मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज १६ आइतबार १४:०८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डायलाइसिस र गम्भीर रोगका बिरामीको उपचार सहज बनाइने

दसैँ बिदामा सरकारी अस्पतालमा ओपिडी सेवा बन्द

Read Time : > 2 मिनेट
२०७९ असोज १६ आइतबार १४:०८:००

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भने दसैँका वेला पनि ओपिडी सेवा बन्द नगर्ने भएको छ । सरुवा रोग बढिरहेकाले ओपिडी बन्द नगरिने अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए । उनका अनुसार हाल दैनिक एक हजारजनाले ओपिडी सेवा लिइरहेका छन् । त्यस्तै, दुई सयजनाले आकस्मिक सेवा लिन्छन् । दसैँका वेला पनि डेंगु, कोरोना, रेबिजलगायत रोगका बिरामी आउने भएकाले ओपिडी बन्द नगरिने सूचना अधिकारी गौतमले बताए । ‘गत वर्षहरूमा दसैँका वेला ओपिडी सेवा बन्द हुन्थ्यो, तर यसपटक बन्द हुँदैन,’ उनले भने, ‘दसैँ र तिहारमा कर्मचारीले पालो बिदा बस्ने निर्णय भएको छ ।’ 

देशका ठूला सरकारी अस्पतालले दसैँका ६ दिन अत्यावश्यकबाहेकका सेवा ठप्प पार्ने भएका छन् । अस्पतालहरूले १५ देखि २१ असोजसम्म आकस्मिकबाहेक अन्य सेवा बन्द गर्न लागेका हुन् । दसैँको वेला अस्पतालमा बिरामीको चाप कम हुने भएकाले अधिकांश स्वास्थ्यकर्मी बिदा बस्छन् । चाडबाडका वेला बिरामीको संख्या कम हुने कारण देखाउँदै अस्पतालले ओपिडी सेवा बन्द गर्ने गरेका छन् । 

वीर अस्पताल, निजामती अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, गंगालाल अस्पतालमा पनि दसैँको वेला ओपिडी सेवा ठप्प हुनेछ । भर्ना भइसकेका र इमर्जेन्सीमा आउने बिरामीलाई भने यी अस्पतालले आकस्मिक उपचार सेवा प्रवाह गर्नेछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भने ओपिडी सेवा बन्द नहुने जनाएको छ । अन्य सरकारी अस्पतालले भने दसैँको वेला तत्काल अपे्रसन नगर्दा फरक नपर्ने बिरामीलाई दसैँपछिको समय दिने तयारी गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार मंगलबारदेखि त्रिविको ओपिडीमा बिरामी संख्या घटेको छ । दैनिक एक हजार एक सय हाराहारी बिरामी आउने भए पनि मंगलबार दुई सयजना बिरामी ओपिडी सेवा लिन आएका थिए । ‘दसैँको वेला बिरामीको संख्या पनि कम हुन्छ, यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरू पनि बिदामा बस्नुहुन्छ,’ उनले भने, ‘इमर्जेन्सी र इन्डो सर्भिस (अपे्रसन सेवा)बाहेकका अन्य सेवा बन्द हुनेछन् ।’ यस अवधिमा इमर्जेन्सीमा बिरामीले उपचार लिए पनि उनीहरूको अपे्रसन छ भने दसैँपछिको मिति दिइनेछ । तर, तत्काल अपे्रसन गर्नुपर्ने र दसैँअघि नै भर्ना भइसकेका अपे्रसन गर्नुपर्ने बिरामीको उपचार सेवा भने रोकिनेछैन । 

आकस्मिक सेवा र एम्बुलेन्स सेवा २४सै घन्टा उपलब्ध

स्वास्थ्य मन्त्रालयका सहायक सूचना अधिकारी माधवकुमार श्रेष्ठले दसैँको वेला सरकारी अस्पतालले ओपिडी सेवा बन्द गरे पनि आकस्मिक सेवा भने बन्द नहुने बताए । यसबारे मन्त्रालयले सबै सरकारी अस्पताललाई परिपत्र गर्ने तयारी गरेको उनको भनाइ छ । 

तर, अत्यावश्यक सेवासमेत ठप्प पारेमा कारबाही हुने सहायक सूचना अधिकारी श्रेष्ठले बताए । ‘हामीले सरकारी अस्पताललाई गम्भीर रोगका बिरामीको उपचार सेवा ठप्प पार्न दिँदैनौँ, उनीहरूलाई परिपत्र पनि हुन्छ, तर ओपिडी सेवाचाहिँ बन्द हुन्छ,’ उनले भने, ‘इमर्जेन्सीमा आउने र भर्ना भइसकेका बिरामीको हकमा भने उपचार सेवा २४सै घन्टा उपलब्ध हुन्छ ।’ उनका अनुसार दसैैँका वेला विशेषज्ञ चिकित्सक पनि अस्पतालमा कम खट्छन् । कतिपय भने दसैँ–तिहार पालो गरेर बिदा बस्छन् ।

