१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७९ असोज १२ बुधबार ०८:१७:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमालेको नयाँ रणनीति : कांग्रेसको असन्तुष्ट समूहसँग घोषित सहकार्यको विकल्प खुला

सत्तागठबन्धनको असन्तुष्टि विश्लेषणपछि मात्रै लोसपा र राप्रपासँग सिट बाँडफाँड

Read Time : > 3 मिनेट
२०७९ असोज १२ बुधबार ०८:१७:००

सत्तागठबन्धनभित्रको सिट बाँडफाँड संख्यासहित बाहिर आएपछि कांग्रेसको कोइराला समूहको सम्भावित विद्रोहको स्वरूप आकारमै देखिने, माओवादी र एकीकृत समाजवादीभित्र पनि असन्तुष्टिको स्वरूप देखिन सक्ने एमालेको आकलन छ ।  त्यसलाई विशलेषण गरेर मात्र लोसपा, राप्रपालगायत साना दलसँगको तालमेल टुंग्याउने तथा आफ्ना उम्मेदवारचयन गर्ने एमालेको रणनीति छ । 

प्रमुख प्रतिपक्षी एमाले सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँडको असन्तुष्टिलाई उपयोग गर्ने रणनीतिमा छ । खास गरेर कांग्रेसमा शेखर कोइराला र गगन थापा समूहको असन्तुष्टिमाथि नजर लगाएको छ । सत्तागठबन्धनभित्र सिट बाँडफाँड टुंगिएर असन्तुष्टिको स्वरूप सतहमा आएपछि मात्र सरकारबाहिरका लोसपा, राप्रपालगायत साना दलसँगको तालमेल टुंग्याउने एमालेको रणनीति छ । प्रत्यक्षतर्फको मनोनयन नजिकिँदै जाँदा गठबन्धनभित्र सिट बाँडफाँड पेचिलो बन्दै जाने र त्यसको असर कांग्रेसमा धेरै देखिने एमालेको बुझाइ छ । 

कोइराला–थापा समूहको असन्तुष्टिको स्वरूप मसिनो ढंगले विश्लेषण गर्ने, उनीहरूको प्रभाव क्षेत्र रहेका स्थानबाट खडा हुन सक्ने कांग्रेसका विद्रोही उम्मेदवारलाई कतिपय स्थानमा घोषित रूपमै सहयोग गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले हतारमा अन्य दलस“ग सिट बाँडफाँड नटुंग्याउने एमालेको रणनीति छ । त्यसपछि मात्रै लोसपा, राप्रपालगायत दलसँगको स्थानीय तालमेलका क्षेत्रबारे ठोस निर्णय लिने नेतृत्वको योजना छ । अहिलेलाई उनीहरूसँगै राप्रपा नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीसम्मलाई एमालेले अनौपचारिक संवादमै राखेको छ ।

दसैँअगावै प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने बताएको एमालेले यही रणनीतिअनुसार नहतारिएको एक नेताले बताए । गठबन्धनको सिट बाँडफाँड नटुंगिएकै कारण प्रत्यक्षतर्फको उम्मेदवारको टुंगो लगाउन  १२ असोजमा बस्ने भनिएको सचिवालय बैठक दुई दिन लम्बिने अवस्था बनेको ति नेताको भनाई छ । ‘बुधबारका लागि बैठक बस्ने कि भन्ने थियो, तर अब एक–दुई दिनका लागि लम्बिएको छ, बिहीबार बस्न पनि सक्छ, अरू एक–दुई दिन पर जान पनि सक्छ,’ अध्यक्ष केपी ओलीनिकट एक पदाधिकारीले भने । 

गठबन्धनभित्र पैदा भएको असन्तुष्टि, प्रत्यक्षतर्फको उम्मेदवार चयन, साना दलसँगको तालमेललगायत विषयमा ओलीले मंगलबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहित केही निकटस्थसँग छलफल गरेका थिए । त्यसपछि ओली गठबन्धनभित्रको असन्तुष्टि सूक्ष्म ढंगले विश्लेषण गरेर मात्रै सबै निर्णय गर्ने मनस्थितिमा पुगेका छन् ।

