मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश सुवेदी काठमाडाैं
२०७९ असोज १ शनिबार ०७:२८:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

छैटौँ महिला साफ च्याम्पियनसिप : ऐतिहासिक जितसँगै नेपाल पाँचौँपटक फाइनलमा 

Read Time : > 3 मिनेट
रमेश सुवेदी काठमाडाैं
२०७९ असोज १ शनिबार ०७:२८:००

नेपाल महिला फुटबल टोलीले पाँचपटकको च्याम्पियन भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै छैटौँ महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा शुक्रबार भएको सेमिफाइनलमा सदाबहार तगारो बन्दै आएको भारतलाई १–० ले स्तब्ध पार्दै नेपाल पाँचौँपटक उपाधिनजिक पुगेको हो । बाक्लो घरेलु दर्शकमाझ रश्मिकुमारी घिसिङको एक मात्र निर्णायकको सहयोगमा नेपालले भारतलाई पहिलोपटक साफ च्याम्पियनसिपमा हाराएको हो । 

पहिलो हाफको इन्जुरी समयमा रश्मिले  गोल गर्न सफल भइन् । भारत पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल खेल्नबाट वञ्चित भएको छ । प्रतियोगितामा भारतले लगातार दोस्रो हार व्यहोर्‍यो । समूह ‘ए’को अन्तिम खेलमा भारत बंगलादेशसँग ३–० ले पराजित भएको थियो । नेपालको खेलअघि बंगलादेशले भुटानलाई ८–० ले हराउँदै फाइनल स्थान पक्का गरेको थियो । दोस्रो सेमिफाइनलमा भुटानविरुद्ध बंगलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक गरिन् ।

उपाधिका लागि नेपालले बंगलादेशविरुद्ध सोमबार सामना गर्नेछ । नेपालका प्रशिक्षक कुमार थापाले भारतलाई हराउने दिनको पर्खाइ समाप्त भएको प्रतिक्रिया दिएका छन् । प्रशिक्षक थापाले खेलाडीको मिहिनेतको सफलता भएको बताए । भारतीय प्रशिक्षक सुरेनकुमार क्षत्रीले हारलाई स्वीकार गरी प्राप्त अवसर सदुपयोग गर्न नसकेको बताए । ‘हामी पराजित भयौँ, यस हारलाई सहजै स्वीकार गर्छौँ । हामीले राम्रो खेल खेल्यौँ,’ क्षत्रीले भने, ‘नेपालले पाएको अवसर सदुपयोग गर्‍यो र जित निकाल्यो ।’

पहिलो अवसरमै गोल 
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपालले भारतविरुद्ध खासै अवसर बनाउन सकेन । नेपाली महिला खेलाडीले आक्रामक खेल खेल्ने प्रयास गरे पनि अधिकांश समय बल मध्यभागमै केन्द्रित गरेका थिए । खेलको अन्तिम समयमा बराबरी गोल फर्काउन भारतले बल पकड राम्रो बनायो । नेपाली डिफेन्डरले भारतको प्रयासलाई असफल पारेका थिए । सुरुवाती २० मिनेटसम्म दुवै टोलीका खेलाडीले राम्रो मुभ बनाउन सकेनन् । खेलको ३०औँ मिनेटमा भारतकी रेनुको प्रहार कप्तान एन्जिला तुम्बापो सुब्बाले सहज बचाउ गरिन् । 

खेलको ३३औँ मिनेटमा प्रीतिले बक्सबाहिरबाट प्रहार गरेको बल क्रसबारको केही माथिबाट गयो । पहिलो हाफको इन्जुरी समयमा नेपालले उत्कृष्ट मुभ बनायो । यसै मुभमा नेपालले गोल गर्न सफल भयो । नेपालले खेल अवधिभरि प्राप्त एक अवसरमै गोल मात्र गरेन, फाइनलको स्थानसमेत पक्का पार्‍यो । खेलको ७४औँ मिनेटमा रश्मिकै पासमा प्रीतिले बक्सबाहिरबाट गरेको सशक्त प्रहार पहिलो बारनजिकैबाट बाहिरिएको थियो । 

साफमा भारतविरुद्ध पहिलो जित
यसअघि, साफ महिला च्याम्पियनसिपको इतिहासमा नेपाल भारतसँग चार फाइनल र एक सेमिफाइनलमा पराजित भएको थियो । नेपालले भारतमाथि इतिहास रच्ने क्रममा रश्मीले डी बक्सबाट प्रीति राईको सुन्दर पासमा गोल गरेकी हुन् । रश्मिको यही गोलमै नेपालले भारतलाई पहिलोपटक साफमा पराजित गर्न सफल भयो । नेपालले समग्रमा भारतलाई दोस्रोपटक हराएको हो । सन् २०१९ मा भुवनेश्वरमा भएको हिरो गोल्डकपमा नेपालले भारतलाई २–१ ले पराजित गरेको थियो ।

