्कली नोट कारोबार गर्ने दुईजना पक्राउ परेकोमा उनीहरूलाई खोटाचलनका साथै संगठित अपराध मुद्दासमेतमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । गोडैता नगरपालिका– ३ सिमरा भगवतीपुर बजारमा हिरामान लामालाई प्रहरीले गाडीमा पक्राउ गरेको थियो । उनले गाडीको डिकीमा नक्कली नोट तथा नोटजस्तै कागजी बन्डल राखेका थिए । ‘यसमा संगठित गिरोह नै हुन सक्ने देखेर हामीले संगठित अपराध मुद्दामा अनुसन्धान अघि बढाएका छौँ,’ सर्लाहीका एसपी प्रवीण पोखरेल भन्छन्, ‘पक्राउ परेका लामाले एक लाखको तीन लाख नक्कली नोट दिने र त्यो बैंकले समेत पत्ता लगाउन नसक्ने भनेर धेरैसँग पैसा उठाएको देखिन्छ ।’ सो गिरोहले केमिकलसमेत प्रयोग गरी नक्कली नोट बनाउँदै आएका थिए । 

गत १६ साउनमा रौतहटको एक मेलामा नक्कली नोटको कारोबार भइरहेको अवस्थामा प्रहरीले चारजनालाई पक्राउ गरेको थियो । बौधीमाई नगरपालिका– ३ मा लागेको मेलामा नक्कली नोट दिएर सामान किन्ने सन्तोष पटेल, देवनारायण दास, फुल महमद र नौषाद आलमलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूबाट एक हजार दरका २० वटा नक्कली नोट बरामद भयो । गत १ असारमा रौतहटमै हजार दरका ५० थान नेपाली नोट, दुई हजार दरका २३ थान भारतीय नोट र पाँच सय दरका १० थान भारतीय नोट बरामद गरेको थियो । सीमा क्षेत्रमा सञ्जय सक्सेनालाई त्यसरी सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै, गत वर्ष १ पुसमा रौतहटको परोसा नगरपालिकामा यस्तै नक्कली नोट बरामद भएको थियो । हजार दरका ६९ थान, पाँच सय दरका एक थान नोटसहित भारतीय नागरिक विकास जयसवाल र अजयप्रसाद पक्राउ परेका थिए । 

रौतहटमा नक्कली नोटको कारोबार लामै समयदेखि हुँदै आएको छ । ०७२ मा प्रहरीले नक्कली नोट छाप्नेसहित ६ जनालाई पक्राउ गरेको थियो । मधेस आन्दोलनको समयमा उनीहरूले नक्कली नोट बजारमा लैजाने गर्थे । गत वर्ष २४ साउनमा रौतहटमा नौ लाख ९३ हजार नक्कली नोट बरामद भएको थियो । ईशनाथ नगरपालिका– ४ बाट शत्रुधन ठाकुर, रञ्जित महतो र दीपेन्द्रकुमार महतो पक्राउ परेका थिए । भारतबाट नेपाल ल्याउँदै गर्दा उनीहरू पक्राउ परेका थिए । 

बाराका एसपी बोगटीका अनुसार उनीहरूले पाँच लाख रुपैयाँ दिएर साढे १७ लाख नक्कली रुपैयाँ किन्ने गर्थे । भिडभाडपूर्ण बजार, रातको समय र आपराधिक कामको लेनदेनमा उनीहरूले नक्कली नोटको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । चोरीका मोबाइल खरिद–बिक्री तथा लागुऔषध कारोबार गर्दासमेत नक्कली नोट प्रयोग हुने गरेको छ । यसमा भारतीय र नेपालीको संयुक्त गिरोह सक्रिय देखिएको छ । भारतीय गिरोहसम्म पुग्न नसक्दा भारतमा नक्कली नेपाली रुपैयाँ छाप्ने क्रम रोकिएको छैन । चालु आर्थिक वर्षको चार महिनामै २१ लाख नक्कली नोट बरामद भइसकेको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट जाली नोटको बढ्दो कारोबार चिन्ताको विषय भएको भन्दै यसको न्यूनीकरणका लागि प्रहरीलगायत निकायसँग समन्वय भइरहेको बताउँछन् । ‘पहिलो त यस्ता कारोबार गर्ने गिरोहमाथि कानुनी कारबाही हुनुपर्‍यो, त्यो भइरहेको छ,’ उनी भन्छन्, ‘दोस्रो सर्वसाधारणले पनि नगद कारोबार गर्दा ध्यान दिनुपर्‍यो, नक्कली र सक्कली नोटबारे सचेत हुनुपर्‍यो, तेस्रो डिजिटल कारोबार धेरै गर्दा यस्ता नक्कली नोटसम्बन्धी समस्यामा परिँदैन, त्यसकारण नगद कारोबार सकेसम्म कम गर्नुपर्छ ।’ 

जाली नोटको ‘रेड जोन’मा मधेस 

मधेस प्रदेश प्रहरी कार्यालयको तथ्यांकले नक्कली नोटको कारोबार डरलाग्दो रूपमा बढेको छ भन्ने देखाउँछ । साउनयता मधेस प्रदेशमा २० लाख ८९ हजार पाँच सय रुपैयाँ बरामद भएको छ । सबैभन्दा धेरै बारामा नौ लाख ८२ हजार पाँच सय तथा सप्तरीमा नौ लाख ७६ हजार रुपैयाँ बरामद भएको छ । सिराहामा ३८ हजार, सर्लाहीमा ५४ हजार, रौतहटमा ३० हजार र पर्सामा नौ हजार नक्कली नेपाली रुपैयाँ बरामद भएको छ । करिब चार महिनाको अवधिमा मधेसमा २३ जनालाई नक्कली नेपाली रुपैयाँ कारोबारको आरोपमा पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालयका एसपी सुमनकुमार तिमल्सिनाले बताए । 

 

ad
ad