मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १७ शनिबार
  • Saturday, 03 December, 2022
नातिनातीनासँग गौरादह–१ की साइँली किस्कु । तस्बिर: चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका
२०७९ असोज १७ सोमबार ०१:१४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विपन्नको घरमा आएन दसैँ

Read Time : > 2 मिनेट
२०७९ असोज १७ सोमबार ०१:१४:००

झापाको गौरादह– १ की ६५ वर्षीया सुकुम्बासी साइँली किस्कुका छिमेकीलाई दसैँको रौनकले छोइसक्यो । तर, उनको आँगनमा अहिलेसम्म दसैँ आएको छैन । दसैँ कसरी टार्ने हो चिन्ताले सताएको छ, साइँलीलाई । 

सधैँको वर्ष छोराले मजदुरी गरेर कमाएर ल्याउँथे र जसोतसो दसैँ मनाउँथ्यो, उनको परिवार । तर, यसपटक दुई महिनाअघिबाटै छोराले काम पाएका छैनन् । त्यसकारण कसरी छाक टार्ने भन्ने चिन्ता भएको वेला आएको दसैँले उनको परिवारलाई छुन सकेको छैन । ‘गरिबलाई केको दसैँ आउनू ? परिवारका पाँचजनालाई बिहान बेलुका के खाने भन्ने चिन्ता छ, दसैँ कसरी मनाउने,’ साइँली भन्छिन् ।

छिमेकीले घरमा रंग लगाउन थाले । केटाकेटीलाई नयाँ लुगा किनिदिए । उनको घरमा फुसको घरमा रंग लगाउनै मिल्दैन । नातीनातिनाले नयाँ लुगा किनिदिन कर गरेका छन् । तर, नयाँ लुगा लगाउन सक्ने अवस्था छैन, यसपटक । 

स्थानीय चुनावअघि उनको घरमा भोट माग्न आएका नेताले अब यसरी विपन्न र सुकुम्बासी भएर बस्न नपर्ने बताएका थिए । तर, चुनावपछि नेता फर्किएर आएका छैनन् । ‘खोइ अस्ति चाडवाडमा मीठो मसिनो खानकै लागि त अप्ठेरो पर्दैन भन्थे । गरिबलाई हेर्छौँ भन्थे,’ उनी भन्छिन्, ‘तर, चुनाव सकिएपछि त कोही आएन । गरिबको कोहीरहेनछ ।’ 

ऋण लिएर दसैँ मनाउन पनि ऋण पाइँदैन । ‘म किस्तामा लागेको छैन । छिमेकीले ऋणमा पत्याउँदैनन्,’ उनी भन्छिन्, ‘सुकुम्बासीलाई पत्याउन् पनि कसरी ?’ 

गौरीगन्ज–३ का सुकुम्बासी श्यामकुमार साहलाई दसैँ कसरी मनाउने भन्ने चिन्ता छ । मीठाई बनाउने कालीगढको रूपमा काम गर्ने साहको पाँचजनाको परिवार उनीसँगै आश्रित छ । गाउँमा भनेको वेलामा काम पाइँदैन । यसपटक दसैँका लागि एक रुपैयाँ पनि जोहो छैन । छोराछोरीले नयाँ लुगा भनिरहेका छन् । तर, उनले किदिन सकेका छैनन् । 

‘चाडवाडमा मीठो मसिनो खाऊँ , नयाँ लुगा केटाकेटीलाई किदिदिऊँ भन्ने त कसलाई हुँदैन र ?,’ उनी भन्छन्,‘तर, पैसा नभएपछि के लाग्छ र ? हामीलाई यसपटक त दसैँ आएको छैन ।’ फूलपातीको दिनदेखि गाउँमा मेला लागेको छ । साहूले उक्त मेलामा मीठाई बनाउन बोलाएका छन् । अब त्यहाँ पाँच दिन काम गरेर दसैँ मनाउने सोचमा छन्, साह । ‘अब मेला लाग्छ । त्यही मेलामा काम गरेर दसैँ मनाउनुपर्ला,’ उनी भन्छन् । विपन्नलाई दसैँ कहिल्यै आउँदैन । दसैँले उल्टै ऋण बोकाएर जान्छ ।

गौरादहका–२ का सुकुम्बासी मंगल मुर्मु अधिँयामा अढाई विघा खेती गर्छन् । तर, साहुलाई आधा दिँदा, मजदुरी, मल र ट्याक्टरको खर्च कटाउँदा उनलाई ६ महिना खाने धान रहँदैन । धान खेतीसँगै मजदुरी गर्छन् । यसपटक त गत वर्षको धान चैतमै सकियो । त्यसपछि जसोतसो मजदुरी गरेर खाँदै आएका थिएँ । 

६ जनाको परिवारलाई मजदुरी गरेर खान निक्कै धौधौ छ । उनका लागि यसपटक दसैँ राम्रो आएन । छोराछोरीलाई नयाँ लुगा किनिदिन सकेनन् । ‘जे छ त्यहीमा खुसी भएर दसैँ मनाउने हो । गरिबका लागि दसैँ र अरू दिनमा खासै फरक हुँदैन,’ उनी भन्छन्,‘एक केजी मासु भनेको छु । त्यही एक केजी मासुले दसैँ मनाउने भन्ने छ ।’ 

उनलाई नगरपालिकाले अधिँया खेती गर्ने भनेर धनीको सूचीमा राखेको छ । छिमेकीलाई सुरक्षित नागरिक कार्यक्रमअन्तर्गत जस्तापाता दिँदा उनले पाएनन् । फुसको छानोसमेत हटाउन सकेका छैनन, मंगलले । ‘दसैँ मनाउने पैसा भएको भए त घरमा टिन लगाउने थिएँ,’ उनी भन्छन्, ‘बर्खामा पानी चुहिएर बस्नै नसकिने हुन्छ । घरको छानो फेर्न सकेको छैन कसरी दसैँ मनाउने ?’

गौरादह–८ का हेल्टेङ माझीको परिवारमा गत वर्षसम्म ठीकैको दसैँ आउँथ्यो । परिवार भेला भएर मीठो मसिनो खाएर दसैँ मनाउँथे । हेल्टेङ कल गाड्ने मिस्त्रीको रूपमा काम गर्थे । त्यहाँबाट आएको पैसालेउनको परिवार ठीकै चलेको थियो । तर, गत फागुनमा पक्षधात भएपछि उनको एकपाटो चल्दैन । श्रीमती गालो माझी उनक ै स्याहारमा हुन्छिन् । 

छोरीले अर्काको खेतबारीमा र मजदुरी गरेर कमाएको पैसाले उनको परिवार चलेको छ । छोरीले मजदुरी गरेकोले जसोतसो खान पुग्छ । तर, यसपटक दसैँ मनाउन भने नपुग्ने श्रीमती गालो बताउँछिन् । ‘गरिब जे छ त्यसैमा खुसी हुनुपर्ने रहेछ,’ उनी भन्छिन्, ‘बिहान बेलुका खान त पुग्दैन कसरी दसैँ मनाउने ?’ 

उनको परिवार मात्रै भए त जसोतसो दसैँ टथ्र्यो । तर, पाहुने आए भने के गर्ने ? भन्ने चिन्ता छ, गालोलाई । ‘हामी मात्र भएको भए त जे खाएर पनि बस्थ्यौँ । तर, दसैँ हो पाहुना त आइहाल्छन् । त्यो वेलामा के गर्ने ? के भन्ने भएको छ,’ उनले नयाँ पत्रिकासँग भनिन् ।