सो खेलमा सावित्रा भण्डारीले दुवै गोल गरेकी थिइन् । सन् २०१० बाट हरेक दुई वर्षमा आयोजना हुँदै आएको साफ च्याम्पियनसिपमा नेपाल लगातार भारतसँग पराजित हुँदै आएको थियो । बंगलादेशमा भएको पहिलो साफको फाइनलमा नेपाल १–० ले पराजित भयो । सन् २०१२ मा श्रीलंकामा सम्पन्न फाइनल खेलमा नेपाल भारतसँगै ३–१ ले हार्‍यो । सन् २०१४ मा पाकिस्तानमा भएको फाइनलमा भारतले एकपक्षीय खेल खेल्दै नतिजा ६–० ले आफ्नो पक्षमा पार्‍यो । सन् २०१६ मा भने नेपाल सेमिफाइनलमै भारतसँग ३–१ ले रोकियो । विराटनगरमा सन् २०१९ मा भएको फाइनलमा पुनः भारत ३–१ ले विजयी भयो । 

सात हजार दर्शक
दक्षिण एसियाली फुटबलमा नेपाल र भारत सदाबहार प्रतिद्वन्द्वी हुन् । दुवै टोलीबीचको प्रतिस्पर्धा हेर्न रंगशालामा दर्शकको बाक्लो उपस्थिति रहने गर्छ । दशरथ रंगशालामा दोस्रो सेमिफाइनलमा यस्तै माहोल बनेको थियो । नेपाललाई समर्थन गर्न लगभग सात हजार दुई सय दर्शक उपस्थित रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । प्रशिक्षक थापा र म्यान अफ दी म्याच प्रीतिले दर्शकको उपस्थितिले हौसला बढेको बताए । प्रशिक्षक थापाले समर्थकलाई धन्यवाद दिने कुनै शब्द नभएको बताउँदै ट्रफी जितेर यसको ऋण पूरा गर्ने प्रतिबद्धता दिलाए । 

साफले नयाँ विजेता पाउने 
भारत सेमिफाइनलबाट बाहिरिएपछि साफ च्याम्पियनसिपमा नयाँ च्याम्पियन बन्ने पक्का छ । सन् २०१० यता भारत लगातार पाँचपटकको विजेता हो । भारतले एकपटक फाइनलमा बंगलादेशलाई हराएको छ । बंगलादेशले दोस्रोपटक फाइनलमा स्थान बनायो । नेपाल र बंगलादेशले अहिलेसम्म उपाधि जितेका छैनन् । यसपटकको फाइनलले नयाँ च्याम्पियन टोलीको उदय हुनेछ । 

यसै दिनको पर्खाइमा थियौँ : कुमार थापा, प्रशिक्षक, नेपाल
हामीले यो जित खोजिरहेका थियौँ । धेरैपछि पायौँ । हामीले राम्रो गर्न सक्यौँ । यो नतिजाको अनुमान गरेका थियौँ । भारतसँग खेल्दा समर्थकले राम्रो साथ दिए । समर्थकले पूरै खेलमा समर्थन गरिरहे । हामीले दर्शकलाई न्याय पनि दिन सफल भयौँ । समर्थकलाई धन्यवाद दिने शब्द छैन । ट्रफी घरमै राखेर धन्यवाद दिन्छौँ । यो हामीले गर्नैपर्छ । फाइनलमा ‘बेस्ट टिम’ आएका छन् । गोलरक्षकदेखि स्ट्राइकरसम्म सबैले आज राम्रो खेल्यौँ । आज सबैको परीक्षा पनि थियो । गल्ती धेरै भएन । पाएको मौका सदुपयोग गर्नु नै फाइदा भयो । नाम चलेको राम्रो स्ट्राइकर सावित्रा नहुँदा प्रीतिलाई रिक्स लियौँ । उनी ट्रायलमा पास भइन् । 

जितको श्रेय समर्थकलाई : एन्जिला तुम्बापो सुब्बा, कप्तान
भारतलाई पहिलोपटक साफ च्याम्पियनसिपमा पराजित गर्न सफल भएका छौँ । यो ऐतिहासिक जितका लािग साथ र सहयोग गर्ने सबैलाई सम्झन्छौँ । विशेष मैदानमा उपस्थित भएर हौसला बढाउने समर्थकलाई यसको श्रेय जान्छ । उपाधिका लागि एक खुड्किलो बाँकी छ । समर्थकमाझ ट्रफी जित्न चाहन्छौँ । आज खेलाडीले पनि मिहिनेत धेरै गर्‍यौँ । हामी सबैले चाहेको नतिजा यही थियो । सफल भएका छौँ । भारतसँग साफको हार रोकेका छौँ । अब, बंगलादेशलाई हराउँदै पहिलो उपाधि जित्ने योजनामा छौँ । 

राम्रो खेल्यौँ, तर हार्‍यौँ : सुरेनकुमार क्षत्री, प्रशिक्षक, भारत
हामी हार्‍यौँ, यसलाई स्वीकार गर्छौँ । हामीले राम्रो गेम खेल्यौँ, तर हार्‍यौँ । यसलाई स्वीकार गर्छौँ । नेपालले एक चान्स पायो र जित निकाल्यो । हामीले धेरै चान्स पायौँ, सफल भएनौँ । मिहिनेतले नै सफल भइन्छ । आज त्यो भएन । 

नेपाली टिम 

  • गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा (कप्तान)
  • डिफेन्डरः अमृता जैशी, पुनम जर्घामगर, 
  • गीता राना, हीराकुमारी भुजेल
  • डिफल्डर : अनिता केसी, दीपा शाही, 
  • सरू लिम्बू, अनिता बस्नेत (अमिषा कार्की–७४)
  • स्ट्राइकर : प्रीति राई (समीक्षा घिमिरे–८३), रश्मिकुमारी घिसिङ