मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज ७ शुक्रबार ०७:४६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

तनावले बिगार्न सक्छ जीवन

Read Time : > 1 मिनेट
२०७९ असोज ७ शुक्रबार ०७:४६:००

तनाव आफैँमा कुनै समस्या होइन । गाह्रो परिस्थिति, आकस्मिक घटना वा चुनौती सामना गर्नुपर्दा व्यक्तिको शरीर, मन र व्यवहारमा देखिने प्रतिक्रिया हो । कुनै समस्याविना नै तनावको महसुस हुन्छ भने त्यो डिप्रेसन, एन्जाइटीजस्ता मानसिक समस्याको लक्षण हुन सक्छ । 

तनाव सधैँ नकारात्मक हुन्छ भन्ने हुँदैन । सकारात्मक तनावले व्यक्तिलाई उन्नति, प्रगति र सफलताका लागि ऊर्जा प्रदान गरिरहेको हुन्छ, उसलाई आफ्नो लक्ष्यमा पुग्न ऊर्जा दिन्छ ।  तनाव एक किसिमको मानसिक दबाब हो । मानसिक तनाव हुँदा शरीरबाट कर्टिसोल नामको स्ट्रेस हर्मोन अत्यधिक मात्रामा  निस्किन्छ । जसले गर्दा हामीलाई तनावको महसुस गराउँछ । 

दीर्घकालीन तनावका असर 

  • लामो समयसम्म तनाव रहिरहेमा यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ । 
  • तनावको वेला विभिन्न किसिमका लक्षण देखिन्छ । मुटुको धड्कन बढ्ने, रगतमा ग्लुकोजको मात्रा बढ्ने,  थकाइ लाग्ने, टाउको, पेट वा पूरै शरीर दुख्ने, रक्तचाप घटबढ हुने, स्वाँस्वाँ हुने र सास फेर्न गाह्रो हुने, डर लाग्ने, खाना खान मन नलाग्ने वा सधैँको भन्दा बढी खाने, पेट गडबड हुने, पखाला लाग्ने र कब्जियत हुने, निद्रामा गडबडी हुने,  दुब्लाउने वा मोटाउने, बान्ता हुने, यौनइच्छामा असर गर्नेलगायत शारीरिक लक्षण देखिन्छन् । 
  • मानसिक लक्षणमा चिडचिडाहट हुने, झर्को लाग्ने, झनक्क रिस उठ्ने, काम गर्न मन नलाग्ने, एकाग्रता नहुने, मनमा अनावश्यक कुरा खेल्ने, दिक्क लाग्ने, बेचैनी हुनेलगायत हुन् । 
  • तनावले व्यक्तिलाई भावनात्मक रूपमा समेत असर पुर्‍याउँछ । व्यक्तिको आनिबानी, व्यवहार र सम्बन्धमा समेत परिवर्तन आउन सक्छ  । 

तनाव व्यवस्थापनका उपाय 

  •  फुर्सद निकालेर आफूलाई रमाइलो लाग्ने क्रियाकलापमा बढी समय बिताउने र हाँस्ने, रमाउने प्रयास गर्नुपर्छ । 
  • ध्यान तथा श्वासप्रश्वासको अभ्यासले पनि तनाव कम गर्न सहयोग पुर्‍याउँछ । तनाव दिने घटनालाई नसम्झँदा नै फाइदा हुन्छ भने सो घटनालाई नसम्झने, केही समयका लागि त्यो परिस्थितिबाट टाढा हुने गर्नुपर्छ । तर, समस्याबाट भाग्न हुँदैन । 
  • तनावको वेला जाँडरक्सी  खाने, आफूलाई हानि पुर्‍याउने व्यवहार गर्ने, झैझगडा गर्ने, अत्यधिक हरेस खाने, भावुक हुने जस्ता व्यवहार गर्नुहुँदैन । यस्ता व्यवहारले थप समस्या पर्छ ।

तनावबाट कसरी बच्ने ?

  • जुन कुरा/घटना आफ्नो हातमा छैन, त्यसलाई स्वीकार गर्ने ।
  • जीवनशैलीलाई सन्तुलित र व्यवस्थित बनाउने । खानपान, आराम /निद्रा,  व्यायाम, ध्यान, मनोरञ्जनमा विशेष ध्यान दिने ।
  • कुलत, गलत व्यक्तिको संगतबाट सधैँ टाढा बस्ने । 
  • तनावको वेला आफ्ना खुबी, सबल पक्ष, सफलता, उपलब्धि र क्षमताका बारे कुरा गर्ने, कपीमा लेख्ने वा सम्झिने ।
  • पूरा नहुने र अनावश्यक कुरामा जिद्दी नगर्ने । चाहिनेभन्दा बढी महत्वाकांक्षी नहुने ।
  • आवश्यकताअनुसार मनोपरामर्श सेवा लिने ।