‘प्रत्यक्षतर्फको सिट टुंग्याउन हामीभित्र खासै समस्या छैन, ६० आसपासको सिट तलबाटै सर्वसम्मत टुंगिएर आएको छ, अरू ५० सिटमा तलबाटै दुईजनाको मात्र नाम आएकाले कसलाई टिकट दिने विषयमा उच्च तहमा लगभग अन्डरस्ट्यान्डिङकै अवस्था बनिसकेको छ,’ ओलीसँग छलफल गरेका एक नेताले नयाँ पत्रिकासँग भने, ‘अरू ३० देखि ४० सिटमा मात्र कसरी टुंग्याउने भन्नेमा सघन अध्ययन भइरहेको छ, त्यसपछि अन्य सिटमा गठबन्धनभित्रको असन्तुष्टिलाई पनि हेरेर स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने भन्ने पार्टीको तयारी छ, त्यसैले भरेभोलिमै प्रत्यक्षको टिकट टुंग्याइहाल्ने भन्ने छैन ।’ 

जसपा र लोसपाबाट प्रवेश गरेका कतिपयलाई टिकट दिनुपर्ने भएकाले पनि ओली सबै गृहकार्य पूरा गरिसकेपछि मात्र केन्द्रीय सचिवालयको बैठक बोलाउने मनस्थितिमा छन् । ‘जिल्ला र प्रदेशबाट एकखालको सिफारिस आएको छ, तर कतिपय पार्टी प्रवेश गरेकालाई टिकट दिने भनेर ल्याइएकाले सचिवालयले सिफारिसबाहिर गएर अर्कै व्यक्तिका नाममा निर्णय गर्नुपर्ने भएकाले पनि आन्तरिक गृहकार्य पूरा गर्नका लागि पनि सचिवालयको बैठक धकेलिएको हो,’ एक पदाधिकारीले भने । 

गठबन्धनभित्रको सिट बाँडफाँड संख्यासहित बाहिर आएपछि कोइराला समूहको सम्भावित विद्रोहको स्वरूप आकारमै देखिने, माओवादी र एकीकृत समाजवादीभित्र पनि असन्तुष्टिको स्वरूप देखिन सक्ने एमालेको आकलन छ । कोइराला स्वयंले अध्यक्ष ओलीलाई १६ भदौमा भेटेर बेग्लै छलफल गरेका थिए । उनका समूहका डा. मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, गुरुराज घिमिरेलगायत केही नेता एमालेसँग लगातार सम्पर्कमा छन् । त्यस्तै, टिकट पाउने सम्भावना नभएका जिल्लाका कांग्रेस नेताहरूलाई पनि एमाले नेताहरूले सम्पर्कमै राखेका छन् । कोइराला समूहका केन्द्रीय तहका नेताहरूले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएको स्थितिमा आफ्ना उम्मेदवारलाई फिर्ता गराएर भए पनि धेरैलाई सहयोग गर्ने ओली स्वयंले वचन दिँदै आएका छन् ।

उता, लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोकै नेतृत्वमा वार्ता टोली गठन गरे पनि एमाले नेताहरू औपचारिक वार्ताका लागि अझै तयार छैनन् । पछिल्लो स्थानीय तहको निर्वाचन परिणाममा प्राप्त मतभन्दा पनि लोसपाको ६ गुणा बढी सिटमा दाबी आएको भन्दै एमाले अध्यक्ष ओली हच्किएका छन् । लोसपाले प्रतिनिधिसभामा १९ र प्रदेश सभामा ३४ सिट दाबी गरेको छ । 

जसपाले सत्तारूढ गठबन्धनभित्र दाबी गरिरहेकै हाराहारीमा लोसपाले सिट मागेपछि ओली तालमेललाई तत्काल टुंग्याइहाल्ने पक्षमा छैनन् । जब कि पछिल्लो जनमतअनुसार एक्लै प्रतिस्पर्धा गर्दा लोसपाले तीनवटा क्षेत्रमा मात्र जित्न सक्ने एमालेको प्रक्षेपण छ । ‘लोसपासँग अनौपचारिक तहमा वार्ता चलिरहेको छ, तर तत्काल निष्कर्षमा पुगिहाल्ने अवस्था छैन, किनभने उहाँहरूले स्थानीय निर्वाचनको पछिल्लो परिणामभन्दा धेरै सिटमा दाबी राख्नुभएको छ,’ एमाले नेता महेश बस्नेतले नयाँ पत्रिकासँग भने । एमाले भने आफूभन्दा बलियो रहेका क्षेत्रमा उसलाई सहयोग गर्ने, लोसपाको मत लिएर जित सुनिश्चित गर्ने योजनामा छ । 

