१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ६ बिहीबार
  • Saturday, 26 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ६ बिहीबार १४:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धनको अहंकारको हिसाब जनताले मंसिर ४ मा गर्नेछन् : अध्यक्ष ओली

प्रधानमन्त्रीले संविधानको धारा १८१ उल्लंघन गरेको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ६ बिहीबार १४:o५:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनको अहंकारको हिसाबकिताब जनताले आगामी ४ मंसिरको निर्वाचनबाट गर्ने चेतावनी दिएका छन्। राष्ट्रपतिको सुझावलाई लत्याएर अनधिकृत ठाउँमा अनाडी व्यक्तिहरू बसेर नागरिकता विधेयक बहुमतको बलमा पारित गर्ने निर्णय गरेको भन्दै ओलीले त्यस्तो अहंकारको हिसाबकिताब जनताले गर्ने चेतावनी दिएका हुन्।

पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले गठबन्धन सरकारले विवेक र संयमता गुमाएर राष्ट्र र जनताको हितविपरीत मसल्सको भाषा बोलिरहेको उनको आरोप थियो। गठबन्धनले राष्ट्रपति संस्थाको अपमान गर्नुलाई नै महानता ठानिरहेको भन्दै ओलीले गठबन्धनले संविधानको धारा १८१ उल्लंघन गरेको दाबी गरे।

‘संविधानको धारा १८१ अनुसार विधेयक सदनमा प्रस्तुत गर्नुअघि राष्ट्रपतिलाई भेटेर ब्रिफिङ गर्नुपर्छ, परामर्श गर्नुपर्छ, स्वीकृति लिनुपर्छ। तर, यो अहंकारी गठबन्धनले एकपटक पनि संविधान पालना गरेन। उल्लंघन मात्रै गरिरह्यो, खोपडी सकिएर मसल्सको भाषा मात्रै बोल्यो,’ उनले भने, ‘यो लोकतान्त्रिक होइन, तानाशाही अधिनायकवादी सरकार हो। यसले मानव अधिकार उल्लंघन गरिरहेको छ, संविधान उल्लंघन गरिरहेको छ।’

ओलीले गठबन्धनसँग चारतिरबाट जोडजाड गरेको नक्कली बहुमत मात्र रहेको दाबी गर्दै चुनावसम्म त्यस्तो नक्कली बहुमत सकिने बताए। अर्को प्रसंगमा ओलीले माओवादी केन्द्र समाप्तिको दिशातिर लम्किएको दाबी पनि गरे। केही समयपछि माओवादी सकिएर केन्द्र मात्र बाँकी रहने उनले बताए। ‘माओवादी सकिएर केन्द्र मात्र बाँकी रहन्छ। त्यो केन्द्र परिवार र आफन्तजनको क्लबजस्तो हुनेछ,’ ओलीले भने।