१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रासस भादगाउँ
२o८१ बैशाख २० बिहीबार o८:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मल्लकालीन युद्धको झल्को दिने ‘खाँ पिहाँवइगु’ जात्रा आज

Read Time : > 1 मिनेट
रासस, भादगाउँ
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२४:oo

बडादसैँको ११औँ दिन पापांकुशा एकादशीको अवसरमा आज मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सुरु हुँदै छ। 

तत्कालीन राजदरबारको रूपमा रहेको लायकुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध–कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिन्छ।

दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले जामा लगाई खड्ग, ढाल र तरबार हातमा बोकेर नगरका विभिन्न टोलमा तत्कालीन युद्धकला प्रदर्शन गर्दछन्।

तत्कालीन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थियो।

जात्रामा दसैँको नवमीमा तलेजु भवानीलाई चढाइएको बलि र कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराइन्छ।

विशेषगरी यो जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष संलग्नता रहन्छ।

जात्रामा महानवमीको राति तलेजुमा बलि दिइएको खःम्येको (राँगाको) टाउकोलाई समेत नगर परिक्रमा गराई प्रदर्शन गरिन्छ । जात्राका अवसरमा बालकुमारीमा भुइँफसी (कुभिन्डो) मार हानेर बलि दिइन्छ।

बलि दिइएको कुभिन्डो प्रसादको रूपमा लिए रोगबाट बच्न सकिने जनविश्वास छ। जात्राको अन्तिममा भुइँफसी (मार हान्ने) भएकाले यसलाई भुइँफसी पालेगु जात्रा पनि भनिन्छ। जात्रा अवलोकनका लागि स्थानीयवासीको ठूलो भिड लाग्ने गर्दछ। 

पायःद्यो : जात्रा सम्पन्न 

विजयादशमीको मध्यरातको समयमा मनाइने भक्तपुरको तलेजुमा पायःद्यो (खड्ग) जात्रा गएराति सम्पन्न भएको छ। तलेजु भवानीको साक्षात रूप मानिने पायःद्यो (खड्ग देवता)लाई रातो कपडाले बेरेर युद्धकवच पहिर्‍याई जात्रा मनाइने गरिन्छ। 

विजयादशमीको राति तलेजु आगम मन्दिरको ख कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शस्त्रअस्त्रसहित तलेजुको प्रतिरूप पायःद्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाध्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने गर्दछ।

जात्राको क्रममा तलेजुमा सम्बद्ध राजोपाध्यायले पायःद्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेकोचोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा छ। 

पायःद्यो दरबार स्क्वायरस्थित स्वर्णद्वार पुगेपछि पंक्तिबद्ध रूपमा प्रतीक्षारत रहेका नवदुर्गा देवगणलाई पालैपालो मन्त्रसिद्धि प्रदान गरिन्छ।

तलेजु भवानीबाट मन्त्रसिद्धि प्राप्तिपछि पायःद्यो नवदुर्गा देवगणसहित यात्रापथमा अगाडि बढ्ने प्रचलन रहेको छ । जात्रा चन्द्रमासको तिथि र गतिका आधार माइन्छ। 

सेतो घोडा जात्रा सम्पन्न
    
तलेजु भवानीका वाहनको प्रतीक सेतो घोडाको जात्रा गएराति सम्पन्न भएको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा गर्ने परम्परा छ।

जात्राअगाडि तलेजुका चार मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरूप तलेजु भवानीलाई कालरात्रि पूजा, टीका साइत पूजा गरी विसर्जन गरिन्छ।

पूजा सम्पन्न भएपछि घोडालाई विधिवत्रुपमा पूजा गरी भेडाको बलि दिइसकेपछि भक्तपुर नगरमा डुलाई घोडा जात्रा सुरु गरिने पूजारी नरेन्द्र जोशीले बताए। 

घोडालाई तलेजुको मूलचोकबाट बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो टोल दरबार क्षेत्रवाट खौमा, इटाछें, भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो टोल दरबार क्षेत्र खिछें, चोछें, भोलाछें, थालाछें, दत्तात्रय, गोलमढी, सुकुलढोका र टौमढी हुँदै नारायणचोकसम्म घुमाई जात्रा सम्पन्न गरिने गरिन्छ। 

ad
ad