दुवै पार्टीले तालमेलमा रुचि देखाएपछि सुरुमा एमालेबाट विष्णु रिमाल र लोसपाबाट सर्वेन्द्रनाथ शुक्लले विशेषतः लुम्बिनी प्रदेशका सिट बाँडफाँडमा छलफल गरेका थिए । लोसपाबाट दुई सिटको प्रस्ताव राखे पनि रिमाल शुक्ल उठ्ने क्षेत्रमा मात्र तालमेलका लागि तयार भएका थिए । त्यसलगत्तै मधेस प्रदेशसहित समग्रमा कुराकानी गर्न राजेन्द्र महतोको नेतृत्वमा लोसपाले नौ सदस्यीय वार्ता टोली गठन ग¥यो । त्यसलगत्तै ओलीलाई महतोले लोसपाले संघमा १९ र प्रदेशमा ३४ सिटको प्रस्ताव बुझाएका थिए । तर, त्यस्तो प्रस्तावपछि जसपाले जस्तै लोसपाले पनि धेरै सिट मागेको भन्दै थप छलफलका लागि ओली इच्छुक देखिएनन् ।

ओली ६–७ सिटसम्म मात्र दिन तयार देखिएका छन् । यद्यपि लोसपाले वार्ता टोलीलाई छोट्याएर महतोसहित अनिल झा, जितेन्द्र सोनल र सर्वेन्द्रनाथ शुक्ल मात्र रहेको टोली रहेको कोर टिम बनाएको छ । यो टोलीले एमालेसँग छलफल गर्न चाहे पनि मंगलबारसम्म औपचारिक तहमा छलफल अघि बढेको छैन । लोसपाका वार्ता टोली सदस्य शुक्लले पनि औपचारिक वार्ता अझै अघि नबढेको बताए । ‘सुरुमा लुम्बिनी प्रदेशको सवालमा कुराकानी भएर लगभग टुंगिएको थियो त्यसपछि मधेस प्रदेशबारे छलफलका लागि वार्ता टोली नै बनाइएको हो,’ शुक्लले भने, ‘त्यसपछि थप के–कस्तो प्रगति भयो मेरो जानकारीमा छैन, तर हामी अध्यक्षकै तहबाट तालमेल टुंग्याउने पक्षमा छौँ ।’

एमाले भने स्थानीय तह निर्वाचन परिणामअनुसार लोसपाको तीन सिट मात्र जित्ने अवस्था रहेकाले बरु उसका थप नेतालाई भित्र्याउने र कतिपयलाई एमालेको सूर्य चिह्नबाट उठाउने अर्को रणनीतिमा छ । खासगरी पर्सामा विमल श्रीवास्तव, सप्तरीमा राजकिशोर यादवलगायत कम्तीमा चारजना लोसपाका नेताहरू सूर्य चिह्नबाट उठ्न इच्छुक देखिएको एमालेको दाबी छ । त्यस्तै, उमाशंकर अरगरिया, अमृता अग्रहरीसहित अरू केहीलाई टिकट दिने गरी प्रवेश गराइएको र प्रवेशको सिलसिलाले अझै निरन्तरता पाउने सम्भावना भएकाले लोसपासँगको तालमेल टुंग्याइहाल्ने पक्षमा एमाले देखिएको छैन । 

उता, राप्रपासँग भने एमाले पाँच सिटसम्म तालमेलका लागि तयार देखिएको छ । झापामा राजेन्द्र लिङ्देन, चितवनमा विक्रम पाण्डे, रूपन्देहीमा दीपक बोहरासहित अर्को एक क्षेत्र, बाँकेमा धवलशमशेर जबरालाई छोड्न एमाले तयार देखिएको छ । तर, राप्रपाले भने महामन्त्री कुन्ती शाहीका लागि दैलेखमा थप एक सिट माग गरिरहेको छ । त्यस्तै, मकवानपुरमा पनि राप्रपाले संघमै दाबी गरिरहेको छ । राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ र महामन्त्री भुवन पाठकले एमालेसँग ६–७ चरण कुरा गरिसकेका छन् । राप्रपासँगको तालमेल भने लगभग हस्ताक्षर मात्र बाँकी रहेको स्रोतले जनाएको छ । राप्रपा अध्यक्ष लिङ्दने ओलीसँग निरन्तर सम्पर्कमै छन् ।