यो समयमा २४सै घन्टा एम्बुलेन्स सेवा र आकस्मिक सेवा अस्पतालले बन्द गर्न पाउनेछैनन् । यसबाहेक दसैँपछि पनि अपे्रसन वा उपचार गर्न मिल्नेलाई डिस्चार्ज गरिनेछ । तर, तत्काल अपे्रसन तथा उपचार गर्नुपर्ने बिरामीलाई अस्पतालले फर्काउन पाउनेछैनन् । भर्ना भइसकेका र अपे्रसनको पालो कुरेका बिरामीलाई पनि अस्पतालले फर्काउन पाउनेछैनन् ।

बिरामीको चाप कम 

दसैँ शुरु भएसँगै उपत्यकाका सरकारी अस्पतालमा बिरामीको संख्या घटेको छ । आकस्मिक सेवाबाहेकका बिरामीको संख्या कम हुँदैै गएको अस्पतालले जनाएका छन् । १५ असोजदेखि अस्पतालले ओपिडी सेवा बन्द गर्नेछन् । त्यसयता ओपिडी खुला भए पनि मंगलबारदेखि भने बिरामीको संख्या न्यून छ । त्रिवि शिक्षण अस्पतालको ओपिडी कक्षमा मंगलबार दुई सयजना बिरामी आएका छन् । यसमध्ये पनि पित्तथैली र किड्नीमा पत्थरी जमेका बिरामी सातजना छन् ।

अस्पतालले उनीहरूको अवस्था सामान्य रहेको भन्दै दसैँपछि मात्रै बोलाएको छ । त्यस्तै, अन्य बिरामीले नियमित चेकजाँच वा डाक्टरसँग परामर्श सेवा लिएका छन् । यसबाहेक ७३ जना मंगलबार इमर्जेन्सी कक्षमा भर्ना भएका छन् । 
त्यस्तै, निजामती अस्पतालमा ६ सय ६० जनाले ओपिडी सेवा लिएका छन् । डेंगुका कारण ओपिडीमा जाँच गराउन आउनेको संख्या बढेको अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेलले जानकारी दिए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय, वीर अस्पतालमा चार सय ४६ जनाले ओपिडी सेवा लिएका छन् । बुधबारदेखि यो संख्या थप घट्दै जानेछ । यद्यपि, इमर्जेन्सी कक्षमा पनि बिरामीको संख्या कम हुँदै जाने अनुमान गरिएको छ ।

डायलाइसिस र गम्भीर रोगका बिरामीको उपचार सहज बनाइने

विगतमा डायलाइसिस र अन्य गम्भीर रोगका बिरामीले दसैँका वेला उपचार सेवा नपाउने अवस्था थियो ।

स्पतालहरूको लापरबाहीले कैयौँ बिरामी उपचारबाट वञ्चित भएका थिए । त्यसमध्ये कतिपयले त एम्बुलेन्स सेवासमेत पाएका थिएनन् । ह्विलचेयरमा समेत उपचार गराउन अस्पताल पुग्नेको संख्या पनि थियो । तर, एम्बुलेन्स र आकस्मिक उपचार सेवा यस वर्ष नरोक्न स्वास्थ्य मन्त्रालयले सरकारी अस्पताललाई कडाइ गर्ने भएको छ । ‘ओपिडीबाहेकका अन्य सेवा अस्पतालले दसैँका वेला प्रदान गर्नुपर्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले भने, ‘दसैँको बहानामा गम्भीर रोगका बिरामीको उपचार रोक्ने अस्पताललाई कारबाही हुन्छ ।’ 

उनका अनुसार यसबारेमा एक–दुई दिनमा अस्पताललाई परिपत्र गरिनेछ । कुनै पनि अस्पतालले इमर्जेन्सी सेवा रोक्न पाउनेछैनन् । कम्तीमा ६० प्रतिशत स्वास्थ्यकर्मी अस्पतालमै हुनुपर्नेछ । उनीहरूले गम्भीर रोगका बिरामीलाई सहज उपचार सेवा दिनुपर्नेछ । डाइलाइसिसका बिरामीलाई पुरानै तालिकाअनुसार उपचार सेवा दिनुपर्नेछ ।